उपसभामुखमा एमालेकी शिवमाया तुम्बाहाम्फे निर्वाचित

चैत्र २, काठमाडाैं । प्रतिनिधि सभाको उपसभामुखको पदमा नेकपा एमालेकी शिवमाया तुम्बाहाम्फे निर्वाचित भएकी छन्। प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकले तुम्बाहाम्फेलाई सभामुखको निर्वाचित गरियोस् भन्ने प्रस्तावलाई बहुमतले पारित गरेको हो ।

उनको पक्षमा २०१ मत आएको थियो भने विपक्षमा ५८ मत आएको थियो। उनकी प्रतिद्वन्द्वी कांग्रेसकी पुष्पा भुषालको ६१ मत पक्षमा आएको थियो भने २०१ मत विपक्षमा आएको थियो।

०३५/३६ को विद्यार्थी आन्दोलनदेखि तत्कालीन नेकपा मालेआवद्ध अनेरास्ववियुबाट राजनीति थालेकी शिवमाया त्यो बेलाकी चर्चित क्रान्तिकारी हुन् । उनी विभिन्न कमिटी हुँदै रामनाथ ढकाल अध्यक्ष भएको बेला अनेरास्ववियुको केन्द्रीय उपाध्यक्ष भइन् ।

योगेश भट्टराई अनेरास्ववियुको अध्यक्ष भएपछि विद्यार्थी राजनीतिबाट विदा लिएकी तुम्बाहम्फे त्यसपछि बिराटनगर फर्किएर गैरसरकारी संस्थामार्फत सामाजिक काममा लागिन् । उनको जन्मथलो तेह्रथुम र अध्ययन तथा राजनीति झापाबाट शुरु भए पनि कर्मथलो मोरङ बन्यो ।

मोरङमा उनले राजनीति र समाजसेवा सँगै अघि बढाउँदा उनका श्रीमान घनेन्द्र जिमी नेकपा एमालेबाट निर्वाचित उर्लाबारी गाविसका अध्यक्ष थिए । हाल जिमीको निधन भइसकेको छ । शिवमाया यसबीचमा अध्ययनमा लागेकाले पार्टीको कार्यकारी भूमिकामा थिइनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *