पाईल्स, फिस्टुला र फिसर कसरी हुन्छ ? जानकारीको लागि पूरा पढ्नु होस

पाईल्स (अर्स वा बबासिर) यस्तो रोग हो जसमा दिसा गर्न गाह्रो हुने, दिसा गर्दा रगत आउने, मासुको डल्ला बाहिर निस्कने आदि हुन्छ । बिशेष गरी कार्य व्यस्तताका साथै बिभिन्न कारणले दिसा लामो समय सम्म रोक्ने, लामो समय सम्म दिसा बस्ने तथा दिसा कव्जियत हुने कारणले गर्दा नै यो रोग लाग्ने सम्भावना बढी हुनसक्छ । बुझ्दा सामान्य बुझिने पाईल्स चार प्रकारका हुन्छन्ः

प्रथम चरणः यस अवस्थामा दिसा गर्दा मासुको डल्ला बाहिर आउँदैन तर रगत बग्ने र दुखाई भने हुने गर्दछ । यस अवस्थामा रहेको पाईल्सलाई औषधिद्वारा निको पार्न सकिन्छ ।

द्वितिय चरणः यो अवस्थामा दिसा गर्दा मासुको डल्ला बाहिर आउँछ र दिसा गरिसकेपछि आफैं भित्र जान्छ यसका साथै दुख्ने अनि रगत आउने समेत हुन्छ । यो अवस्थासम्म पनि लामो समयसम्म औषधि सेवन गरि निको पार्न सकिन्छ ।

तृतिय चरणः यस चरणमा दिसा गर्दा मासुको डल्ला बाहिर आउँछ र आफैं भित्र नगई औंलाले धकेलेर भित्र पठाउनुपर्ने हुन्छ । यसका साथै बढी मात्रामा दुख्ने अनि रगत बग्ने हुन्छ । यस अवस्थासम्म आईपुगेको पाईल्स औषधिले निको नहुने भएकाले क्षारसूत्र विधिबाट नै उपचार गर्नुपर्ने हुन्छ ।

चतुर्थ चरणः यस चरणमा मासुको डल्ला बाहिर नै बसिरहन्छ साथै अत्यधिक दुखाई र रगत बग्ने हुन्छ । समयमै उपचार नगर्दा मासुको डल्ला कुहिन थाल्दछ र संक्रमण सम्पूर्ण शरीरमा फैलिएर मान्छेको मृत्यु पनि हुन्छ ।

यो रोग १ देखि २ प्रतिशतसम्म क्यान्सरमा परिणत हुने सम्भावना हुन्छ भने यो रोगको अप्रेशन गरेका बिरामीहरूमा ३० देखि ४० प्रतिशतसम्म दोहोरिएको पाईएको छ तर, क्षारसूत्र विधिबाट उपचार गरेको बिरामीहरुमा भने १ प्रतिशत भन्दा पनि कम मात्र दोहोरिने देखिएको छ । यदि समयमै उपचार गरेमा यो रोगबाट सजिलै मुक्त हुन सकिन्छ ।

पाईल्स रोग भएका बिरामीले दिसा सजिलै खुलाउने खालका खानेकुराहरु खाने, दिसा रोकेर नबस्ने, गरम मसला, मरिच र पिरो खानेकुराहरु नखाने, माछा मासुहरु कम खाने, हरियो सागपात अनि फलफूलहरु दैनिक जसो खाने, दिनमा ३ देखि ५ लिटरसम्म पानी पिउने गर्नु लाभदायक हुन्छ ।

पाईल्स रोगले सानो ठूलो, धनि गरीब भन्दैन । नेपोलियन बोनापार्ट र जिम्मी कार्टर जस्ता व्यक्तिहरुलाई पनि यो रोगले सताएको थियो भन्ने पाईन्छ । त्यसैले खानपानमा बढी ध्यान दिने गरौं । यदि रोग लागिहालेमा समयमै उपचार गरौं ।

फिस्टुलाः
फिस्टुला दिसा गर्ने ठाउँको वरिपरि बन्ने सानो प्वाल भएको खटिरा हो । जव उक्त प्वालको भित्रपट्टि पाक्दछ र पहेंलो अथवा रगत मिसिएको पिप बग्न थाल्दछ तव दुखाई कम हुँदै जान्छ । अन्यथा टन्कने र दुखिरहने हुन्छ । नेपालमा यो रोगको अनुसन्धान भएको पाइँदैन । छिमेकी देश भारत र हाम्रो देशको रहन सहन र खानपान एकै खालको भएकाले भारतमा गरिएको अनुसन्धानलाई आधार मानेर हेर्दा यो रोग पुरुषहरुमा एक लाखमा १२.३ जना र महिलाहरुमा ५.६ जनामा भएको पाइन्छ । यो रोग दिसा गर्ने ठाउँको भित्रपट्टि हुने ग्रन्थिहरुमा संक्रमण भएको कारणले हुने भएकाले भित्र भएको पिप एउटा बाटोबाट दिसा गर्ने ठाउँको भित्र खुल्दछ भने अर्को बाटोबाट बाहिर खुल्दछ र यसलाई नै फिस्टुला भनिन्छ ।

कसरी लाग्दछ त यो रोगः

लामो समयसम्म दिसा बस्नाले, लामो समयसम्म पखाला लागिरहनाले, दिसा कब्जियत हुनाले, दिसा गर्ने ठाउँको वरपरको रौं तानिएर दिसा गर्ने ठाउँको भित्र भएका ग्रन्थिहरूमा सङ्क्रमण भएको कारणले यो रोग लाग्दछ । यो सामान्य रुपमा एक व्यक्तिमा एउटा हुने तर, कसै–कसैमा धेरै पनि हुने गरेको पाइन्छ । मानिसको दिसा गर्ने ठाउँको भित्र ८ वटा ग्रन्थिहरु हुन्छन् जसको सङ्क्रमण एकै पटक भयो भने ८ वटै फिस्टुलाहरु पनि आउन सक्छन् । यो रोगको जटिलताका अवस्था निम्नानुसारको रोगहरुमा हुनसक्छ ।

ठूलो आन्द्राको रोग भएमा
ठूलो आन्द्राको क्यान्सर भई पहिला नै रेडियोथेरापी लिएको अवस्थामा
क्षयरोग लागेको अवस्थामा
एचआइभि पोजेटिभ भएको अवस्थामा

कसरी थाहा पाउने त यो रोग लागेकोः
दिसा गर्ने ठाउँको वरपर वा नजिकमा खटिरा आउँछ र अत्यन्त दुखाई हुनुको साथै केहि समय पछि त्यो खटिरा पाकेर गन्हाउने पिप बग्न थाल्दछ । पिप बगेपछि सन्चो भए जस्तो त हुन्छ तर केहि समय पछि फेरी पाक्ने र दुखाई हुने निरन्तर भइरहन्छ । पछि यो पुरानो भएपछि पुरै भाग सुन्निएर आउँछ ।

यो रोग लागि सकेपछि अरु रोगहरु सँग अलग गर्न परिक्षण गनुपर्ने हुन्छ । यसको लागि सामान्य रुपमा हेरेर तथा प्रोटोस्कोपबाट हेरेर पनि केहि कुरा थाहा पाउन सकिन्छ । यसको उपचारमा कति माथि भित्र पट्टि अर्को प्वाल खुलेको छ भन्ने थाहा पाउनु जरुरी हुन्छ । कहिले काँही प्रोटोस्कोपबाट हेर्दै बाहिरको प्वालबाट औषधि पठाउँदा पनि भित्रको प्वाल देखिएन भने फिस्टुलोग्राम गर्नु पर्दछ । कहिले काँही धेरै फिस्टुला भएको व्यक्तिमा क्षयरोग तथा क्यान्सर छ कि भनेर मासु काटेर वायोप्सि पनि गर्नुपर्ने हुनसक्छ ।

यो रोग औषधिले निको हुँदैन । यसलाई क्षार सूत्र विधिबाट उपचार गर्दा दोहोरिने सम्भावना रहँदैन र अरु जटिलता पनि आउँदैन । यस रोगको लागि अप्रेसन गर्दा १५ देखि १८ प्रतिशत मानिसमा दोहोरिने तथा दिसा रोक्न नसक्ने दिसा खुस्कने समस्या देखिएको पाइन्छ । तर क्षार सूत्रबाट उपचार गर्दा अहिले सम्म त्यस्ता समस्याहरु देखिएका छैनन् । यदि यो रोगको समयमा उपचार गरिएन भने क्यान्सर भइ ज्यानकै खतरा पनि हुन सक्छ ।

रोकथाम का उपायहरुः
दिसा धेरै कब्जियत हुन नदिने
कनेर दिसा नगर्ने तथा लामो समय सम्म दिसा नबस्ने
सर सफाईमा ध्यान दिने
मसलादार तथा खुर्सानी, अदुवा, गरम मसला, दुध चिया र कफि कम गर्ने
हरियो सागपात तथा फल फूल आवस्यक मात्रमा खाने
शरिरलाई चाहिने आवश्यक मात्रमा पानी पिउने ।

फिसरः
सामान्य भाषामा धाँजा फाट्ने वा चिरिने समस्यालाई फिसर भनिन्छ । यदि यो समस्या दिसागर्ने ठाउँको आसपासमा भएमा यसलाई फिसर इन एनो भनिन्छ । त्यसैले दिसागर्ने ठाउँमा बन्ने घाउ जुन बढी पीडादायक हुन्छ त्यसलाई नै फिसर भनिन्छ ।

फिसरः उपचार अघी
लामो समयसम्म दिसा रोकेर बस्ने अनि एकै पटक साह्रो दिसा गर्नाले यो रोग लाग्दछ । पानीको कमी, खानामा सागपातको कमी, धेरै मात्रामा माछामासु तथा गेडागुडी सेवन गर्नाले पनि दिसा कब्जियत हुनगई फिसर रोग लाग्दछ ।

यो रोग लागेपछि दिसागर्ने ठाउँमा घाउ बन्दछ जसबाट रगत बग्ने समस्या हुन्छ र दिसा गर्दा अत्याधिक पीडा हुन्छ । भने केहि समय पछि घाउको नजिकबाट सानो मासु पलाउने पनि पनि हुनजान्छ ।

यो रोग लाग्न नदिनको लागि नियमित रुपमा हल्का व्यायाम गर्ने, हरियो सागपात तथा पहेला फलफूलहरु प्रसस्त मात्रमा खाने, तथा प्रसस्त मात्रमा पानी पिउने गर्नुपर्दछ । जसले गर्दा दिसा कव्जियत हुन पाउँदैन र रोगबाट बच्न सकिन्छ ।

फिसरः क्षारसूत्र गरीसके पछी
यदि यो रोग लागि हालेमा नरम खालका खानेहुराहरु खाने, हरियो सागपात बढी मात्रामा खाने, पानी प्रसस्त मात्रामा पिउने साथै दिसा पातलो गर्ने खालको औषधि पनि आवश्यकता अनुसार सेवन गर्ने, घाउ छिटो निको पार्नको लागि मलहम लगाउने, तथा दुखाई भएमा दिसा गर्नु अघि वा गरिसकेपछि आवश्यकता अनुसार मनतातो पानीमा दिसागर्ने ठाउँ डुबाएर बस्ने । यदि घाउको नजिकमा मासु पलाएको छ भने त्यसलाई क्षार शूत्र विधिबाट हटाउन सकिन्छ ।

नेपालमा हालसम्म यी रोगहरू कति प्रतिशतलाई छ भन्ने आँकडा निकालिएको छैन ।

यी रोगहरू मध्ये पाईल्स रोगमा क्षार सूत्रको बारेमा अध्ययनकर्ता रमा भण्डारीका अनुसन्धान अनुसार क्षार सूत्रले बाँधेका मासुका डल्लाहरू औशतमा ३ देखि ५ दिन भित्रमा झरेको छ । यस्तै क्षार सूत्रले बाँधिसकेपछि कसै कसैमा भने केहि मात्रामा समस्याहरू पनि भएको पाइन्छ । जसका मूख्य समस्या यस्ता छन्ः

दुखाई ७२.२% मा
रगत बग्ने ५.५% मा
सङ्क्रमण ५.५% मा
चिलाउने ११.११ % मा
पिसाव रोकिने ५.५५% मा

क्षारसूत्र के होः
क्षारसूत्रः यो २ वटा शब्दहरु मिलेर बनेको छ । जसमा क्षार भनेको अल्काली हो भने सूत्र भनेको धागो हो । अपमार्ग, अर्क आदिलाई जलाएर बनाएको खरानीलाई पानीमा उमालेर विशेष प्रकारले क्षारको निर्माण गरिन्छ । यहि क्षारलाई प्रयोग गरेर सिउँडीको चोप लगाई बनाईएको बिशेष प्रकारको धागोलाई क्षारसूत्र भनिन्छ । यसले नरम किसिमको मासुलाई काट्ने गर्दछ । यहि धागोको प्रयोगबाट गरिने उपचार विधिलाई नै क्षारसूत्र विधि भनिन्छ । पाईल्स फिस्टुला बाहेक पुरानो घाउहरुमा पनि यसको प्रयोग गरिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *