इक्यानको निर्वाचन बैशाख ८ मा, नयाँ नेतृत्वका लागि आ–आफ्नो कसरत

फागुन २८, काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को निर्वाचन आउँदो बैशाख ८ गते हुने भएको छ । इक्यानको हिजो आइतबार बसेको बैठकले आगामी बैशाख ८ गते साधारण सभा निर्णय गरेको हो ।

यस अघि इक्यानको १२ औं वार्षिक साधारणसभा सम्पन्न गरिसकेको छ । अब हुन लागेको निर्वाचन छैटौं निर्वाचन हो । उक्त निर्वाचनले नयाँ कार्य समिति चयन गर्ने इक्यानका प्रथम सचिव देवीदास भट्टराईले जानकारी दिए ।

आउँदो निर्वाचनबाट नयाँ नेतृत्व चयन गर्ने भएकोले आकांक्षीहरु अहिलेदेखि नै लविङमा छन् । इक्यानको नेतृत्व लिनका लागि हालका, प्रथम उपाध्यक्ष निरज सिटाैला, तृतिय उपाध्यक्ष विष्णुहरी पाण्डे र सरोज बस्नेत आकांक्षी देखिएका छन् । उनीहरुले एक महिनादेखि नै अध्यक्षका लागि आ–आफ्नो तर्फबाट सदस्यहरुलाई लविङ गरिरहेका छन् ।

नेपाल शैक्षिक परामर्श संघ (इक्यान) मा ब्यवसायीक हक हितका लागि काम गर्न सक्ने क्षमता भएका ब्यक्ति आउन जरुरी भएको ब्यवसायीले बताएका छन् । केहि समय यता इक्यानमा गुटबन्दी मौलाउँदै गएको भन्दै एक सदस्यले अबको नेतृत्व सर्वसम्मत रुपमा मान्य हुन सक्ने आउनु पर्ने बताए । 

‘हिजोका दिनमा हामीले नेतृत्व गरेर पठाउँदा उहाँहरुले गर्नुभएको प्रतिबद्धता कति पुरा भए भएनन, आफ्नो ठाउँमा छ तर, अब आउने नेतृत्वले समग्र इक्यानको उद्देश्य लक्ष र विधान अनुसार नेतृत्व गर्न सक्नु पर्छ ।’ एक सदस्यले बताए ।

कन्सल्टेन्सी क्षेत्रलाई राज्य तथा आम जनताले अझैपनि राम्रो दृष्टिकोणले हेर्न सकिरहेका छैनन् । शैक्षिक परामर्शको काम र अधिकारभन्दा बाहिर गएर मेनपावर चलाउने केहि कन्सल्टेन्सीका कारण समग्र शैक्षिक परामर्श ब्यवसायलाई गलत नजरले हेरिरहेका छन् ।

राज्य र सर्वसाधारणको यो सोचलाई इक्यानको नयाँ नेतृत्वले परिवर्तन गर्नु चुनौति छ । इक्यानलाई सबै कन्सल्टेन्सी ब्यवसायीको साझा छाता संगठनका रुपमा स्थापित गर्नु अर्को चुनौति हो । यसका साथै देशभर ५ हजारको हाराहारीमा रहेका कन्सल्टेन्सीलाई राज्यको नियामक निकायमा दर्ता गराउन सहजीकरण गर्दै यो क्षेत्रको विकृति विसंगतिलाई निमिट्यान्न गर्नुपनि नयाँ नेतृत्वको काम हो ।

कन्सल्टेन्सी क्षेत्रलाई ब्यवसायीक, मर्यादित र स्वच्छ ढंगबाट सञ्चालन गर्नका लागि नेतृत्व विकास र ब्यवसायीक दक्षताका तालिम तथा अन्य अवसर सृजना गर्नुपनि इक्यान नेतृत्वको दायित्व हो । यसका लागि आउने नेतृत्वमा सबैलाई गोलबद्ध गराउने, गुटबन्दीको अन्त्य गर्ने, कुटनितिक तवरबाट राज्यका नियामक निकायसँग समन्वय, सहकार्य गर्न सक्ने खुवी र साहस हुन जरुरी छ ।

कुनै एउटा दल र त्यसको भातृ संगठनको आडमा कोही इक्यानमा हामी हुन खोज्दछ भने, त्यो इक्यानको मर्म र उद्देश्य विपरितको काम हो । इक्यान पूर्णतः ब्यवसायीक हक हितका लागि स्थापना भएको गैरराजनीतिक संस्था हो । तथापि, इक्यानको निर्वाचन नजिकिँदै गर्दा राजनीतिक रंगका केहि छिटाहरु देखा परिसकेका छन् । यी छिटाहरुलाई धोएर अगाडी बढ्नु अबको निर्वाचनबाट आउने नेतृत्वको ठूलो चुनौति हो ।

कन्सल्टेन्सी ब्यवसायीहरुको छाता संगठन मध्ये इक्यान सबैभन्दा ठूलो संगठन हो । हाल इक्यानमा देशभरबाट साँढे तीन सयको हाराहारीमा सदस्य रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *