अार्इतबारसम्ममा सरकारलार्इ पूर्णता दिने तयारी

काठमाडाैं, फागुन १८ । सत्तारुढ दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रले आइतबार मन्त्रिपरिषद्लाई पूर्णता दिने गरी तयारी अगाडि बढाएका छन् । दुई दलले संघीय समाजवादी फोरमलाई समेत सरकारमा सहभागी गराएर सम्भव भए आइतबार नै सरकारलाई पूर्णता दिने तयारी गरेका हुन् ।

तीन दलबीच संविधान संशोधनमा सहमति गर्दै सरकारमा सहभागी हुने विषयमा हस्ताक्षर गर्ने तयारीसाथ शनिबारका लागि बैठक बोलाइएको प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीको सचिवालयले जनाएको छ । सत्तारुढ दल र फोरमबीच बिहीबार नै सहमतिमा हस्ताक्षर गर्ने र फोरम सरकारमा सहभागी हुने बताइएको थियो । तर, फागु पर्वमा नेताहरू व्यस्त बनेपछि तीन दलबीच बिहीबार थप छलफल हुन सकेन ।

बैठकमा फोरमले पार्टीभित्र सल्लाह गर्न बाँकी रहेको बताएपछि तीन दलबीच शनिबार पुनः बैठक बसेर टुंग्याउने समझदारी भएको छ । ‘माओवादी अध्यक्ष पुष्पकमल दाहाल र फोरम अध्यक्ष उपेन्द्र यादव दुवै जना अलिक हतारमा हुनुहुन्थ्यो, अध्यक्ष यादवले पार्टीभित्र पनि गृहकार्य गर्ने बताएपछि शनिबार पुनः बैठक बसेर सहमति जुटाउने समझदारी भएको छ,’ प्रधानमन्त्रीको सचिवालयले भन्यो । प्रधानमन्त्री निवास बालुवाटारमा ओली, माओवादी अध्यक्ष दाहाल, फोरम अध्यक्ष यादवबीच छलफल भएको थियो । दाहाल र यादव बिहीबार नै उपत्यकाबाहिर जानुपर्ने भएपछि आवश्यक छलफलबिनै बैठक सकिएको थियो ।

यसअघि ओली, दाहाल र यादवबीच बुधबार पनि छलफल भएको थियो । संविधान संशोधनका विषयमा तीन दल सकारात्मक छन् । तीन दलबीच आपसी समझदारीमा संविधान संशोधन गर्ने सहमति जुटिसकेको नेताहरूको दाबी छ । तर, मन्त्रालय बाँडफाँटको विषय भने अन्तिम टुंगो लाग्न बाँकी छ । फोरमले तीन मन्त्रालय माग गरेको छ भने एमाले र माओवादीले भने एक मन्त्री र एक राज्यमन्त्री दिन सकिने बताएका छन् । बालुवाटारमा बिहीबार बसेको बैठकमा पनि मन्त्रालय बाँडफाँटको विषयमा कुरो अड्किएको थियो ।

एमाले–माओवादीले फोरमलाई दुईवटा मन्त्रालय दिने गरी आन्तरिक तयारी गरेका छन् । तर, फोरमले तीनवटा मन्त्रालयमा अड्डी लिएको छ । एक माओवादी नेताका अनुसार सत्तारुढ दलले एउटा मात्र मन्त्रालय र एक राज्यमन्त्री दिन सक्ने अडान राख्नु र फोरमले तीन मन्त्रालय माग्नुले अन्तिममा २ मन्त्रालयमा सहमति हुने सम्भावना रहेको बताउँछन् । यसअघि एमाले र माओवादी केन्द्रले क्रमशः १०–७ मन्त्रालय बाँडफाँट गरेका थिए ।

फोरम सरकारमा सहभागी हुने अवस्थामा उनीबीच एकएक मन्त्रालय छोड्ने सहमति भएको छ । एमाले नेता सुवासचन्द्र नेम्वाङले फोरमसँग सकारात्मक ढंगले छलफल भइरहेकाले अब तीन दलबीच संविधान संशोधनलगायत विषयको सहमतिमा हस्ताक्षर भएलगत्तै फोरमसहितको सरकार बन्ने बताए । ‘हामीबीच छलफल अत्यन्तै सकारात्मक रूपमा नै भइरहेको छ,’ उनले भने, ‘तीन दलबीच सहमतिमा हस्ताक्षर भएलगत्तै अब सरकारलाई पूर्णता दिने तयारी भइरहेको छ ।’ फोरमलाई सरकारमा सहभागी गराउन एमाले र माओवादीले सरकार विस्तारलाई रोकेर राखेका छन् ।

एमाले अध्यक्ष ओली ३ फागुनमा प्रधानमन्त्रीमा चयन भएका थिए । सोही दिन उनले दुई जना मन्त्रीलाई समेटेर मन्त्रिमण्डल विस्तार गरेका थिए । १४ फागुनमा प्रधानमन्त्री ओलीले दोस्रोपटक माओवादीका दुई र एमालेका दुई मन्त्री थप गरेका थिए । फोरम सरकारमा आउन सकारात्मक बनेपछि मन्त्रिपरिषद्लाई पूर्णता दिने कार्य रोकेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *