नेपाली क्रिकेटलाई निकास दिन कप्तानहरुको दबाब

काठमाडौं, चैत ११ । नेपाली क्रिकेट टोलीका पूर्व कप्तानहरुले क्रिकेटको नियामक निकाय कमजोर भएको बताएका छन् । नेपाली क्रिकेट टिमका कप्तानहरूले संयुक्त रुपमा पत्रकार सम्मेलन गरी क्रिकेटको ‘गभर्निङ बडी’ तत्काल आवश्यक रहेको बताए।

काठमाडौंमा क्रिकेट खेलाडी संघ नेपालको तेस्रो साधारण सभाले नयाँ कार्य समिती चयन गरेको छ। डा. मनिष राज पाण्डेको अध्यक्षतामा १२ सदस्य रहेको कार्य समिती चयन भएको हो। क्रिकेट खेलाडी संघको साधारणसभा सकेलगत्तै कप्तान पारस खड्कासहित ४ पूर्वकप्तानहरूले नेपाली क्रिकेटलाई निकास दिन तत्काल सम्बन्धित निकाय लाग्न अनुरोध गरेका थिए ।

कार्यक्रममा नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काले क्यानका निलम्बित क्यानका पदाधिकारीको आफ्नो ब्यक्तिगत स्वार्थका कारण अहिलेसम्म आईसीसीले बनाएको विधान पारित हुन नसकेको बताए । कप्तान पारसले भने “खेलाडीले गरेको बलिदानकै उपज हो यो नेपाली क्रिकेटले पाएको सफलता हो । कुनै व्यक्तिभन्दा पनि क्रिकेट मुख्य हुनुपर्यो र त्यहिअनुसार काम हुनुपर्यो । हामीले ओडीआई पाएका छौं । ठूलो कुरा हो हाम्रो लागी । तर अब पनि ओडीआईको बारेमा सोचेर अघि नबढ्ने हो भने नेपाली क्रिकेटमा हुनेवाला केही छैन ।”


नेपाली क्रिकेट टिमका पूर्वकप्तान तथा यु–१९ राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक विनोद दासले अहिलेको मुख्य कुरा क्यान अस्तित्वमा छिटो आउनुपर्ने बताए । पूर्वकप्तान विनोदले भने, “आज नेपाली क्रिकेटको इतिहास धेरै चिन्तित छ । अहिलेको मुख्य कुरा भनेको क्यान कहिले अस्तित्वमा आउँछ भन्ने हो । नेपाली खेलाडीले नेतृत्व गर्न सक्दैन भन्ने होइन तर उहाँहरूलाई विश्वास छैन । हामीसँग मान्छेको कमी छैन, क्षमताको कमी छैन मात्र अवसरको कमी छ ।”

त्यस्तै पूर्वकप्तान पवन अग्रवालले नेपाली क्रिकेट सञ्चालन गर्न छिटो ‘गभर्निङ बडी’ आवश्यक रहेको बताए । पूर्वकप्तान पवनले भने, “अहिलेकै तरिकाले हो भने एक दिवसीय मान्यता जोगाउन पनि नेपाललाई गाह्रो छ । छिटोभन्दा छिटो हामीलाई ‘गभर्निङ बडी’ चाहिएको छ । सबैजना यसप्रति गम्भीरताको साथ लाग्नैपर्छ ।”

त्यस्तै पूर्वकप्तान लेख बहादुर क्षेत्रीले खेलाडीको संघर्षपछिको प्राप्तिलाई जोगाई राख्नुपर्ने बताउँदै क्यान विवाद छिटो अन्त्य हुनुपर्ने बताए ।

त्यस्तै, अर्का पूर्वकप्तान राजु बस्नेतले निलम्बित विवाद छिटो अन्त्य गरेर ‘क्यान गभर्निङ बडी’को रुपमा आउनुपर्ने बताए ।
नवनिर्वाचित क्रिकेट खेलाडी संघका अध्यक्ष डाक्टर मनिषराज पाण्डेले ओडीआई मान्यता पाएको यतिका दिन बितिसक्दा पनि सम्बन्धित निकायको चासो नुहुनु दुर्भाग्य रहेको बताए ।

नेपाल क्रिकेट संघ (क्यान) २०७२ सालदेखि आईसीसीको प्रतिबन्धमा परेको थियो । क्यानमा उग्र विवाद सरकारी हस्तक्षेप र चरम राजनीति भएपछि आईसीसीले निलम्बन गरेको थियो ।

आईसीसीले गठन गरेको सल्लाहकार समितिले बनाएको विधान चतुर बहारदुर चन्द र अशोकनाथ प्याकुरेल पक्षको निर्वाचित क्यानले संशोधन गरेपछि आईसीसीले अस्वीकार गरेको थियो । अहिले पुनः आईसीसीले क्यानलाई विधान अनुमोदन गर्न अन्तिम मौका दिएको छ । तर निर्वाचित क्यानले महत्वका साथ अहिलेसम्म आईसीसीको अन्तिम निर्देशन पालना गरेको छैन ।

क्यान नहुँदा अहिले नेपाली क्रिकेटको घरेलु संरचना शुन्यजस्तै भएको छ भने नेपाली खेलाडीले अन्तर्राष्ट्रिय एरिनामा अभिभावकविनै प्रतिस्पर्धा गर्नुपरेको दुर्भाग्य छ ।

अहिले नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको छ । यो मान्यतालाई जोगाई राख्न र यसको भरपुर सदुपयोग गर्न नेपाललाई मुख्य चुनौति देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *