तेल चाेर्न नपाउने भएपछि ट्यांकर चालककाे असहयाेग

चैत १, झापा । नेपाल आयल निगमले बुधवारदेखि औपचारिक रुपमा पेट्रोलियम पदार्थ बोक्ने ट्याङ्करमा ‘लकिङ प्रणाली’ लागू गरे पनि चालकले असहयोग गरेका छन् । जसका कारण निगमलाई आफ्नो दुई वर्षअघिको निर्णय कार्यान्वयन गर्न असहज भएको छ ।

लामो समयदेखिको पूर्वनिर्धारित कार्यक्रम बमोजिम निगमले बुधवार झापाको चारअालीमा एक औपचारिक कार्यक्रम आयोजना गरी मेची अञ्चलमा पेट्रोलियम ढुवानी गर्ने ट्रक र ट्याङ्करमा ‘लकिङ प्रणाली’को औपचारिक शुभारम्भ गरेको थियो । तर, सरकारको उक्त निर्णयलाई असहयोग गर्दै यहाँका चालक र मजदुरहरुले ढुवानी नै ठप्प पारेका छन् ।

ढुवानी ट्याङ्करबाट बाटैमा तेल चोरी हुने प्रवृत्ति मौलाएपछि त्यसलाई रोक्न निगमले लकिङ प्रणाली अवलम्बन गरेको थियो । भारतीय आयल निगमको सिलिगुढी डिपोबाट पेट्रोलियम ढुवानी हुने मेची अञ्चलका झापा, इलाम, पाँचथर र ताप्लेजुङमा चल्ने गर्ने ट्रक र ट्याङ्करमा लकिङ प्रणाली लागू गरिएको थियो ।

बुधवार चारअालीमा आयोजित कार्यक्रममा भारतीय आयल निगमका प्रमुख एसएस बोस र निगमका कार्यकारी प्रमुख सुशिल भट्राईले उक्त प्रणालीको औपचारिक शुभारम्भ गरेका थिए । बुधवार नै सिलिगुढीमा नै लकिङ प्रणालीको सुरुआत गरे पनि चालकको अवरोधका कारण कुनै पनि ट्रक र ट्याङ्कर त्यहाँ पुगेनन् । चारआलीमा भने निगमले निर्णय कार्यान्वयनको सांकेतिक रुपमा केही ट्याङ्करमा ताला लगाएको छ ।

चालकको अवरोधका बाबजुद निगम भने निर्णय कार्यान्वयनमा कडाइ गर्ने मुडमा छ । निगमका प्रमुख कार्यकारी भट्टराईले निगम आफ्नो निर्णयबाट पछि नहट्ने बताए । निगमको पूर्वाञ्चल क्षेत्रीय कार्यालय प्रमुख भानु खनालका अनुसार मेची अञ्चलका झण्डै ९० प्रतिशत ट्रक र ट्याङ्करमा ताला जडान छ । तर, चालकले त्यसलाई कार्यान्वयनमा ल्याउन मानिरहेका छैनन् ।

सरकार चालकका जायज माग सम्बोधन गर्न तयार रहेको तर असल नियतले गरिएका सुधारका प्रयासमा अवरोध सृजना गर्नु जायज नभएको निगम प्रमुख भट्टराई बताउँछन् । झापाका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले लकिङ प्रणालीको विरोध गर्ने नाममा आपूर्ति अवरोध हुने अवस्था आए सरकार चुप लागेर नबस्ने बताए । पूर्वाञ्चल क्षेत्रीय कार्यालय प्रमुख खनालले सीमित स्वार्थ पूरा गर्न उपभोक्तालाई दुःख नदिन आग्रह गरे । लकिङ प्रणालीले चालकलाई नै फाइदा हुने उनको तर्क छ ।

अटेर गरे वैकल्पिक उपाय खोज्ने चेतावनी ?

निगमका आपूर्ति तथा वितरण विभाग निर्देशक विरेन्द्र गोइतले लकिङ प्रणालीको निर्णय व्यक्तिगत नभइ निगम, बोर्ड र आपूर्ति मन्त्रालयको रहेको बताए । उनले भारतका गोण्डा र बेतालपुरमा पनि १५ दिनभित्र लकिङ प्रणाली लागू गर्ने बताए । बरौनी र रक्सौलमा भने एक महिनाभित्र लकिङ कार्यान्वयनमा ल्याउने उनको भनाइ छ । आगामी तीन महिनाभित्र इलाहावाद लगायत सबै डिपोमा लकिङ प्रणाली लागू गर्ने निगमको प्रतिवद्धता छ ।

निगमले यसअघि गत मंसिरमा दुई महिनाभित्र ट्यांकरमा लकिङ प्रणाली जडान गर्न निर्देशन दिएको थियो । तर, त्यसको कार्यान्वयन हुन सकेको थिएन । निगमका अनुसार पूर्वाञ्चलमा हाल ५९ वटा ट्याङ्कर छन् । यसका लागि लागि १ सय ४० ताल्चा दिइएको छ । चालकले अवरोध गरे वैकल्पिक उपायमार्फत तेलको सहज आपूर्ति गराउने निगमको भनाइ छ ।

चोरी र मिसावट रोकिने विश्वास

पेट्रोलियम ढुवानी व्यवसायी महासंघका महासचिव विश्व अर्यालले स-साना स्वार्थका कारण उपभोक्ता अधिकारमाथि खेलवाड गर्नु जायज नभएको बताए । सिल जडानले चोरी नियन्त्रणसँगै मिसावटको पनि अन्त हुने दाबी उनको छ । निगमका अनुसार भारतीय आयल निगम डिपोबाट निगमको डिपोसम्म र निगमको डिपोबाट बिक्रेताको डिपोसम्म हुनेगरी लकिङ लागू गरिने छ । पहिलो चरणमा भारतीय आयल निगमबाट नेपालको डिपोसम्म पहिलो चरणमा सिल लगाइने छ ।

आईओसीबाट ट्यांकरमा इन्धन भरेपछि तेल भर्ने र झिक्ने भल्बमा सिल गरिनेछ । त्यसपछि सम्बन्धित डिपोमा मात्रै सिल खोल्न मिल्छ । भारतीय आयल निगमको डिपोमा ट्याङ्कर सिल गरेर पठाएपछि त्यसको साँचो भारतीय आयलको सम्बन्धित डिपो र नेपाल आयल निगमको क्षेत्रीय कार्यलय प्रमुखसँग मात्रै हुन्छ ।

ट्याङ्करमा सिलका लागि आईओसीले २ हजार ३ सय ताल्चा भारतीय आयल निगमले उपलब्ध गराउने प्रतिवद्धता जनाइसकेको छ । हाल मुलुकभर करिब १८ सय ट्याङ्कर छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *