पद र लाभका लागि जे पनि गर्ने काे हुन् खुमबहादुर खड्का ?

चैत्र १६, काठमाडाैं । दाङबाट कांग्रेसको राजनीति थालेका खड्का २०४८, ०५१ र ०५६ तीनपटक नै प्रतिनिधिसभाको सदस्य भएका थिए । उनी २०४८ सालदेखि २०५८ सालसम्म ८ पटक मन्त्री भए । धेरैपटक मन्त्री हुने व्यक्तिको सूचीमा खड्का पर्दछन्। मन्त्री हुँदा उनले लरोतरो मन्त्रालय रोजेनन् । सिधै गृह र अरु मालामाल हुने मन्त्रालय सम्हाले ।

२०५१ सालमा एमालेको ९ महिने शासनकाल र २०५२ मा लोकेन्द्रबहादुर चन्दको पालामा बाहेक ०५८ अघिको हरेक सरकारमा उनको हालिमुहाली थियो । पावरफूल मन्त्री भएकाले उनलाई कसैले छुन सकेन । उनको पछिल्तिर कांग्रेस कार्यकर्ताको एउटा ठूलो झुण्ड नै थियाे।

पद र लाभको लागि जे पनि गर्न तयार हुने नेताको रुपमा खड्कालाई चिनिन्थ्याे । गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भएको बेला पनि यिनी मन्त्री भएका थिए । शेरबहादुर देउवा भएको बेला पनि खड्का मन्त्री भए। कांग्रेस पार्टी विभाजन हुँदा पहिले उनी देउवा खेमामा थिए, पछि फेरि संस्थापन पक्षमै फर्किए ।

२०५९ मा विशेष अदालतमा भ्रष्टाचारको मुद्दा पर्नुअघिसम्म उनलाई सबैले मान्थे । शक्तिशालीसँगै लोकप्रिय पनि थिए तर, जब उनले भ्रष्टाचारको मुद्दा खेपे, त्यसपछि यिनको लोकप्रियता घट्यो । कांग्रेसले आयोजना गर्ने कार्यक्रममा उनको भूमिका कम हुन थाल्यो । तर उनी लाज पचाएरै सार्वजनिक कार्यक्रममा पुग्थे ।

पार्टीले भूमिका नदिएपनि अगाडि सर्न खोज्थे । जनआन्दोलनको बेला आफ्ना आसेपासेलाई अघिपछि लगाएर उनी अाफ्नै ढंगले जुलुस लिएर रत्नपार्क र सुन्धारा फन्का मार्थे ।

सर्वोच्च अदालतले काँग्रेस नेता एवं पूर्व मन्त्री खुमबहादुर खड्कालाई भ्रष्टाचारी ठहर गर्दै डेढ वर्ष कैद र ९४ लाख ७४ हजार १ सय २२ रुपैयाँ वीगो र त्यतिनै जरीवाना गरेको थियाे ।

न्यायाधीसहरु कल्याण श्रेष्ठ र वैद्यनाथ उपाध्यायको इजलासले पदको दुरुपयोग गरी अकुत सम्पत्ति कमाएको मुद्दामा दोषी ठहर गर्दै खड्कालाई भ्रष्टाचारी ठहर गरेको थियाे ।

२०४८ सालपछि पटकपटक मन्त्री बनेका खड्काले पदको दुरुपयोग गरी दुई करोड ३६ लाख सम्पत्ति कमाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

विशेष अदालतका तत्कालीन न्यायाधीश भूपध्वज अधिकारी, कोमलनाथ शर्मा र चोलेन्द्रशमशेर जवराको इजलासले खड्काको १२ लाख रुपैंयाको मात्र स्रोत नखुलेको भन्दै २०६३ साल कात्तिक २९ मा सफाई दिएको थियो । विशेषको फैसला नियोजित भन्दै अख्तियारले २०६३ चैतमा सर्वोच्चमा पुनरावेदन दिएको थियो ।

पूर्वगृहमन्त्री खुमबहादुर खड्काको निधन भएको छ । भारतको दिल्लीस्थित अपोलो अस्पतालमा उपचारको क्रममा खड्काको निधन भएको हो ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *