विश्वकप छनोटको स्टार १० खेलाडीको सूचीमा सन्दीप लामिछाने

काठमाडौं, फागुन १८ । फागुन २० देखि जिम्बावेमा सुरु हुने आइसिसी एकदिवसीय विश्वकप छनोटका १० ‘स्टार’ खेलाडीको नाम सार्वजनिक गरिएको छ। आइसिसीले बिहीबार सार्वजनिक गरिएको स्टार खेलाडीको सूचीमा नेपालका युवा लेग स्पिनर सन्दीप लामिछाने पनि परेका छन्।

स्टार १० खेलाडी यस्ता छन् :-

रोभ्मान पावेल (वेस्ट इन्डिज) 
वेस्ट इन्डिजका अलराउन्डर पावेलले १७ एकदिवसीय खेल खेलेका छन्। सन् २०१६ मा श्रीलंका विरुद्धको खेलमा डेब्यु गरेका उनले पहिलो खेलमै एक विकेट र अर्धशतक प्रहार गरका थिए। २४ वर्षीय पावेलले आन्द्रे रसेलको अनुपस्थितिमा वेस्ट इन्डिजमा प्रभाव पर्ने विश्वास गरिएको छ। क्यारेबियन प्रिमियर लिगमा उनले उत्कृष्ट प्रदर्शन गर्दै सबैको ध्यान खिँचेका थिए। डेथ ओभरमा उत्कृष्ट बलिङ गर्ने उनी ठूला सर्ट प्रहार गर्न माहिर मानिन्छन्।

सन्दीप लामिछाने (नेपाल)
१७ वर्षीय लेग स्पिनर लामिछानेले गत महिना इन्डियन प्रिमियर लिग (आइपिएल) टिम दिल्ली डेयरडेभिल्समा आवद्ध हुँदै इतिहास बनाएका थिए। लगत्तै भएको आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ मा १७ विकेट लिँदै सन्दीप म्यान अफ दि सिरिज भएका थिए। प्रतियोगिताको युवा खेलाडी मध्ये सबैभन्दा बढी चर्चा पाएका सन्दीप नेपालको मुख्य हतियार हुन्।

सन्दीपले आइसिसीलाई दिएको अन्तर्वार्तामा आफु नामको पछाडि नलाग्ने बताएका छन्। ‘म नामको पछाडि लाग्दिन,’ सन्दीपले आइसिसीलाई भनेका छन्,’जहाँ गएपनि म मिहिनेतमा विश्वास गर्छु।’  उनले आफ्नो यात्रा लामो भएकाले देशको नाम उच्च पार्न खेल्ने बताए।

पाउल स्टलिङ (आयरल्यान्ड)
टप अर्डर ब्याट्सम्यान स्टलिङ भरपर्दा ब्याट्सम्यान हुन्। विशेषगरी उनी पावरप्लेमा रन बटुल्न माहिर मानिन्छन्। ३४.८० औषत भएका उनीले अहिलेसम्म ६ अन्तर्राष्ट्रिय सतक र १५ अर्धशतक प्रहार गरिसकेका छन्। स्ट्राइक रेट ९०.८७ भएका उनले अहिलेसम्म ९१ एकदिवसीय खेल खेलिसकेका छन्। उनले हङकङ विरुद्धको वार्मअप खेलमा १ सय २८ बलमा १ सय ५६ रन प्रहार गरेका थिए।

रसिद खान (आफगानिस्तान) 
अफगानिस्तानका रसिद खान छनोट प्रतियोगिताका उच्च कोटीका खेलाडी हुन्। एकदिवसीय वरियताका नम्बर एक बलर खानले पछिल्ला ३७ खेलमा ८६ विकेट लिएका छन्। जिम्बावे विरुद्धको पछिल्लो सिरिज अफगानिस्तानले ४–१ ले जित्दा उनले उत्कृष्ट प्रदर्शन गरेका थिए। खानको गुग्ली बलिङ अगाडी संसारका दिग्गज ब्याट्मस्यान पनि डराउने गरेका छन्।‍

केल कोइटजर (स्कटल्यान्ड) 
स्कटल्यान्डका भरपर्दा ब्याट्सम्यान केल कोइटजरले ४३ एकदिवसीय खेल खेल्दा उत्कृष्ट ब्याटिङको नमुना प्रस्तुत गरिसकेका छन्। उनले ४३.०७ को औसतमा रन बनाएका छन्। सन् २०१५ मा बंगलादेश विरुद्ध उनले शतक बनाउने क्रममा १ सय ५६ रन बनाएका थिए। ३३ वर्षीय केलबाट छनोट प्रतियोगितामा पनि स्कटल्यान्डले ठूलै आसा गरेको छ।

अन्य खेलाडी 
इभिन लेविस (वेस्ट इन्डिज) 
मुजिव उर रहमान (अफगानिस्तान)
रायन टेन डोजचाटे (नेदरल्यान्ड्स)
सिकन्दर राजा (जिम्बावे)
असद भाला (पपुवा न्युगिनी)

छनोट प्रतियोगितामा नेपाल समूह ‘बी’मा छ। समूहमा नेपाल र आयोजक जिम्बावेसँगै स्कटल्यान्ड, अफगानिस्तान र हङकङ छन्।

डिभिजन–२ मा दोस्रो हुँदै एकदिवसीय विश्वकप क्रिकेटको छनोट प्रतियोगितामा स्थान बनाएको नेपालले पहिलो खेल फागुन २० गते आयोजक जिम्वाबेसँग खेल्नेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *