दावादोर्जे लामाले मन्त्री बनेपछि केके गरे प्रतिबद्धता ?

भरतपुर, फागुन १७ । भरतपुर चितवन क्षेत्र नम्बर १ प्रदेश १ बाट निर्वाचित भएका दावादोर्जे लामा प्रदेश नम्बर ३ को भूमिसुधार, कृषि तथा सहकारी मन्त्री बनेका छन् । उनले संघीय संरचना व्यवस्थापनमा चितवनबाट पहिलो मन्त्री बन्ने अवसर पाएका हुन् ।

लामालाई प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले बुधबार साँझ अस्थायी प्रदेश मुकाम हेटौंडामा सपथ खुवाएका थिए । लामासहित अरुण नेपाल, (उद्योग मन्त्री) कैलाश ढुंगेल (अर्थ मन्त्री) र युवराज दुलालले (सामाजिक विकास मन्त्री) समेत शपथ लिएका छन् । मुख्यमन्त्री पौडेलको नेतृत्वको मन्त्रिपरिषद् सात सदस्यीय बनेको छ । यसअघि नै आन्तरिक मामिलामा माओवादीका शालिकराम जमरकट्टेल र भौतिक पूर्वाधार मन्त्रीमा एमालेको केशव स्थापित नियुक्त भइसकेका छन् ।

प्रदेश ३ को भूमिसुधार, कृषि तथा सहकारी मन्त्रीको सपथपछि दावादोर्जे लामाले कुराकानीमा खुसी सँगसँगै जिम्मेवार थपिएको र चुनौती पनि रहेको बताए । उनले भने, ‘चितवनले पनि प्रदेशमा मन्त्री पाएको छ, यो मेरोमात्र खुसी नभई जिल्लावासीकै खुसी हो ।’ उनले आफूमाथि थप जिम्मेवार आएको र ती जिम्मेवार पूरा गर्न थुप्रै चुनौतीहरु रहेको बताए ।

मन्त्री लामाको राजनीति यात्रा चितवनको पहाडी क्षेत्र कोराकबाट सुरु भएको हो । उनी २०३५ सालमा नेकपा माक्सवादीको सदस्य बनेसँगै उनको राजनीति कोर्स सुरु भएको हो । उनको पार्टीको पहिलो ढोका नेपाल कम्युनिस्ट पार्टी माक्सवादीले खोलेको हो ।

मन्त्री लामा २०३७ सालमा मोटो मसालमा रहेर सक्रिय भए । २०३९ सालमा तत्कालीन मालेको गाउँ कमिटी कोराकको सचिव भए । २०४० सालमा सिमान्त पार्टी कमिटीको मकवानपुर र चितवनको अध्यक्ष भएर काम गरे । एकपछि अर्को जिम्मेवारी थपिँदै गएपछि उनलाई २०४७ सालमा नेकपा एमाले चितवनको जिल्ला कमिटी सदस्य भएर काम गर्ने अवसर मिल्यो ।

१५ वर्ष उनले एमाले जिल्ला कमिटीमा रहेर सक्रियपूर्वक काम गरे । नारायणी अञ्चल कमिटीमा रहेर १० वर्ष काम गरेका लामा २०५४ सालमा जिल्ला विकास समितिको सदस्यसमेत भएका थिए । २०६५ सालमा राष्ट्रिय प्रतिनिधि परिषद्को सदस्य भएका लामा त्यही सालदेखि गुम्बा विकास समितिको मध्यमाञ्चलको संयोजक भएका थिए ।

२०७० सालमा सुकुमबासी समस्या समाधान आयोगको चितवनका अध्यक्षसमेत भएका लामा २०७४ सालमा चितवन क्षेत्र नम्बर १ को ‘क’ बाट प्रदेश सांसदमा निर्वाचित भए । हाल उनी प्रदेश ३ को भूमिसुधार कृषि तथा सहकारीमन्त्री भएका छन् ।

लामा संघीय संरचनापछि चितवनबाट नेतृत्व गर्ने पहिलो प्रदेशमन्त्री भएका छन् । यसअर्थमा पनि उनलाई भाग्यमानी मन्त्री मानिन्छ । यसअघि केन्द्र सरकारमा अर्थमन्त्रीमा चितवन क्षेत्र नम्बर १ बा निर्वाचित भएका सुरेन्द्र पाण्डेको पनि चर्चा थियो । तर यो चर्चा पूरा हुन सकेन ।

चितवनबाट प्रदेशमन्त्रीमा लामाले बाजी मार्न सफल भए । संघीय संरचनाको कार्यान्वयनको चरणमा लामा प्रदेशमन्त्री बन्ने भाग्यमानी नेता भएका छन् । उनले चितवनको समग्र विकासमा लाग्ने प्रतिबद्धता गरेका छन् । पूर्वीचितवनका खोलाहरुलाई तटबन्ध गर्ने, भूमिका समस्याहरुलाई वैज्ञानिकीकरण तरिकाले समाधान गर्ने प्रतिबद्धता गरेका छन् ।

यसैगरी मन्त्री लामाले देवघाटलाई धार्मिक क्षेत्रको रुपमा विश्वमाझ चिनाउने, लोथरदेखि सौराहासम्म ड्याग निर्माण गर्ने, पूर्वी चितवनलाई पर्यटकीय गन्तव्य बनाउने, भरतपुरलाई मेडिकल सिटी बनाउने, कृषि क्षेत्रलाई आधुनिकीकरण गर्नेलगायतका प्रतिबद्धता गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *