भोली संघीय सांसदहरुको सपथ, यस्तो छ तयारी

काठमाडौं, फागुन १९ । संघीय संसद्को पहिलो बैठक यही फागुन २१ गते बस्दैछ । त्यसअघि सांसदहरुले भोली (२० गते) सपथ लिंदैछन् । संघीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभा सदस्यको शपथ ग्रहण अपराह्न ४ बजे र राष्ट्रियसभाका सदस्यको शपथ ग्रहण ५ बजेका लागि तय भएको छ ।

दोस्रो संविधानसभाबाट निर्मित नयाँ संविधानबमोजिम सम्पन्न प्रतिनिधिसभा र राष्ट्रिय सभा सदस्यको निर्वाचनपछि बस्न लागेको दुवै सदनको प्रथम अधिवेशनअन्तर्गत पहिलो अलग अलग बैठक यसअघि संविधानसभा बैठकस्थल रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा बस्ने गरी सम्पूर्ण तयारी गरिएको संघीय संसद् सचिवालयका प्रवक्ता डा भरतराज गौतमले जानकारी दिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा यही फागुन ८ गते नेपालको संविधानको धारा ९३ ९१०० बमोजिम गरेको आह्वानअनुसार आइतबार दुवै सदनको बैठक बस्न लागेको हो ।


दुवै सदनका सदस्यको शपथ र पहिलो बैठकको तयारी पूरा भएको जानकारी दिँदै प्रवक्ता डा गौतमले आइतबार १ बजे राष्ट्रपति भण्डारीले प्रतिनिधिसभाका ज्येष्ठ सदस्य महेन्द्रराय यादव र राष्ट्रियसभाका ज्येष्ठ सदस्य तारादेवी भट्टलाई पद तथा गोपनीयताको शपथ खुवाउने कार्यक्रम रहेको छ ।

राष्ट्रपति कार्यालयले ज्येष्ठ सदस्यको शपथ ग्रहणको तयारी सकिएको जानकारी दिएको छ । राष्ट्रपति कार्यालय शीतलनिवासमा ज्येष्ठ सदस्यले शपथ लिएपछि उनीहरुले नै प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यलाई शपथ गराउनेछन् ।

प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाको अध्यक्षको निर्वाचन नभएसम्म उनीहरूले नै बैठकको अध्यक्षता गर्ने गरी व्यवस्था मिलाइएको छ ।

प्रतिनिधिसभामा राष्ट्रिय जनता पार्टीका सर्लाही क्षेत्र नं २ बाट निर्वाचित ८० वर्षीय महेन्द्रराय यादव र राष्ट्रियसभामा नेपाली काँग्रेसका ६९ वर्षीया तारादेवी भट्ट ज्येष्ठ सदस्य छन् । राष्ट्रियसभामा मनोनीत सदस्य डा युवराज खतिवडा, रामनारायण बिँडारी र डा विमला पौडेललाई तत्कालका लागि शपथ रोक्न सर्वोच्च अदालतले फागुन १३ गते अन्तरिम आदेश दिएकाले उनीहरूको शपथ नहुने भएको छ ।

संवैधानिक व्यवस्थानुसार आफ्नो मातृभाषामा शपथ लिन चाहने सदस्यको संख्या ४४ पुगेको छ । संघीय संसद् सचिवालयका प्रवक्ता डा गौतमका अनुसार प्रतिनिधिसभामा ३८ जनाले आफ्नो मातृभाषामा शपथ लिने जानकारी गराएका छन्।

भोजपुरी, मैथिली, अवधि, तामाङ, थारु, मगर र हिन्दी भाषामा शपथ लिन चाहेको भन्दै प्रतिनिधिसभामा निर्वाचित सांसदले सचिवालयलाई जानकारी गराएका थिए । यस्तै राष्ट्रियसभाका छ सदस्यले मातृभाषामा शपथ लिन चाहेको सूचना प्राप्त भएको छ । सचिवालयले एक सूचनामार्फत मातृभाषामा शपथ लिन चाहे त्यसको जानकारी गराउन आग्रह गरेको छ ।

कुनै सदस्यले आफ्नो मातृभाषामा शपथ लिन चाहेमा त्यस्तो सदस्यले शपथको व्यहोरा आफ्नो मातृभाषामा अनुवाद गरी सोको अनुवादको प्रतिसहित तीन दिनअगावै संघीय संसद्को महासचिवलाई उपलब्ध गराउनुपर्ने कानूनी प्रावधान छ ।

संघीय संसद्को पहिलो बैठक बसेको १५ दिनभित्र प्रतिनिधिसभाका सभामुख र उपसभामुख तथा राष्ट्रियसभाका अध्यक्ष र उपाध्यक्षको निर्वाचन गरिसक्नुपर्ने संवैधानिक प्रावधान रहेको छ । सभामुख र उपसभामुख तथा अध्यक्ष र उपाध्यक्ष फरक दल र फरक लि¬ङ्गको व्यक्ति हुनुपर्ने प्रावधान छ ।

दुई दलको समर्थनमा प्रधानमन्त्रीको नियुक्ति भएकाले नियुक्तिको ३० दिनभित्र अर्थात् आगामी चैत ३ गतेभित्र प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्था छ । त्यसका लागि सचिवालयले आवश्यक तयारी गरेको प्रवक्ता डा गौतमले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *