१७ जनाको अझै सनाखत हुन सकेन, शव नपाउँदा आफन्त तनावमा

काठमाडौँ, चैत ४ । यूएस बंगला विमान दुर्घटनामा परी मृत्यु भएका १७ जनाको अझै सनाखत हुन सकेको छैन । मृतक ४९ जनामध्ये ३२ जनाको सनाखत भएको त्रिवि शिक्षण जनाएको छ ।

सनाखत भएका मध्ये १४ जना नेपाली र १८ जना विदेशी नागरिक छन् । मृतक १७ जना बंगलादेशी र एक चिनियाँ नागरिकको पहिचान खुलेको अस्पतालका प्रशासकीय अधिकृत मान बहादुर भट्टले बताए ।

पहिचान खुलेका मृतकहरुको शव पोस्टमार्टमपछि शनिबार आफन्तलाई जिम्मा लगाइएको छ । सनाखत भएका शव बुझेपछि आफन्तहरु अन्तिम संस्कारतिर लागेका छन् । बाँकी शव पहिचान गरेर आफन्तको जिम्मा लगाइने छ ।

 शव पहिचान गर्न गाह्रो हुँदा आफन्तलाई बुझाउन नसकिएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार ज्यान गुमाएका केहीको दोहाेर्‍याएर पहिचान गर्नुपर्ने भएको छ । आफन्त तथा परिवारले दिएको जानकारी अनुसार कोठी, खतलगायतको परीक्षण गर्नुपर्ने हुँदा शव बुझाउन अझै केही समय लाग्ने अस्पतालले जनाएको छ ।

कतिपय मृतकका आफन्तले अझै शव पाउन नसकेको गुनासो गरेका छन् । विमान दुर्घटनामा २२ जना नेपालीले ज्यान गुमाएका थिए ।

यूएस बंगला विमानमा अवतरणका क्रममा सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको थियो ।

बंगलादेशको राजधानी ढाकाबाट ६७ जना यात्रु र चालक दलका चार सदस्यसहित ७१ जना सवार क्यानेडियन बमबार्डियर डयास एट क्यू फोर हन्ड्रेड विमान दुर्घटनामा ४९ को मृत्यु भएको थियो । त्यसमा ३३ नेपाली, ३६ बंगलादेशी, एक/एक चिनियाँ र माल्दिभ्सका नागरिक थिए ।

घटनामा २२ जनाको उद्धार गरिएको थियो । उद्धार गरिएका दुईजनाको पनि पछि मृत्यु भएको थियो । दुर्घटनामा परी ५१ जनाको ज्यान गएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *