दुहवी नगरपालिकाका प्रवक्ता भन्छन उपमेयरका श्रीमानले भाैतिक अाक्रमण गरे (विज्ञप्ति सहित)

चैत्र १३ । सुनसरी स्थित दुहबी भलुवा नगरपालिकामा भएको कुटपिट प्रकरणमा नगरपालिका सञ्चारमाध्यम प्रति खनिएको छ । उपमेयर सुनिता (दाहाल) साहले ५ नं. वडाका अध्यक्ष रमेश कुमार राैनियार र वडा सदस्य कृष्ण याेञ्जन माथि कुटपिट गरेको विषयमा भिडियो र तस्बिर सहित समाचार आएपछि घटनालार्इ अतिरञ्जित बनाएको भन्दै नगरपालिका सञ्चारमाध्यम प्रति खनिएको हो ।

नगरपालिकाकाे न्यायिक समितिका संयोजक समेत रहेकी उपमेयर साहले वडा अध्यक्ष र सदस्यलाई कुटपिट गरेको समाचार सञ्चारमाध्यमले प्रकाशित गरेकाे प्रति नगरपालिका अाक्राेसित हुँदै पत्रकार सम्मेलन नै गर्याे ।

नगरपालिकाले आयोजना गरेको पत्रकार सम्मेलनमा घटना घट्नुमा स्थानीय सञ्चारमाध्यम जिम्मेवार रहेकाे बताएको छ । भने, नगरपालिकाले जारी गरेकाे प्रेस विज्ञप्तिमा उपमेयर साहका श्रीमान् अनिल साहले कृष्ण याेञ्जनलार्इ भाैतिक आक्रमण गरेकाे स्पष्ट भनिएको छ ।

नगरपालिकाका प्रवक्ता विजयकुमार चाैधरीले जारी विज्ञप्तिमा घटनामा उपमेयर साहका श्रीमान् अनिल साहकाे मुख्य भूमिका भएको जनार्इएकाे छ । (हेर्नुहाेस् विज्ञप्ति) उनले जारी गरेकाे विज्ञप्तिमा नगरपालिकाकाे आधिकारिक छाप समेत छैन । नगरपालिकाकाे प्रवक्ता जस्ताे जिम्मेवार व्यक्तिले जारी गरेकाे विज्ञप्ति हेर्दा भर्खर नेपाली अक्षर लेख्न र पढ्न जानेकाे व्यक्तिले लेखेजस्ताे कुनै भाषिक शुद्धाशुद्धि समेत छैन । विज्ञप्तिकाे पत्र सङ्ख्या ०७४/०७५ चलानी नं. ५९३२ छ ।

नगरपालिकाले पत्रकार सम्मेलन नै गरेर घटनामा सञ्चारमाध्यमको हात रहेकाे भनेपछि स्थानीय सञ्चार माध्यम समेत चिढिएका छन् । केही सञ्चार माध्यमका स्थानीय प्रतिनिधिले उपमेयरले अाफ्नाे गल्ती ढाकछाेप गर्न यस्ताे हरकत गरेकाे बताएका छन् ।

घटनापछि साेमबार नगरपालिकाले पत्रकार सम्मेलन गरेकाे थियाे । तर, त्यहाँ  नगरपालिकाका मेयर वेद नारायण गच्छदार र उपमेयर सुनिता साहकाे उपस्थिति नै भएन । नगरपालिकाको तर्फबाट प्रवक्ता विजय कुमार चौधरी र केही वडा अध्यक्षले पत्रकार सम्मेलन गरेपछि पत्रकारहरूले मेयर र उपमेयर अाउनुपर्ने बताएका थिए । उनीहरूले जसका विषयमा पत्रकार सम्मेलन गरिएको छ त्यही व्यक्ति उपस्थित नभएको र सञ्चार माध्यमलार्इ दाेष दिएर उपमेयर पन्छिएकाे बताएका थिए ।

 विज्ञप्तिमा विभिन्न छापा, अनलाइन र टेलिभिजन तथा अन्य सञ्चार माध्यममले घटनाको वास्तविकता भन्दा बाहिर गएर नगरपालिकाको प्रवक्ता सँग समन्वय नगरी भ्रामक तथा मनगढन्ते समाचार प्रकाशित गरेकाे अाराेप लगार्इएकाे छ ।

घटनाका पीडितहरूले उपमेयरले हातपात गरेकाे, श्रीमान् ल्याएर आक्रमण गरेकाे भनेका छन् । सञ्चारमाध्यममा उपमेयरले हातपात गरेकाे भिडियाे देखाए पनि कार्यालयको काेठाभित्र आफू माथि नै आक्रमण भएको उपमेयर साहकाे जिकिर छ । भिडियाेमा उपमेयर आफै हातपातमा संलग्न भएको प्रस्ट देख्न सकिन्छ । यस विषयमा नगरपालिकाका प्रशासकीय अधिकृत अर्जुन निराैलाले केही बोल्न चाहेनन् । नगरपालिकाका प्रवक्ता विजय कुमार चाैधरीलार्इ उनकाे माेवार्इलमा सम्पर्क गर्न खाेज्दा सम्पर्क हुन सकेन ।

घटना सामान्य भए पनि ठूलाे बनाउन सञ्चार माध्यमले भूमिका खेलेकाे बतार्इएकाे छ । भने, आगामी दिनमा यस्ता घटना घट्न नदिने भन्दै कमिकमजाेरीलार्इ सुधार गर्दै नगरवासीहरूमा छिटो छरितो सेवा दिने बताएको छ । विज्ञप्तिमा उपमेयरले कुटपिट गरेको कुरालाई दुखद मात्र भनिएको छ ।

सुनसरीका संचारकर्मीहरुले घटनामा स्थानीय संञ्चारकर्मीकाे कुनै भूमिका नभएपनि अाराेप लगाएपछि विराेध जनाएका छन् । बाहिरी रूपमा सञ्चारमाध्यमलार्इ दोष देखाएर माहौल शान्त पार्न खोजिएको संञ्चारर्मीको भनाई छ ।

घटना यस्ताे थियाे
गत शुक्रवार दुहबी भलुवा नगरपालिकाकी उपमेयर सुनिता (दाहाल) साहले कार्यालय परिसरमै सेवाग्राहमाथि हातपात गरेकी थिर्इन् । नगरपालिकामा भ्रष्टाचारको सीमा नाघेको भन्दै दुहवी–भलुवाका स्थानीय सहितका जनप्रतिनिधिहरूले नगरपालिका घेराउ गरेका थिए । सोही क्रममा उपमेयर साहले केही जनप्रतिनिधि र स्थानीय जनतामा माथि हातपात नै गरेकाे थिर्इन् ।

फाइल रिङग्याएर कमिसन खोजेको र अनुगमन नगरेको भन्दै दुहवी ५ का वडाअध्यक्ष रमेश रौनीयार, दुहवी ५ का उपभोक्ता समिति र वडा सदस्यहरू यस विषयमा बुझ्न जाँदा उप–मेयर सुनिताले वडा सदस्य कृष्ण योञ्जनमाथि हातपात गरेकी थिर्इन्। त्यसपछि उनीहरूले दुहवी नगरपालिका घेराउ गरेका थिए ।
स्थानीयवासीहरुले प्रकृयागत झन्झट देखाएर दुहवी नगरपालिकाका लेखा अधिकृत कैलाश कुमार चौहानले ५० हजार सम्म घुस मागेको स्थानीयकाे अाराेप थियाे ।

उपमेयर विरुद्ध नाराबाजी भएपछि उपमेयर साहले आफ्ना श्रीमान् बोलाएर वडा सदस्य र अध्यक्षलार्इ कुटपिट गराएकी थिर्इन् । त्यसपछि विवाद मिलाउन छलफलमा उपमेयर साहले अाफुबाट गल्ती भएको भन्दै माफी माग्दै घटनालार्इ अतिरञ्जित नबनाउने बताएपनि पछि मिडियामा आफूमाथि वडाध्यक्ष  र सदस्य तामाङले हातपात गरेकाे दाबी गरेकी थिर्इन् । उनले नगरपालिकाकाे कार्यालयमा उपमेयरकाे कार्यकक्षमा सारी नै च्यातिने गरी आक्रमण गरेकाे भन्दै अाफ्नाे बचाव गरेकी थिर्इन् । (उपमेयर साहले मकालु खबरसँग बाेलेकाे अडियाे  सुन्नुहाेस्)

(हेर्नुहाेस् भिडियाे)

विवादलार्इ मिलाउन नेपाली काँग्रेसका केही ठुला नेता र नगरपालिकाका मेयर वेद नारायण गच्छदारले समेत वडा अध्यक्ष रौनियार र तामाङलाई विभिन्न दबाब दिएका थिए । नेपाली काँग्रेस निकट केही जनप्रतिनिधिहरूले घरको विवाद मिडियामा पुगेको भन्दै उपमेयर साह र याेञ्जनलार्इ मिल्न दबाब दिएका थिए । तर वडा सदस्य याेञ्जनले उपमेयरका श्रीमान् अनिल साहले आफूमाथि आक्रमण गरेकाे भन्दै उनलार्इ कानुनी दायरामा ल्याने अडान लिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *