भक्तपुरमा निःशुल्क स्वास्थ्य क्लिनिक शुरु

भक्तपुर, चैत १ । भक्तपुरका बासिन्दा र मजदूर वर्गलाई लक्षित गरी भक्तपुर औद्योगिक क्षेत्र व्यासीमा आजबाट निःशुल्क स्वास्थ्य क्लिनिक सञ्चालनमा आएको छ ।

भक्तपुर उद्योग वाणिज्य संघ, जिल्ला समन्वय समिति भक्तपुर, लायन्स क्लब अफ भक्तपुर र डा इबामुरा मेमोरियल अस्पतालले संयुक्त रुपमा निःशुल्क स्वास्थ्य क्लिनिक सञ्चालनमा ल्याएको हो ।

भक्तपुर नगरपालिकाका प्रमुख सुुनिल प्रजापतिले  क्लिनिकको उद्घाटन गर्दै नगरपालिकाले निकट भविष्यमा आफ्नै अस्पताल सञ्चालनको तयारी गरिरहेको बताउँदै यो अवस्थामा यहाँका बासिन्दालाई लक्षित गरी निःशुल्क क्लिनिक सञ्चालन गर्नु उपलब्धिमूलक हुने बताए ।

कार्यक्रममा डा इवामुरा मेमोरियल अस्पतालका व्यवस्थापक रञ्जित मारिखुले हरेक दिन बिहान ८ देखि १० बजेसम्म सञ्चालन हुने क्लिनिकमा इवामुरा अस्पतालको प्राविधिक सहयोग रहने बताउँदै बिरामीलाई निःशुल्क औषधिसमेत वितरण गरिने बताए ।

स्वास्थ्य समस्या लिएर घरमै बस्ने तर अस्पताल नजाने धेरै विपन्न परिवार भक्तपुरमा रहेको गुनासो आएपछि टोलमै स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले क्लिनिक शुरु गरिएको उनको भनाइ थियो । आवश्यकता र बिरामीको चाप बढेमा क्लिनिक सञ्चालनको समयलाई बढाउँदै लैजाने बताउँदै शनिबार भने क्लिनिक बन्द हुने बताए ।

क्लिनिकमा आज २०० जनालाई स्वास्थ्य परीक्षण गर्नुका साथै निःशुल्क औषधि वितरण गरिएको छ । दाँत, नशा, हाडजोर्नी, स्त्री रोगलगायतका परीक्षण गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *