चलचित्र ‘कृ’ को गीतले चुलियो मिस्टर आरजेको चर्चा

नेपाली सांगीतिक क्षेत्रमा चलचित्र ‘कृ’ को ‘यति यति पानी गंगा रानी’ बोलको गीतले पाएको चर्चासँगै मिस्टर आरजेको (राजेन्द्र भट्ट) पनि चर्चा चुलिएको छ । युट्युबमा ८७ लाखभन्दा बढी पटक हेरिएको चलचित्र ‘कृ’को यो गीतमा मिस्टर आरजेले शब्द, संगीतसँगै र्याप दिएका थिए ।

गीतकै कारण पनि उक्त चलचित्र पछिल्लो समय बढी चर्चामा रहेपछि आरजेको समेत सांगीतिक क्षेत्रमा माग बढेको छ ।

यसअघि पनि थुप्रै म्युजिक भिडियो र चलचित्रका धेरै गीतमा शब्द, संगीत र र्याप दिइसकेका आरजे यतिबेला प्रदेश नं ७ मा भइरहेका विभिन्न मेला, महोत्सवमा माहोल तताइरहेका छन् ।

“यतियति पानी बोलको गीत यति धेरै चर्चामा आउला भन्ने सोचेको थिइनँ”, कञ्चनपुरको दोधारा–चादँनी घर भएका मिस्टर आरजेले भने, “मैले दोधारा–चाँदनीमा बिताएको बाल्यकाल सम्झेर गीत लेखेको हुँ ।”

प्रेम र द्वन्द्वमा आधारित चलचिल ‘कृ’मा उक्त गीत आउनुअघि बजारमा आएको ‘कम्मरको ट्याटुले’का कारण आरजे चर्चामा आइसकेका थिए । उक्त गीतमा ‘बाबा’को भूमिकामा देखिएका आरजेलाई पछिल्लो समय दर्शकले ‘आरजेबाबा’ भनेर सम्बोधन गर्ने गरेका छन् । ‘कम्मरको ट्याटुले’ बोलको गीत युट्युबमा छोटो समयमै ४० लाखभन्दा बढीले हेरिसकेका छन् ।

“छोटो समयमै युट्युब ट्रेन्डिङ भित्र पर्ने यो पहिलो गीत हो”, आरजेले भने, “यो गीतले पनि राम्रै बजार पाएको छ ।”

विसं २०६७ देखि कलाकारिता क्षेत्रमा संलग्न भएका आरजेले केही समय महेन्द्रनगरमा रेडियो पत्रकारितासमेत गरेका थिए । काठमाडौँ बसाइँ बनाएपछि ‘श्रीसंगीत पाठशाला’मा संगीतको ज्ञान आर्जन गर्न पुगेका आरजे अझै संगीत सिकिरहेको बताउँछन् ।

‘धौलीको ब्या’, ‘दारु सड्काउने’ ‘आमैले भन्थिन्, धाराको पानी’ लगायतका गीतमा डोटेली भाषालाई र्याप बनाएर पस्किएका कारण गीत बढी चर्चामा आएको उनी बताउँछन् । उनले भने, “युवापुस्ताले आरजेलाई हरेक गीतसंगीतमा खोज्न थालेका छन् ।”

गिती एल्बम ‘राश’मा शब्द संगीत दिएर यस क्षेत्रमा प्रवेश गरेका आरजे गुगल र युट्युबमा हेर्दै र्याप सिकेको बताउँछन् । “पहिलेकोे र्यापमा नाच्न सकिने खालका धेरै कम गीत थिए,” उनले भने, “नाच्न सक्ने ट्रेन्डका र्याप गीत हामीले नै बजारमा पस्केका हौँ ।”

हालसम्म देशभरका करीब दुई हजार ५०० भन्दा बढी मेला/महोत्सवमा स्टेज कार्यक्रम गरिसकेका आरजे जनचाहनाअनुसार गीत बनाउँदै जाने बताउँछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *