संसदको बैठकमा शीर्ष नेताको सम्बोधन : कसले के भने

काठमाडौं, फागुन २२ । आज बसेको संसद बैठकमा दलका शीर्ष नेताहरुले सम्बोधन गरेका छन् । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता शेरबहादुर देउवा, सत्तारुढ एमालेका नेता माधव कुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सम्बोधन गरेका थिए ।

संविधान संशोधन गर्न लागेकोमा बधाई : देउवा

प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवाले संविधान संशोधन गर्न तयार भएकोमा एमालेलाई बधाई दिए ।बैठकलाई सम्बोधन गर्दै उनले संविधानलाई अझ सर्वस्वीकार्य बनाउन जरुरी रहेको बताए । एमालेतर्फ संकेत गर्दै कांग्रेस सभापति एवं संसदीय दलका नेता देउवाले हिजो संविधान संशोधन राष्ट्रहितमा छैन भन्नेहरु पनि संशोधनमा पक्षमा आउँदा खुसी लागेको बताए ।

आफ्नो नेतृत्वको सरकारले संविधान संशोधन गर्न खोजेपनि सफल नभएको स्मरण गर्दै उनले भने, ‘सरकारले त्यतातिर अघि बढ्न खोजेको सुन्दा खुशी लागेको छ । यसमा सफलता मिलोस् ।’

तर, संविधानका आधारभूत संरचनामा परिर्वतनको प्रयास नगर्न खबरदारी गरे । धेरै लामो संघर्षबाट संविधान प्राप्त भएको भन्दै उनले भने, ‘संविधानका आधारभूत संरचनामा परिर्वतन गर्ने काम नहोस्, त्यो हामीलाई स्वीकार्य हुनेवाला छैन ।’

देउवाले चुनावै गराउँदैन भन्ने गरिएको प्रशंग झिक्दै देउवाले भने ‘हुन त केपी ओलीजीले मलाई चुनाव नै गराउनुहुन्न भन्नुहुन्थ्यो तर अहिले मैले गराएकै चुनावबाट प्रधानमन्त्री बन्नु भएको छ ,उहाँलाई र उहाँको नेतृत्वको सरकारलाई बधाइ तथा सुभकामना ।’

राज्य संयन्त्र पुरै भ्रष्ट भयो : प्रचण्ड

संसद बैठकमा संबोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राज्य संरचनामा सुशासनको कमी र भ्रष्टाचार ब्याप्त रहेको भन्दै यसलाई अन्त्य नगरेसम्म विकास र समृद्धिति अघि बढ्न नसक्ने बताए । प्रचण्डले राज्य संयन्त्र भ्रष्टाचारले ग्रस्त भएको भन्दै यसलाई अन्त्य नगरेसम्म मुलुक अघि बढ्न नसक्ने बताए ।

‘सुशासन हामी आफैं भित्रबाट खोज्नुपर्छ, हाम्रो राज्य संरचनाको काम गर्ने प्रवृत्ति बिग्रेको छ’ उनले भने ‘सबैभन्दा ठूलो समस्या भ्रष्टाचार ब्याप्त छ । भ्रष्टाचारी र ठगहरुलाई कसले कसरी अन्त्य गर्ने हो ?’

प्रचण्डले नेपालमा भारत परस्त र चीन परस्त भन्ने युग पनि सकिएको दावी गरे । उनले भने ‘अब न चीन परस्त, न भारत परस्त हामी सबै नेपाल परस्त, हामी अन्तर्राष्ट्रिय समुदायसँग राम्रो सम्बन्ध राखेर देशको विकास गर्न चाहन्छौं ।’

प्रचण्डले नेपाललाई विकासको युगतिर अगाडि बढाएर विदेश गएकाा लाखौं नेपालीलाई स्वदेश फर्काउने पनि दावी गरे ।

उनले प्रधानमन्त्री ओलीले मधेसी दलसँगको छलफलमा संविधान संशोधनको लागि तयार रहेको बताउनुले सबै समुदायबीच एकताका साथ विकास र समृद्धितिर जाने सन्देश दिएको बताएका हुन् ।

देश तार्ने एउटा माझीको खोजी भइराखेको छ : नेपाल

पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले देश डुब्नै लागेको भन्दै देश डुब्न नदिन माझीको खोजी भइरहेको बताए । नेता नेपालले विभिन्न गीतका उद्धरण सम्झदै भने ‘डुब्न लागेको देशलाई बचाउन माझी खोजी भइरहेको छ । यो देशमा म त्यो मानिस खोजिरहेछु ।’

सम्वोधनका क्रममा नेता नेपालले भने, ‘अख्तियारको काम भ्रष्टाचार हेर्ने मात्रै हो, अदालतको काम बाटो ठूलो बनाउ वा नबनाउ भन्ने होइन ।’

अब सरकारले कानूनी संरचना गर्नुपर्ने सुधारका साथै भ्रष्टाचार अन्त्य गर्ने कुरामा जोड दिनुपर्ने नेता नेपालले बताए । ‘जनताले आशा भरोसा गरेका छन्, यसमा संसदले सक्रिय भूमिका खेल्नुपर्छ’

जनतामा लोकप्रिय भएकाले वामपन्थीहरुले चुनाव जितेको भन्दै एमाले नेता नेपालले वामपन्थी सरकारले लोकतन्त्र मास्छ कि भनेर नडराउन विपक्षी नेपाली कांग्रेसका नेताहरुलाई आस्वस्त पारे ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *