चिताबाटै महिलाको शव बरामद, श्रीमान् फरार, जलाउन गएका आफन्त पक्राउ

रौतहट, चैत ६ । रौतहटको कटहरीयामा प्रहरीले श्रीमानको कुटाइबाट मृत्यु भएकी महिलाको शव चिताबाटै बरामद गर्नुका साथै जलाउन गएका आफन्तहरुलाई पक्राउ गरेको छ । दुई बोतल पेट्रोल र पाँच किलो चिनीका साथ शवलाई चितामा जलाउनै लागिएको अवस्थामा प्रहरीले बरामद गरेका हुन् ।

महिलाका श्रीमान् कटहरिया नगरपालिका–५ का ३५ वर्षीय विजय साह सोनार घटनालगत्तै गए रातिदेखि फरार रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलका अनुसार अभियुक्त सोनार र उनकी श्रीमती ३५ वर्षीया राजकुमारी देवीबीच घरायसी विवादमा गए राति झगडा भएको थियो ।

झगडाका क्रममा अभियुुक्तको कुटाइबाट मृत्यु भएकी राजकुुमारीलाई आज बिहान मृतकका दुईभाइ र अभियुक्तका भाइभाञ्जाले लालबकैया किनारमा जलाउन लागेका थिए ।

सूचनाका आधारमा उक्त स्थानमा इलाका प्रहरी कार्यालय कटहरियाबाट गएको टोलीले चिहानमा जलाउनै लागेको शव बरामद गरेको प्रहरी उपरीक्षक पोखरेलले जानकारी दिए ।

मृतकको घाँटीमा नीलो डाम देखिएकाले घाँटी थिचेर मारेको आशङ्का प्रहरीले गरेको छ । पक्राउ पर्नेमा मृतकका भाइ पर्ने कटहरिया–५ का भन्टु साह र भाञ्जा पर्ने कटहरिया–५ का रामबालक साह तथा मृतकका भाइ रौतहट राजदेवी गाउँपालिका–३ का राजकिशोर साह र सुरेश साह पक्राउ रहेका छन् । घटनापछि फरार अभियुक्तको सल्लाहमा आफन्तले शव जलाउन लगेको र माइती पक्षलाई खबर गर्दा भाइ पर्ने दुवै जना बिहान आएर सीधै शव जलाउने ठाउँमा पुगेको प्रत्यक्षदर्शी स्थानीयवासीले बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *