साँझपख रत्नपार्कमा जे देखियो

माघको महिना साँझको ६ बजेतिर बाहिरको मौसम निकै चिसो थियो । धेरै जसो मानिसहरू जाडोले गर्दा हात न्यानो पार्नलाई आफूले लगाएका ज्याकेटको गोजीमा राखेर निकै हतारीएर हिँडिरहेका थिए । सायद उनीहरूलाई समयमै आप्नो गन्तव्यमा पुग्नु पर्ने थियो होला । कोही भने त्यही रत्नपार्कमा भुटुवा पकाएर वरिपरि ग्राहाकलाई राखेर दङ्ग पर्दै धमाधम व्यापार गरिरहेका थिए । कोही बसमा चढ्नलाई तँछाडमछाड गरिरहेका थिए भने कोही बडो मज्जाले सिँगार पटार गरेर बाटोको छेउछाउमा उभिएर मोलतोल गरिरहेका थिए ।

सुनेको थिए साँझको समयमा रत्नपार्कमा एकदमै रमाइलो हुन्छ । तर त्यो ठाउँमा साँझको समयमा एक्लै कहिल्यै पनि नबस्नु भन्ने गरेको सुनेको थिए । केहिबेर साथीहरूलाई पर्खेर त बस्नै पर्ने थियो । साथीहरूलाई कुरेर बस्ने बाहानामा रत्नपार्कको पुलको छेउमा बस्ने निर्णय गरे । साथीहरूलाई कुरेर बसेको करिब करिब १५ मिनेट जति भैसकेको थियो । साथीहरूलाई कुरेर बस्न वाक्क लागेता पनि वरपरको वातावरण हेरेर समय कटाउन भने त्यति मुस्किल थिएन । रत्नपार्कको बारेमा धेरै कुरा सुने पनि आफैले पहिलो पटक देख्न पाएको थिए ती सबै कुराहरू ।

 

जति जति साँझ पर्दै थियो त्यति त्यति मानिसहरूको भीडले मलाई पनि छिचोल्दै थियो । म भने अचम्मित भएर सबै कुरामा आफ्ना आँखा घुमाइरहेको थिए । साथीहरूको आईपुुग्ने कुनै टुङ्गो थिएन र उनीहरूलाई फोन गर्न घाँटीदेखि टाउकोसम्म जेलजाल पारेर बाँधेको स्कापलाई अलिकति कानको छेउमा चिसो हावा नपस्ने गरी मिलाएर मोबाइल कानमा राखे । फोनको घण्टी टुर्टुर् बजिरहेको थियो मेरो पुरै ध्यान फोन कुनबेला उठ्छ भन्नेमा केन्द्रित थियो । त्यतिकैमा छेउबाट लोग्ने मानिसको “”जाने हो”” भन्ने आवाजले म झसङ्ग झस्किए ।

ती लोग्ने मानिसलाई माथिबाट तलसम्म राम्रोसँग नियालेर हेरे । करिब करिब ३२/३३ वर्षका कालो वर्णका ५.८ जति उचाइ भएका ती मानिससँग कुरा गर्न मन लाग्यो । अनि तत्काल मैले अँ जाने हो भन्ने सङ्केतमा टाउको मात्र हल्लाए । मेरो टाउको हल्लीएर रोकिन नपाउँदै उनले फेरी अर्को प्रश्न गरे । रेट कति हो ? रेट सोध्ने बित्तिकै अब के भन्ने कति भन्ने कुराले डर लाग्यो तर पनि हिम्मत जुटाएर बोल्ने आँट गरे र सानो स्वरमा १६ हजार भने । उनले अलि बार्गेनिङ गर्न खोजेर हो कि हाँसेर दाँत देखाउँदै अलि महँगो भएन र, भनेर मेरो शरीर तिर आँखा घुमाउँदै के के छ सुविधा भनेर फेरी अर्को प्रश्न फ्याँकि हाले । वाल्ल न ट्वाल्ल परेर हेरेको हेरेई भएँ । त्यतिकैमा पछाडिबाट ओए मोटी कति समय भयो कुरेको के गरेर बसिस् यत्रो बेर भन्ने शब्दले अलि मनमा शान्ति छायो ।

फरक्क फर्केर पछाडि पट्टी फर्केर हेरे साथीहरू छेउमा आइसकेका रहेछन् । साथीहरूलाई छेउमा देखे पछि एक प्रकारले राहातको श्वास फेरे, ती पुरुषतर्फ फर्किएर अरू केही पनि नबोलेर सरी है भनेर उनीबाट म पन्छिएर साथीहरूसँग अगाडि बढे ।

हामी ५ जना म र मेरा साथी सिभिल मलतिर फिल्म हेर्न हिँड्यौ । उसको मनमा के चल्यो त्यो त मलाई थाहा भएन तर आज म गलत केटीसँग कुरा गर्न पुगेछु यति कुरा भने पक्कै पनि मनमा आयो होला की ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *