आज विश्व मुख स्वास्थ्य दिवस,विभिन्न कार्यक्रम हुँदै 

काठमाडौं, चैत ६ । आज विश्व मुख स्वास्थ्य दिवस मनाइदैछ । दिवसका अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रम हुँदैछ ।
मुख स्वास्थ्यको समन्ध विशेषतः खानासँग जोडिएको हुन्छ । नियमित मुखको सरसफाइ नगरेमा मुख तथा श्वास गनाउने मात्रै नभइ मुख विभिन्न रोगसमेत लाग्ने डाक्टरहरु बताउँछन् ।

स्वस्थ खानाले मुख र दाँत स्वस्थ रहन्छ । स्वस्थ खाना भन्नाले शरीरको बृद्धि र विकासलाई चाहिने आवश्यक पौष्टिकतत्वयुक्त खाना भनेर बुझ्नुपर्दछ । कार्वोहाइड्रेट, प्रोटिन, फ्याट, भिटामिन र खनिजपदार्थलाई स्वस्थ खानाका रुपमा बुझ्न सकिन्छ । अन्न, आलु, दूधजन्य परिकार र फलफूलमा कार्वोहाइड्रेट पाइन्छ ।

दाँतमा टाँसिने र रिफाइन गरिएको कार्वोहाइड्रेटयुक्त बिस्कुट, चकलेट, चाउचाउ, पाउरोटी जस्ता खानेकुरा दाँतका लागि हानिकारक हुने डाक्टरहरुको भनाइ छ । यी खानेकुरा खाएपछि दाँत सफा गर्नु जरुरी हुन्छ । यदि दाँतको दुखाइ भएमा नुन–पानीले कुल्ला गर्न सकिन्छ । एक कप मन तातो पानीमा एक चम्चा नुन मिसाएर मुख कुल्ला गर्दा दाँत दुखेको निको हुन्छ ।

नुन–पानीले मुखमा भएका फोहर खानेकुरा हटाएर सफा गरिदिनुका साथै दुखाई कम गर्छ । ल्वाङको तेल राखेर पनि दाँतको दुखाइबाट मुक्ती पाउन सकिन्छ । तुलसी पत्ताको रस निमको पत्तालाई पिसेर लगाउँदा पनि दाँतको दुखाइबाट बच्न सकिने दन्त रोग विशेषज्ञहरु बताउँछन् । दन्त रोग विशेषज्ञ डा. सरोज घिमिरेले बालबालिका र वृद्धवृद्धाको मुख तथा दाँतको सरसफाइमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो । अन्य उमेर समूहका मानिसले आफ्नो दाँत तथा मुखको सरसफाइमा ख्याल गर्न सकेपनि बालबालिका र वृद्धवृद्धामा परिवारका अन्य सदस्यले ध्यान दिनुपर्ने उहाँले बताउनुभयो ।

सानैबाट दाँत तथा मुख स्वास्थ्यमा ध्यान दिन नसके विभिन्न खालका रोगले आक्रमण गर्नसक्ने घिरेको भनाइ छ । बच्चाहरुलाई धेरै गुलियो चिज खान नदिने, चकलेट, विस्कुट जस्ता खानेकुरा खाएपछि दाँत सफा गरिदिने कुरामा अभिभावक चनाखो रहनुपर्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *