पाकिस्तानी प्रधानमन्त्रीको भ्रमण : नेपालमा सक्रिय हुने संकेत

काठमाडौं, फागुन २० । परराष्ट्रविद्हरुले इस्लामिक गणतन्त्र पाकिस्तानका प्रधानमन्त्री शहीद खकान अब्बासीको भोलि हुने दुई दिवसीय नेपालको औपचारिक भ्रमण सदभावपूर्ण भ्रमण हुने बताएका छन् ।

आईतबार रिपोर्टर्स क्लब नेपालले भ्रमणको पुर्वसन्ध्यामा आयोजना गरेको साक्षात्कारमा परराष्ट्रविद्हरुले यो भ्रमणबाट दुई देशबिचको सम्बन्ध थप प्रगाड हुने विश्वास ब्यक्त गरे ।

कुटनीतिज्ञ एवं पूर्वराजदुत हिरण्यलाल श्रेष्ठले पाकिस्तानी प्रधानमन्त्री अब्बासीको नेपाल भ्रमण दुवै देशले चाहेर हुन लागेको स्पष्ट पारेका छन् । उनले पाकिस्तान नेपालमा सक्रिय हुन चाहेको संकेत गरेको बताए । उनले थपे,‘दुवै देशले चाहेर यो भ्रमण हुन लागेको हो, खासगरि ओलीजीको चाहनामा उहाँको नेपाल भ्रमण हुन लागेको हो, पाकिस्तानले पनि नेपालमा आफूलाई सक्रिय बनाउन खोजेको हो भन्ने कुरा यो भ्रमणले संकेत गर्छ।’

ओभरसिज नेशनहरुको नेपालमा स्वार्थ देखिएको अवस्थामा पाकिस्तानले पनि ईन्ट्रेश्ट देखाउनु स्वभाविक भएको उनको टिप्पणी थियो । नेपाल–पाकिस्ता द्धिपक्षीय सम्बन्ध राम्रो बनाउन भ्रमण केन्द्रित हुने उनले विश्वास दिलाए ।

यस्तै, नेकपा एमालेका नेता एवम् परराष्ट्रविद् डा. राजन भट्टराईले प्रधानमन्त्री अब्बासीको दुई दिवसीय नेपालको औपचारिक भ्रमण सदभावपूर्ण भ्रमण हुने बताए । उनले भने,‘उहाँले हाम्रो प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेरै बधाई दिने ईच्छा व्यक्त गर्नुभएकोले उहाँ भोलि आउँदैहुनुहुन्छ, बधाई दिन आउन लाग्नुभएकोले हामी उहाँलाई स्वागत गर्छौं।’

सरकारकै नीति आर्थिक समृद्धि हाँसिल गर्ने भएकोले सोही अनुसार नेपालका विदेशमा रहेका कुटनैतिक नियोग, मन्त्रालयहरु सबैको विषय अब हाम्रो विकाससँग सम्बन्धित हुने उनले विश्वास दिलाए । नेपालको विकासको लागि आन्तरिक स्रोत र साधनले नपुग्ने भएकोले अन्र्तराष्ट्रिय सद्भाव र सहयोगको खाँचा हुने उनको भनाई थियो । उनले भने,‘यसमा हामी नजिकका छिमेकीहरुसँग धेरै सहकार्य गर्छौं।’

पाकिस्तानी प्रधानमन्त्री आब्बासीको नेपाल भ्रमणमा सार्कलाई सामूहिक रुपमा कसरी अघि बढाउन सकिन्छ भन्नेमा पनि छलफल हुने उनको संकेत थियो ।त्यस्तै भट्टराईले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले दिईसकेको बताए ।

नेपालका प्रधानमन्त्री ओली पहिले कुन देशको भ्रमणमा जाने ? भन्नेबारे अहिले कुनै टुँगो नलागेको उनले स्पष्ट पारे ।

तर, पूर्वराजदुत डा. सुरेशचन्द्र चालिसेले पाकिस्तानी प्रधानमन्त्रीको भोलिबाट हुने दुई दिने नेपाल भ्रमण नेपाल सरकारकै अनुरोधमा हुन लागेकोले यो उत्ताउलोपना भएको टिप्पणी गरे । उनले भने,‘यसले सन्तुलित कुटनीति होईन कि भन्ने शंका तथा उपशंका पैदा गरेको छ।’

नेपालको विदेश नीति कुनै एक वा दुई पार्टीको नहुने भएकोले सिँगो देशको हुने भएकोले यसमा सबै पार्टीहरुलाई उत्तिकै महत्व दिनुपर्नेमा उनले जोड दिए । उनले भने,‘वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारसँग पूर्ण बहुमत छ, तर विदेश नीति भनेको कुनै एक पार्टीको भन्ने कुरा होईन, यसमा सबै पार्टीलाई महत्व दिनुपर्छ।’

विदेश नीतिको सन्दर्भमा नेपालमा सन् १९९० देखि आजको दिनसम्म राष्ट्रिय सहमति कायम गर्न नसकिएको गुनासो पोखे । उनले भने,‘अहिले हाम्रो ५५ देशसँग द्धिपक्षीय सम्बन्ध छ, देशमा अहिले पनि विदेशी नीतिको हकमा संक्रमणकालिन अवस्था छ।’ अहिलेको सरकारले हाम्रो विदेश नीति यही हो भनेर जाँदाखेरि उत्ताउलोपन हुने उनको तर्क थियो ।

पाकिस्तानी प्रधानमन्त्री अब्बासी भोली फागुन २१ गते नेपाल आउने र २२ गते स्वदेश फर्कने कार्यक्रम छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *