जननायक रामप्रसाद राईलाई राष्ट्रिय विभूति घोषणा गर्न माग

काठमाडौं, फागुन १९ । विसं २००७ को प्रजातान्त्रिक जनक्रान्तिका योद्धा एवं जननायक रामप्रसाद राईको १०९औँ जन्मजयन्तीका अवसरमा स्थानीय माइतीघर मण्डलमा शुक्रबार १०९ मैनीबत्ती प्रज्वलन गरी राईको योगदानको स्मरण गरिएको छ ।

रामप्र्रसाद राई स्मृति प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष देवी घिमिरे, महासचिव देवान राई र सल्लाहकार जय छाङ्छाले विसं २००७ को क्रान्तिमा जननायक राईको महत्वपूर्ण योगदान रहेको स्मरण गर्दै सरकारले उहाँलाई यथाशीघ्र राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने माग गर्नुभयो ।

विसं १९६५ फागुन १८ गते भोजपुरको बासिखोरामा जन्मिनुभएका राई १५ वर्षकै उमेरमा विसं १९८० मा इष्टइन्डिया कम्पनीमा भर्ना हुनुभएको थियो । नौ वर्ष सैन्यसेवामा कार्यरत उहाँ पाकिस्तानको क्वेटाबाट राजीनामा दिई स्वदेश फर्किनुभएको थियो । स्वदेश फर्किएपछि नेपाली सेनामा प्रवेश गर्नुभएका राई पछि राणा विरोधी जनक्रान्तिमा होमिनुभएको थियो । सिंहदरबार विद्रोहपछि राई रहस्यमय ढंगले बेपत्ता पारिनुभएको थियो ।

दीप प्रज्वलन कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष तारादेवी राई र सल्लाहकार पारुहाङ राई, राष्ट्रपति कार्यालयका अर्थविज्ञ धनहर्क राई, भोजपुरे सेवा समाज काठमाडौँका अध्यक्ष पासाङदोर्ची शेर्पा, नेकपा(एमाले) भोजपुर–काठमाडौँ सम्पर्क मञ्चका निवर्तमान अध्यक्ष रेजीन श्रेष्ठलगायतको सहभागिता रहेकोे साहित्यकार शशि लुमुम्बुले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *