पार्टी एकता ओलीको भारत भ्रमणपछि मात्रै, प्रधानमन्त्रीको ब्रिफिङमा किन आएनन् माओवादी मन्त्रीहरु ?

काठमाडौं, चैत १३ । एकीकृत पार्टीको शक्तिशाली अध्यक्षका रुपमा भारत जाने प्रधानमन्त्री केपी शर्मा ओलीको चाहना अधुरै रहने भएको छ । नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता अब प्रधानमन्त्री ओलीको भारत भ्रमणपछिमात्रै हुने भएको छ ।

दुवै पार्टीका नेताहरुले प्रधानमन्त्री ओलीको भारत भ्रमणअघि नै एकता गर्ने तयारी भएको बताएका थिए । स्रोतका अनुसार एमाले–माओवादी एकता घोषणाको लागि अन्तिम गृहकार्य सुरु भएपनि प्रधानमन्त्रीको भारत भ्रमणपछिमात्रै बृहत्त पार्टी एकता हुने भएको हो ।

प्रधानमन्त्री ओलीसमेतले भारत भ्रमणअघि नै एकता प्रस्ताव गरेका थिए । सोही अनुसार माओवादीले पनि तयारी थालेको थियो । तर, अहिले एकताको लागि केही विषयमा छलफल गर्नुपर्ने भएकोले एकता भ्रमणपछि धकेलिएको जनाइएको छ ।

प्रधानमन्त्रीको ब्रिफिङमा आएनन् माओवादी मन्त्रीहरु
प्रधानमन्त्री ओलीले आज नेपालस्थित कुतनीतिक नियोगका प्रमुख एवं प्रतिनिधिहरुलाई बोलाएर ब्रिफिङ गरेका थिए ।
आजको प्रधानमन्त्रीको ब्रिफिङमा माओवादी केन्द्रका नेता तथा मन्त्रीहरु कोही पनि सहभागी भएनन् । एमाले र माओवादी केन्द्रको संयुक्त सरकार रहेको अवस्थामा पनि माओवादी केन्द्रका मन्त्रीहरु किन सहभागी भएनन् ? यो अहिले चासोको विषय बनेको छ ।

एमाले बरिष्ठ नेताद्धय झलनाथ खनाल र माधव कुमार नेपालको समेत सहभागिता रहेको उक्त ब्रिफिङमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड देखिएनन् । रोचक त के भने माओवादी केन्द्रबाट सरकारमा सहभागी मन्त्रीहरु कोही पनि उपस्थित् भएनन् ।

कतिपयले भन्दै थिए,‘आजको ब्रिफिङमा खोई त माओवादीका तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीहरु ? संयुक्त सरकार छ, पार्टी एकता हुने भन्ने चर्चा चलिरहेको छ, के हो यस्तो पारा ?’

कुटनीतिक नियोगका प्रतिनिधिहरुसँग गरेको ब्रिफिङका क्रममा प्रधानमन्त्री ओलीले विश्वका सबै राष्ट्रसँग मित्रवत् व्यवहार गर्नु नेपालको नीति एवं सिद्धान्त भएको स्पष्ट पारेका थिए ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज कूटनीतिक नियोगका प्रमुख तथा विकासका साझेदारहरुलाई सम्बोधन गर्दै उनले नेपाल सबैको असल मित्र बन्न चाहन्छ र हामी पनि सबैलाई असल मित्रका रुपमा व्यवहार गर्ने बताएका थिए ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *