समाजको उन्नती सकारात्मक सोचबाट : मन्त्री दुलाल

भरतपुर, चैत ६ । प्रदेश नम्बर तीनका सामाजिक विकासमन्त्री युवराज दुलालले नेपालको इतिहासमा पहिलोपटक सबैभन्दा शक्तिशाली र स्थिर सरकार बनेको बताएका छन् ।

मंगलबार भरतपुरमा आयोजित ‘समाज रुपान्तरणका लागि सकारात्मक सोच’ विषयक प्रवचन कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रदेश मन्त्री दुलालले पाँच वर्षको यो स्थिर सरकारले देशको विकास सँगसँगै सामाजिक अपराधलाई न्यूनीकरण गर्ने बताए ।

कार्यक्रममा उनले सकारात्मक सोचले नै नेपालमा राजनीतिक परिवर्तन आएको धारणा राखेका थिए । सकारात्मक सोचले समाज परिवर्तनमा महत्वपूर्ण भूमिका राख्ने हुनाले सबैले सकारात्मक सोच राख्नुपर्ने उनको सुझाव थियो ।

भरतपुर महानगरपालिकासँगको सहकार्यमा केआई नेपाल, चितवन सक्रिय महिला प्रतिष्ठान र महिला सशक्तीकरण तथा परिवर्तनशील संस्था नेपालले संयुक्तरुपमा आयोजना गरेको प्रवचन कार्यक्रममा मन्त्री दुलालले नेपालको आज देखिएको राजनीतिक परिवर्तनको उपज नै सकारात्मक सोच रहेको बताए ।

उनले भने, ‘हिजो पुष्पकमल दाहाल ‘प्रचण्ड’, स्व. गिरिजाप्रसाद कोइरालालगायतले जुन सकारात्मक सोच देखाए । आज त्यसैको परिणाम देखिएको छ ।’ उनले सकारात्मक सोचले नै राजनीतिक परिवर्तन आएको बताउँदै भने, ‘अब देशलाई आर्थिक विकासमा लैजानु छ । राजनीतिक परिवर्तन अध्याय सकियो, अब आर्थिक अध्याय सुरु गर्न छ, त्यसको लागि सकारात्मक सोच लिन जरुरी छ ।’

मन्त्री दुलालले नेपालको नयाँ संविधानको प्राप्ति र कार्यान्वयन पनि सकारात्मक सोचकै उपज भएको दावी गरेका थिए । अरुको अस्तित्वलाई स्वीकार गर्ने क्षमता हामी सबैले विकास गर्नुपर्ने उनको भनाइ थियो ।

सकारात्मक सोचको प्रवचन कार्यक्रममा मन्त्री दुलालले भने, ‘समाजबाट मानव बेचविखन, लैंगिक हिंसा, दुव्र्यसनलगायतका जे जति सामाजिक अपराध छन्, तिनीहरुको न्यूनीकरण गर्न सकारात्मक सोचले सहयोग पु¥याउँछ ।’

महिला सशक्तीकरण तथा परिवर्तनशील संस्था नेपालकी अध्यक्ष संगीता भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश ३ का सांसद विजय सुवेदीले समाजमा मानव बेचविखन र लैङ्गिक हिंसा बढिरहेको हुनाले यसको न्यूनीकरण गर्न सरकार, प्रशासन, सुरक्षा निकाय, समुदाय सबै पक्षको महत्वपूर्ण जिम्मेवारी रहने बताए ।

कार्यक्रममा अर्का सांसद रिना गुरुङले पनि समाजमा भइरहेको मानव बेचविखन र लैङ्गिक हिंसा न्यूनीकरण गर्न सकारात्मक सोचले लाग्नुपर्ने बताइन् । कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टलगायतले मन्तव्य दिएका थिए ।

औपचारिक कार्यक्रमपछि समाज रुपान्तरणका लागि सकारात्मक सोचका अभियान्ता सुदन ज्ञवालीले सकारात्मक सोचबारे प्रशिक्षण दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *