आज १०८ औँ अन्तराष्ट्रिय नारी दिवस : हक र अधिकार कानुनमा मात्रै

काठमाडौं, फागुन २४ । आज १०८ औँ अन्तराष्ट्रिय नारी दिवस, ‘आर्थिक सशक्तिकरण सहितको सामाजिक जागरण : ग्रामीण तथा शहरी महिलाको जीवनस्तर रुपान्तरण’ भन्ने मूल नाराका साथ बिभिन्न कार्यक्रम गरी मनाईदैछ ।

महिला अधिकार आन्दोलनको रुपमा संसारभर हरेक वर्ष ८ मार्चमा नारी दिवस मनाउने गरिन्छ । नेपालमा सन् १९७४ देखि नारी दिवस मनाउन थालिएको हो । सन् १९१० को मार्च ८ मा कोपनहेगनमा विभिन्न १७ देशका १ सय जना महिला अधिकारवादीको अन्तराष्ट्रिय सम्मेलनले हरेक वर्षको आठ मार्चलाई अधिकार आन्दोलन दिवसका रुपमा मनाउने निर्णय गरे अनुसार यो दिवस मनाउन थालिएको हो ।

सन् १९५७ मा अमेरिकाको गार्मेन्टमा काम गर्ने श्रमिक महिलाले निश्चित घन्टाको काम हुनुपर्ने माग सहित गरेको प्रदर्शनलाई विश्व महिला आन्दोलनको शुरुवातको रुपमा लिने गरिन्छ । महिला अधिकारवादीले नेपालमा महिलाको अवस्थामा अझै अपेक्षित सुधार नआएको भन्दै हक अधिकारको क्षेत्रमा धेरै काम गर्न बाँकी रहेको बताउँदै आएका छन् ।

नेपालको नयाँ संविधान दक्षिण एसियामै उत्कृष्ट र महिलामैत्री भएपनि त्यसलाई संस्थागत गर्दै कार्यान्वयनमा लैजान ठूलो चुनौती रहेको अधिकारकर्मीहरुको भनाई छ । नेपालको संविधानको मौलिक हकको धारा ३८ मा महिलाको हकको व्यवस्था गरेको छ । नेपालको तीन तहको संरचनाअनुसार स्थानीय तहमा करिब ४२ प्रतिशत महिला निर्वाचित भएका छन् ।

प्रदेश र केन्द्रमा पनि ३३ प्रतिशत महिलाको प्रतिनिधित्व भएको छ । जुन अन्तर्राष्ट्रिय निकायबाट पनि सकारात्मक अभ्यासका रुपमा हेरिरहेको छ । राजनीति जागरण र समानताको कुरा उठे पनि अझै ग्रामीण महिलाले आफूले पाउने सुविधा पाएका छैनन् ।

अझै पनि महिला अनौपचारिकरुपमा काम गर्ने धेरै छन् । जुन ठाउँमा महिला बोल्न सक्दैनन् । ज्यालामा समान छैन । घरेलु श्रमको अहिले पनि कुनै मूल्यमा परिणत गरेको अवस्था छैन । नेपालमा कार्यस्थतमा हुने हिंसासम्बन्धी ऐन छ ।

तर कार्यान्वयन नहुँदा महिलाले त्यसको उपयोग गर्न पाएका छैनन् । घरेलु हिंसासम्बन्धी ऐनको पनि अवस्था उस्तै छ । महिलाको हकमा आवाज उठाउन राष्ट्रिय महिला आयोग छ । आयोगमा उजुरी लिने र सुनुवाइ गर्ने काम पनि भइरहेको छ ।

भेदभाव हटाउन सरकार गम्भीर : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले महिलाले सामाजिक वा कानूनीरुपबाट भोग्नु परेको भेदभाव हटाउन सरकार गम्भीर रहेको बताउनु भएको छ । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले सामाजिक पछौटेपन, अन्धविश्वास, कूरीति र त्यसबाट महिलाले भोग्नु परेका समस्या अन्त्यका लागि सरकारले विभिन्न प्रयास गरिरहेको उल्लेख गर्नुभएको छ ।

सरकारको विभिन्न प्रयास हुँदाहुँदै पनि गुणस्तरीय शिक्षा, आधारभूत स्वास्थ्य, रोजगारीलगायतका क्षेत्रमा महिलाको पहुँच अझै पनि न्यून भएको प्रधानमन्त्री ओलीको सन्देशमा उल्लेख छ ।

प्रधानमन्त्री ओलीको सन्देशमा राष्ट्रपति, उपराष्ट्रपतिमध्ये एक जना महिला, सभामुख, उपसभामुखमध्ये एक जना महिला, राष्ट्रियसभाको अध्यक्ष वा उपाध्यक्षमध्ये एक जना महिला प्रदेशको सभामुख, उपसभामुखमध्ये एक जना महिला राख्ने संवैधानिक प्रावधान हुनु महत्वपूर्ण फड्को भएको उल्लेख छ । यसैगरी स्थानीय तहमा प्रमुख वा उपप्रमुखमध्ये एक जना महिला राख्ने प्रावधान महिला सशक्तीकरणका लागि महत्वपूर्ण फड्को भएको र राष्ट्रपतिजस्तो महत्वपूर्ण पदमा महिला रहेको विश्वका सीमित मुलुकको सूचीमा नेपालले आफूलाई उभ्याउन सफल भएको सन्देशमा उल्लेख छ ।

नेपालको संघीय संसद्मा ३३ प्रतिशतभन्दा बढी, प्रदेशसभामा ३४ प्रतिशतभन्दा बढी र स्थानीय तहमा ४० प्रतिशतभन्दा बढी महिला प्रतिनिधि निर्वाचित हुनु विश्वकै लागि प्रेरणादायी रहेको प्रधानमन्त्री ओलीको भनाइ छ ।

महिला हकअधिकारप्राप्तिका लागि संविधान, विभिन्न अन्तर्राष्ट्रिय महासन्धिमा नेपाल पक्ष राष्ट्र भएको स्मरण गराउँदै प्रधानमन्त्री ओलीले ती सन्धिसम्झौताको पालनमा सरकार गम्भीर रहेको सन्देशमा उल्लेख छ ।

दिवसको अवसरमा शुभकामना दिंदै राष्ट्रपति विद्यादेवी भण्डारीले महिलाको हकअधिकार, समानता, सशक्तीकरण तथा महिला अधिकार सुनिश्चित गर्ने दिशामा एकीकृत पहल गर्न यस दिवसले प्रेरणा दिन सकोस् भन्ने कामना गर्नुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *