देवघाट र लोथरमा गोही गणना

चितवन, फागुन २१ । अतिसंकटापन्न अवस्थामा पुगेको घडियाल गोहीको अवस्था पत्ता लगाउन चितवनको देवघाट र लोथर क्षेत्रमा समेत गोही गणना गरिएको छ ।

करिब एक दशकपछि सो क्षेत्रमा गोहीको गणना भएको चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिए ।

उनका अनुसार २०५५/५६ सालतिर सो क्षेत्रबाट पनि गोहीको अण्डा संकलन हुन्थ्यो । त्यसपछि विस्तारै गोही हराउँदै गयो । अहिलेको अवस्था पत्ता लगाउन स्थान थप गरेर यस पटक गोहीको गणना गरिएको अर्याल बताउँछन् ।

विगतमा चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती आसपासको क्षेत्रमा गोही गणना गर्ने गरिए पनि यसपालि भने क्षेत्र विस्तार गरेर देवघाट र लोथरमा समेत गणना गरिएको हो ।

यसअघि फागुन ११, १२ र १३ गते राप्ती र नारायणी नदीको विभिन्न ११ वटा ब्लकमा गोहीको गणना गरिएको थियो । तर अन्य सम्भावित क्षेत्रमा गोहीको अवस्था के छ भनेर पत्ता लगाउन क्षेत्र थप गरी देवघाट र पूर्वी चितवनको लोथरमा यही फागुन १८, १९ र २० गते गोही गणना गरिएको हो ।

गणनाका लागि नारायणी नदीमा देवघाटदेखि मझुवा सामुदायिक वनको सिख्रौलीघाट र पूर्व राप्ती नदीमा लोथरदेखि जिन्दगानी घाटसम्मको क्षेत्र थपिएको हो ।

देवघाट र नारायणगढ क्षेत्र गोहीका लागि राम्रो वासस्थान भए पनि मानवीय चापले गोही बस्न सक्ने अवस्था नदेखिएको अनुगमनमा सहभागी राष्ट्रिय प्रकृति संरक्षण कोषका संरक्षण अधिकृत सन्तोष भट्टराईले बताए । नारायणगढबाट केही किलोमिटर तल शिवघाटमा भने एउटा गोही भेटिएको उनको भनाइ छ । यता पूर्वी राप्ती नदी क्षेत्रमा भने चार–पाँच वटा गोही फेला परेको जनाइएको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको नेतृत्वमा राष्ट्रिय प्रकृति संरक्षण कोषले जुअलोजिकल सोसाइटी अफ लण्डन तथा हिमालयन नेचरसँग मिलेर गोही गणना गरेको हो । आइतबारसम्म गणनाको फिल्डको काम भएकाले आजदेखि डाटा संकलन र व्यवस्थापनको काम शुरु भएको छ ।

गोही छुट्न सक्ने भएकाले हरेक ब्लकमा तीन दिनसम्म दोहोर्याएर गणकहरु नदीमा खटिएका थिए । चितवनको राप्ती र नारायणी नदीमा कूल १६६ वटा गोही छन् ।

सन् २०१६ को गणनाअनुसार बर्दियाको बबई नदीमा ३१ र कर्णालीमा एक गरी नेपालमा कूल १९८ गोही छन् । प्राकृतिक वासस्थानमा घडियाल गोही लोप हुँदै गएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *