आजका बिभिन्न पत्रपत्रिकामा छापिएका सम्पादकीय यस्ता छन्

काठमाडौं, फागुन ३० । सर्वोच्चताको सम्मान :नागरिक

सर्वोच्च अदालतमा अहिले जे भईरहेको छ, त्यसले मुलुकको न्यायिक सर्वोच्चताको साख गिराउनेछ । सबै बाटा बन्द हुँदा पनि अन्तिम उपचारका निम्ति पुग्नुपर्ने न्यायको मन्दिरप्रतिको अजवस्था झन्झन् ढल्ने अवस्था उत्पन्न भएको छ ।

प्रधानन्याधीश गोपाल पराजुलीको उमेर विवादबाट प्रवेश गरेको मुद्धा अहिले सर्वोच्चमा अदालतका न्यायाधीशहरु धुव्रीकरण हुने स्थितिमा पुगेको छ । न्यायाधीश चोलेन्द्रशमसेर जवाराले प्रधानन्यायाधीश पराजुली पदावधि समापत् भएको रायसहित बेन्च बहिष्कार गरेपछि सर्वोच्च अदालत विवादको अर्को उत्कर्षमा पुगेको छ । |

शासन, प्रशासन र अनुशासन : नयाँ पत्रिका 

सरकारले पूर्णता पाउन बाँकी रहेकै वेला प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी सरकार भनिने कर्मचारी संयन्त्रबाट ठूलै असहयोग सामना गर्नुपरेको छ ।

अहिलेसम्मको असहयोग अझै तन्किँदै गयो भने संघीय, प्रादेशिक र स्थानीय तहले दिनुपर्ने सेवा, गर्नुपर्ने काम र दैनिक कार्यमा समेत अवरोध आउने सम्भावना देखिएको छ । यतिवेला निजामती सेवातर्फका तल्लो तहदेखि माथिल्लो तहसम्मका कर्मचारी समायोजन प्रक्रियामा छन् ।

यसरी समायोजनमा जाने कर्मचारीले सामान्य प्रशासन मन्त्रालयले खटाएको ठाउँमा नजाने, अटेरी गर्ने, लामो समय अनुपस्थित रहने, नेताहरू र अनेक खाले पहुँच देखाएर निर्णय उल्ट्याउन लगाउने गरेका छन् । यसले स्थानीय तहका वडादेखि प्रदेश सरकारका दैनिक काम प्रभावित भएका छन् ।

दैनिक काम भन्नाले जनताले पाउनुपर्ने दैनिक सेवा र दीर्घकालीन रूपमा सम्बन्धित तहका सरकारले गर्नुपर्ने विकास निर्माणका काम प्रभावित हुनु हो ।

यसको लामो प्रभाव के हुन्छ भने अहिलेको वर्षमा सकिनुपर्ने काम पछिलाई सर्छ, पोहोरपरारकै काम पनि बाँकी छन् । जनता निराश हुने र निर्वाचित सरकार या जनप्रतिनिधि असफल देखिने खतरा बढ्दै
गएको छ ।

कर्मचारीलाई राम्रोसँग परिचालन गर्न र सेवा प्रवाहमा उनीहरूको सक्रिय सहभागिता सुनिश्चित गराउन नसक्ने सरकार असफल हुुनु अवश्यंभावी छ ।

भाषण होइन काम गर : नेपाल समाचारपत्र 

हरेक सरकारले समृद्धिको सपना बाँडेको धेरै भयो । हरेक निर्वाचनमा राजनीतिक दलहरूको मुख्य एजेन्डा नै विकास र समृद्धि हुने गर्छ तर निर्वाचित भए पनि जनतासँग गरेको प्रतिबद्धता भुल्ने परम्परा छ ।

राजनीतिक दलका नेताहरू निर्वाचित भएर गएपछि देश र जनताको स्वार्थभन्दा पनि आफ्नो व्यक्तिगत स्वार्थमा बढी केन्द्रित हुँदै आएका छन् ।

प्राकृतिक स्रोत–साधनले भरिपूर्ण भए पनि अपेक्षाकृतरुपमा विकासले गति लिन सकेको छैन ।

कारण सरकारको इच्छाशक्तिको कमी । जहाँ इच्छा त्यहाँ उपाय भनेझैँ इच्छाशक्ति भएको अवस्थामा काम गर्न सकैले पनि रोक्न सक्दैन । राजनीतिक किचलो, अस्थिर सरकार विगतमा विकास हुन नसक्नुको कारण औंल्याइँदै आएको छ ।

तर यसपटकको निर्वाचनमा वाम गठबन्धनले बहुमत प्राप्त गरेर सरकार गठन गरेको छ । आशा र अपेक्षा त नागरिकले विगतमा पनि गरेका थिए र अहिले पनि गरेका छन् ।

जनताले अराजकता, बेथिति, विकृतिको अन्त्य गरेर विकासको युग शुरू होस् भन्ने चाहना राखेका छन् । के अबको सरकारले जनअपेक्षाअनुसार काम गर्ला र ?

चिकित्सक बिरामी सम्बन्ध : अन्नपुर्ण 

बिरामीको उपचारमा चिकित्सकले लापरबाही गरेको भन्दै चिकित्सकमाथि हातपात र स्वास्थ्य संस्थामा तोडफोड गर्ने क्रम मुलुकमा केही वर्षयता बढ्दै गइरहेको छ।

सोही कारण स्वास्थ्यकर्मी र अस्पताल सुरक्षाका लागि भन्दैै २०६६ मा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन ल्याइयो। तर त्यसपछि पनि यस्ता घटना दोहोरिइरहेका छन्।

चिकित्सकमाथि हातपात हुनु र स्वास्थ्य संस्थामा आक्रमण हुनु दुःखद् हो। यस्ता अनुचित क्रियाकलापका कारण पनि खोजिनुपर्छ।

उसो त मुलुकमा बढ्दै गइरहेको दण्डहीनताकै कारण पनि यस्ता क्रियाकलाप बढेका हुन सक्छन्। तर बिरामी र बिरामीका आफन्तले चिकित्सक र अस्पतालबाट उपचारका क्रममा भएका भनी लगाएका सबै आरोप गलत हुन् भन्न भने सकिँदैन।

स्वास्थ्यकर्मीहरूले उपचाररत बिरामीसँग झर्किएर बोल्ने, सम्मानपूर्वक व्यवहार नगर्ने गरेको सबैले देख्दै र भोग्दै आएका हुन्।

तर सबै स्वास्थ्यकर्मी बिरामीसँग राम्रो व्यवहार गर्दैनन् भन्न खोजिएको होइन। स्रोत र साधनको अभाव हुँदाहुँदै पनि बिरामीसँग राम्रो र मायालु व्यवहार गर्ने स्वास्थ्यकर्मीहरू छन् हाम्रा स्वास्थ्य संस्थाहरूमा।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *