दाइजो विना विवाह गर्ने आदर्श जोडी सम्मानित

वीरगञ्ज, फागुन २५ । मधेसको समाजमा मोलतोल गरेर दाइजो माग्ने विकृति बढिरहेका बेला बिना दाइजो विवाह गरेर उदाहरण प्रस्तुत गर्ने एक जोडी सम्मानित भएका छन् ।

गत माघ २१ गते विवाह गरेका विरागञ्जका सन्देश प्रसाद र चञ्चला कुमारीको जोडीलाइ बाल विवाह तथा दाइजो उन्मुलन राष्ट्रिय अभियान, नेपालले प्रशंसा पत्रसहित सम्मान गरेको हो । अभियानका जिल्ला संयोजक प्रकाश थारुले सो आदर्श जोडीलाई सम्मान गर्दै तराई मधेसको समाजमा दाइजो नमागी विवाह गर्नु नमूना काम भएको बताए ।

सन्देश एक बैंकमा कार्यरत छन् भने चञ्चला कुमारी शिक्षण पेशामा आवद्ध छिन् ।

दुलाहा सन्देशले परिवर्तनको शुरुवात आफैंबाट गर्नुपर्छ भन्ने सन्देश दिन दाइजो नलिइ विवाह गर्ने निर्णयमा पुगेको बताए । ‘दाइजोले कोही धनी भएको छैन, हुँदैन पनि, यो पहिलेदेखि नै समाजमा चली आएको विकृति हो’, उनले भने ‘मुखले चाहिँदैन भन्ने तर व्यवहारमा माग्नेहरु पनि छन् । हरेक मान्छेले घरबाटै शुरुवात गर्ने हो भन्ने दाइजो समाजबाट हट्छ भन्ने लाग्छ ।’

दुलही चञ्चलाका बुवा प्रदीप कुमारले केटा पक्षले एक रुपैयाँ पनि दाइजो नमागेको बताए । ‘विवाहको कुरा गर्दा एक रुपैयाँ पनि लेनदेनको कुरा भएन’, उनले भने ‘हामीले आफ्नो गक्ष अनुसार विवाह गर्यौं’, उनले भने ।

सन्देशका बुवा राजशंकर प्रसादले समाजमा दाइजो विकृतिको रुपमा देखिएकोले त्यसको अन्त्य गर्नुपर्छ भन्ने सोचेर दाइजो नमागेको बताए । ‘परिवर्तनको शुरुवात आफैंबाट गर्नुपर्छ भनेर हामीले एक रुपैयाँ पनि दाइजो मागेनौं’, उनले भने ।

गत साउन १९ गते निधन भएकी आफ्नी श्रीमती सुमित्रा देवीको इच्छा दाइजोबिनै छोराको विवाह गर्ने रहेकाले त्यो पूरा गरेको राजशंकरले बताए ।

चञ्चलाले दाइजोका कारण छोरालाई मात्र प्राथमिकता दिने चलन बढेको समयमा दाइजोबिनै भित्रिन पाउँदा खुशी लागेको बताइन् । ‘वस्तु किनबेच गरे जस्तो मोलतोल गरेर बुहारी भित्र्याउने चलन छ’, उनले भनिन्, ‘मलाई एक रुपैयाँ पनि दाइजो नमागी विवाह गरिएको छ । अरुले पनि यसबाट पाठ सिक्नुपर्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *