देउवा विरुद्ध पौडेल र सिटौला गुटको एकता, शिक्षक संघमा सफलता

काठमाडौं, चैत ५ । चुनाव हारेर सत्ताबाट बाहिरिनु परेको पीडासँगै नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा पार्टीमा पनि एक्लिंदै गएका छन् । निर्वाचन हार्नुमा सभापति देउवालाइ दोष थोपर्दै आएका बरिष्ठ नेता रामचन्द्र पौडेल र अर्का नेता कृष्ण सिटौलाले देउवा विरुद्ध मोर्चाबन्दी कसेका छन् ।

त्यसको परिणाम हालै सम्पन्न कांग्रेस निकट शिक्षक संघको चुनावले पनि देखाएको छ । नेपाल शिक्षक संघको महाधिबेशनमा पौडेल र सिटौला पक्षधर मिलेपछि देउवालाई एक सिट बाँकी राखेर सबै पद यिनैले लट्पट्याएका छन् ।

संघमा वरिष्ठ नेता पौडेल समूहका राजेन्द्र राज पौडेलको प्यानलले एउटा बाहेक सबै सिट जितेको छ भने सभापति देउवा निकट समुहले सहमहामन्त्रीमा मात्र चित्त बुझाएको छ । देउवा निकटबाट सहमहामन्त्रीमा महिला कोटाकी उम्मेदवार धनकला भण्डारीले जितेकी छन्।

अध्यक्षमा पौडेल, वरिष्ठ उपाध्यक्षमा यम भुसाल, महासचिवमा सोमनाथ गिरि लगायत सबै पद पौडेलसमूहले जितेको हो । यस निर्वाचनमा कृष्ण सिटौला समुहले पौडेलपक्षलाई सहयोग गरेपछि देउवा गुटको हार भएको बताइएको छ ।

पछिल्लो महाधिवेशन पछि कांग्रेसका पाँच भातृसंगठनको चुनाव भएको छ । यसअघि भएका दुईवटा भातृसंगठनको चुनावमा सिटौला समुहले देउवा पक्षलाई सहयोग गरेपनि शिक्षक संघको निर्वाचनमा पौडेल पक्षसँग मिलेको छ ।

यसअघि विद्यार्थी संघ र महिलासंघमा देउवा र सिटौला समुहको प्यानल बनेको थियो । दुवै भातृसंगठनमा यहि संयुक्त प्यानलले जितेको थियो । त्यस्तै तरुणदल र सांस्कृतिक संघमा भने पौडेलपक्षसँग भागबण्डामा सर्वसम्मत पदाधिकारी छानिएका थिए ।

अहिले हालै सम्पन्न निर्वाचनहरुमा उम्मेदवार छनौट, प्रदेश र प्रतिनिधिसभामा समानुपातिक सांसद छनौटमा देउवा समुहले आफुहरुलाई उचित भाग नदिएको भन्दै सिटौला समुह उनीहरुसँग असन्तुष्ट हुदै पौडेल समुहसँग सहकार्य गरेको छ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *