गोप्य सूचना सीधै प्रधानमन्त्रीसमक्ष पुर्‍याउने, ‘राष्ट्रिय सुरक्षा सल्लाहकार एकाइ’ तथा ‘स्वतन्त्र विज्ञ समूह’ राख्ने

काठमाडौं, फागुन २७ । सरकारले समग्र गोप्य सूचना सीधै प्रधानमन्त्रीसमक्ष पुर्‍याउने गरी संयन्त्र निर्माण अघि बढाएको छ । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार नेपालको भूराजनीतिलाई समेत ध्यान दिँदै ‘राष्ट्रिय सुरक्षा सल्लाहकार एकाइ’ तथा ‘स्वतन्त्र विज्ञ समूह’ राख्ने गरी गृहकार्य बढाइएको छ ।

‘शक्तिशाली प्रधानमन्त्री’ को अवधारणाअनुरूप यस्तो प्रयास भएको प्रधानमन्त्री कार्यालयका अधिकारीहरूले बताएका छन् ।शक्ति धेरैतिर  छरिँदा निर्णय लिनै असहज हुने भन्दै प्रधानमन्त्री केपी ओलीले नै यस्तो अवधारणा अघि सारेका हुन् । कस्तो संयन्त्र बनाउने भन्नेबारे प्रधानमन्त्री कार्यालयदेखि सम्बन्धित मन्त्रालयसम्मले उनलाई सुझाव दिइरहेका छन् ।

बिदाको दिनसमेत मन्त्रालय पुगेर सुझाव तयार पार्ने काम भइरहेको मन्त्रालयका अधिकारीहरूले जनाए । कार्यकारीको शाक्तिलाई ध्यानमा राखेर यस्तो व्यवस्था अन्य मुलुकमा पनि गरिएको हुन्छ । भारत, अमेरिकालगायत मुलुकमा पनि शक्तिशाली राष्ट्रिय सुरक्षा ‘विङ’ र विदेश मन्त्रालयअन्तर्गत रिसर्च ‘विङ’ हरू छन् ।

त्यस्तै ढंगको चुस्त संयन्त्र निर्माणको तयारी भइरहेको ओली निकटस्थ बताउँछन् । यसको संयोजनका लागि सरकारले सल्लाहकार नियुक्त गर्ने तयारी गरिरहेको उनीहरूको दाबी छ । प्रक्रिया अन्तिम चरणमा पुगेपछि मात्र सल्लाहकार नियुक्त हुने अधिकारीले जनाए ।

लामो समय कूटनीति र सुरक्षा क्षेत्रमा अनुभव हासिल गरेका, स्वदेश या विदेशमा रहेका दक्ष व्यक्तिलाई सल्लाहकार बनाउने तयारी प्रधानमन्त्रीको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *