मन्त्री र सचिवहरुलाई प्रधानमन्त्रीको यस्तो निर्देशन

काठमाडौं, चैत ४ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरु, मुख्य सचिव, सचिवहरु र सुरक्षा निकायका प्रमुखहरुलाई बोलाएर आज कडा निर्देशन दिएका छन् ।

आईतबार अपरान्ह सिंहदरबारस्थित् प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बोलाएर प्रधानमन्त्री ओलीले जनताको हितमा र सुशासन कायम गर्नेगरि काम गर्न निर्देशन दिएका छन् । ओलीले आम जनताले परिवर्तन महशुस गर्नेगरी काम गर्न नवनियुक्त मन्त्रीहरुलाई निर्देशन दिए । सरकार असामान्य जिम्मेवारी बोकेर सिंहदरवार प्रवेश गरेको कुरा ख्याल गर्न उनले मन्त्रीहरुको ध्यानाकर्षण गराए ।

मन्त्री र सचिवहरुलाई सामूहिक निर्देशन दिँदै प्रधानमन्त्री ओलीले सरकारी कार्यालयवाट हुने सेवामा ढिला सुस्ती स्वीकार्य नहुने बताए । उनले वर्तमान सरकार केवल निरन्तरता मात्र नभएकोले जनताको सेवामा समर्पित भएर काम गर्न निर्देशन दिएका हुन् ।

सरकार असामान्य जिम्मेवारीसहित सिंहदरवार प्रवेश गरेकोले सो कुराको मनन गरेर काम गर्न प्रधानमन्त्रीले निर्देशन दिएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।

प्रधानमन्त्रीले फजुल खर्च नगर्न र आर्थिक समृद्धिको अभियानलाई मद्दत गर्न मन्त्री र सचिवहरुलाई निर्देशन दिए । ओलीले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीतिलाई सरकारले कडाइका साथ कार्यान्वयन गर्ने बताए ।

बैठकबारे जानकारी दिँदै परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले पत्रकारहरुसँग कुरा गर्दै भने,‘यो सामान्य अवस्थाको सरकार होईन, असमान्य अवस्थाको सरकार हो । यसमा जिम्मेवारीहरु पूरा गर्नुपर्ने धेरै छ, तपाईहरु बडो जिम्मेवारपूर्ण भएर प्रस्तुत हुनुहोस्।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *