हेटौँडा उपमहानगरको खेलमा वडा १२ र ११ विजयी

हेटौंडा, फागुन २२ । हेटौंडा उपमहानगरपालिकाको आयोजनामा हेटौँडा–४ स्थित लोकतान्त्रिक खेलकुद मैदान (हुप्रचौर) मा जारी तेस्रो मेयर कप फुटबल प्रतियोगितामा १२ नम्बर वडा र ११ नम्बर वडाको सहीद स्मारक फुटबल टिम विजयी भएको छ । पहिलो खेलमा ५ नम्बर वडाको रुद्रेश्वर फुटबल टिमलाई २–१ गोल अन्तरले हराउँदै १२ नम्बर वडा विजयी भएको हो ।

३७ औं मिनेटमा अशोक घलानले पेनाल्टीमार्फत गोल गर्दै १२ नम्बरले अग्रता लिएको थियो । १२ नम्बरकै लागि ५९ औं मिनेटमा सुरज पाख्रिनले गोल गर्दै अग्रता दोब्बर बनाए । रुद्रश्वर फुटबल टिमको तर्फबाट दोस्रो हाफमा पाएको पेनाल्टीलाई सञ्जीव अर्यालले सदुपयोग गर्न सकेनन् ।

यू–१४ का राष्ट्रिय खेलाडी समेत रहेका अर्यालको प्रहार १२ नम्बरका गोलरक्षक सुचन लोप्चनले सजिलै रोकेका थिए । ६९ औं मिनेटमा रुद्रेश्वरका लागि एन्जल महर्जनले गोल गरे पनि हारबाट भने टार्न सकेनन् ।

खेलको म्यान अफ दी म्याच भएका १२ नम्बरका गोलरक्षक सुचन लोप्चनले भ्वाइस अफ यूथ चौकीटोलको तर्फबाट नगद १ हजारसहित प्रमाणपत्र प्राप्त गरे । दोस्रो खेलमा १४ नम्बर वडाको चुरेकालिका टिमलाई १–० गोल अन्तरले हराउँदै ११ नम्बर वडाको सहीद स्मारक टिम अघिल्लो चरणमा प्रवेश गरेको छ ।

निकै प्रतिस्पर्धात्मक खेलको ४८ औं मिनेटमा अजय क्षेत्रीले गरेको गोलले स्मारक टिम विजयी भएको हो । दुवै टिमको तर्फबाट गोल गर्ने केही राम्रा मौकाहरु निस्किएको भएपनि थप गोल भने हुन सकेन । खेलको म्यान अफ दी म्याच सहीद स्मारक टिमका गोलकर्ता अजय क्षेत्री नै घोषित भए । उनले भ्वाइस अफ यूथ चौकीटोलको तर्फबाट नगद १ हजारसहित प्रमाणपत्र प्राप्त गरे । २९ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद एक लाख ५० हजार तथा उपविजेताले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई नगद १५ हजार र विधागत उत्कृष्ट खेलाडीलाई ७ हजार ५ सय रुपैंयाँसहित ट्रफी प्रदान गरिनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *