गोही गणना सकियो, बढ्ने अनुमान

भरतपुर,फागुन २३ । राप्ती र नारायणी नदीमा गरिएको गोही गणनाको काम पूरा भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले चितवन राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष, जुअलोजिकल सोसाइटी अफ लण्डन तथा हिमालयन नेचरसँग मिलेर गोही गणना गरेको हो ।

‘गणनाको काम सोमबार पूरा सकिएको छ, अब हामी तथ्याङ्क संकलनको क्रममा लागेका छौँ’ राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका इकोलोजिष्ट लक्ष्मण पौडेलले भने, ‘यसपटक गोहीको संख्या राम्रो देखिएको छ, गणक सबैले बढ्ने अनुमान गरेका छौँ ।’

अतिसंकटापन्न अवस्थामा पुगेको घडियाल गोहीको अवस्था पत्ता लगाउन नारायणी र राप्तीमा गोही गणना थालिएको हो । नारायणी नदीको देवघाटदेखि त्रिवेणीसम्म र राप्ती नदीको लोथरदेखि गोलाघाटसम्मको भागमा गोही गणना गरिएको इकोलोजिष्ट पौडलले बताए ।

‘गणनामा गोहीको बासस्थान राम्रो देखियो, गोही पनि ठाउँठाउँमा भेटियो । कुनै मरेका र रोगी भेटिएनन् । यसकारण गोहीको संख्या बढ्नैपर्छ’ गणकसमेत रहेका इकालोजिष्ट पौडेलले भने । उनले स्थानीय समुदायमा आएको चेतनाले पनि गोहीको संख्या बढ्ने अनुमान गरिएको बताए । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग गोही गणकहरुबाट आएको तथ्याङ्क संकलनमा लागेको र छिटै नतिजा आउने उनले बताए ।

चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत एवम् सूचना अधिकारी नुरेन्द्र अर्यालले यसपटक राप्ती र नारायणी नदीका क्षेत्र विस्तार गरेर गोही गणना गरिएको बताए । राप्ती र नारायणी नदीमा ११ समूह बनाएर करिब ५० जना गणकले गाही गणना गरेका थिए ।

‘एउटा खण्डमा ३ पटकसम्म गोही गणना गरिएको छ, यस्ता खण्डहरु १२ वटा बनाइएको थियो’ सूचना अधिकारी नुरेन्द्र अर्यालले भने, ‘गणना गर्दा कुनै गोही नछुटून् भनेर निकै सचेतना अपनाइएको थियो ।’ उनले तथ्याङ्कलाई झट्ट हेर्दा पनि गोहीको संख्या पक्कै बढ्नुपर्ने अवस्था देखिएको बताए ।

चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काले गणनाको क्रममा राप्ती र नारायणी नदीमा तीनवटा भाले घडियाल गोही फेला परेको बताए । उनले भने, ‘बर्दियाबाट ल्याइएको सहित राप्ती र नारायणीमा ३ वटा भोले गोही छन् ।’ भाले गोही नै नभएपछि पुस ८ गते बर्दियाबाट एउटा भाले गोही ल्याइएको थियो ।

एउटा भालेले धेरै पोथीलाई प्रजनन् गराउन सक्ने भएकाले यहाँ रहेका पोथी घडियाल गोहीलाई प्रजनन् गराउन ३ वटा भाले गोहीले पुग्ने सहायक संरक्षण अधिकृत खड्काले बताए । यसअघि सनः २०१६ मा गरिएको गणनामा राप्ती र नारायणी नदीमा १६६ वटा गोही फेला परेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *