संघीय संसदको अन्तरिम कार्यविधि पहिलो बैठकले पारित गर्ने

काठमाडौँ, फागुन  १७ ।  संघीय संसद् बैठक सञ्चालनका लागि ‘संसद नियमावली’ नबनुन्जेलसम्म आवश्यक पर्ने अन्तरिम कार्यविधि संसदको पहिलो बैठकले पारित गर्ने भएको छ ।

संघीय संसद सचिवालयले संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दल नेकपा ९एमाले०, नेपाली कांग्रेस, नेकपा ९माओवादी केन्द्र०, संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालका प्रतिनिधिसँग बुधबार गरेको छलफलमा दुवै सदनको पहिलो बैठकबाट सम्बन्धित अन्तरिम कार्यविधि पारित गर्ने सहमति भएको हो ।

छलफलमा संसद बैठकको पहिलो दिनको कार्यसूची बनाउने र त्यसपछिका बैठकको तयारीबारे सहमति बनेको सचिवालयका प्रवक्ता डाक्टर भरतराज गौतमले जानकारी दिनुभयो । संसद नियमावली तयार नहुन्जेलसम्मका लागि उक्त कार्यविधिका आधारमा दुवै सदनका बैठक सञ्चालन हुनेछन् ।

सचिवालयले दलका प्रतिनिधिलाई बुधबार अन्तरिम कार्यविधिको मस्यौदा उपलब्ध गराएको र दलहरूले त्यसमा आवश्यक सुझावसहित यही फागुन २० गते १० बजे पुनः बस्ने सर्वदलीय बैठकबाट अन्तिम रुप दिने सहमति भएको बैठकमा सहभागी कांग्रेस नेत्री डा डिला संग्रौलाले बताउनुभयो । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा संविधानको धारा ९३ ९१० बमोजिम फागुन २१ गते अपराह्न ४ बजेका लागि दुवै सदनको बैठक आह्वान गर्नुभएको छ ।

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक फागुन २१ गते एउटै समयमा सम्बन्धित सदनका सभाहलमा बस्दैछ । फागुन २० गते दुवै सदनका ज्येष्ठ सदस्यले अन्य सदस्यलाई शपथ गराउनुहुनेछ । त्यसअघि दुवै सदनका जेष्ठ सदस्यलाई फागुन २० गते दिउँसो १ बजे शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ ख्वाउने निश्चित भएको एमाले नेता भानुभक्त ढकालले जानकारी दिनुभयो ।

प्रतिनिधिसभामा राजपा नेपालका सर्लाही क्षेत्र नम्बर २ बाट निर्वाचित ८० वर्षीय महेन्द्रराय यादव र राष्ट्रियसभामा कांग्रेसका ६९ वर्षीया तारादेवी भट्ट जेष्ठ सदस्य हुनुहुन्छ । सभामुख र अध्यक्षको निर्वाचन नभएसम्म उहाँहरूले नै बैठकको अध्यक्षता गर्नुहुनेछ ।

संविधानअनुसार संसदको पहिलो बैठक बसेको १५ दिनभित्र प्रतिनिधिसभाका सभामुख र उपसभामुख तथा राष्ट्रियसभाका अध्यक्ष र उपाध्यक्षको निर्वाचन गर्नेबारे समेत छलफल भएको छ । त्यस्तै प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रतिनिधिसभामा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । सोहीअनुसार सचिवालयले बैठकमा दलहरूको ध्यानाकर्षण गराएको छ ।

दलका प्रतिनिधिहरूले उल्लिखित कार्यसँगै राष्ट्रपतिको निर्वाचनसम्मका तयारीका लागि सचिवालयले गृहकार्य गरोस् भन्दै आगामी बैठकमा त्यसबारेमा निर्णय गर्ने जनाएका छन् । फागुन २० गते प्रतिनिधिसभाका सदस्यको शपथ अपराह्न ४ बजे र राष्ट्रियसभा सदस्यको शपथ अपराह्न ५ बजेका लागि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा तोकिएको छ ।

शपथमा सदस्यहरूलाई राष्ट्रिय पोशाक एवं राष्ट्रियता तथा संस्कृति झल्कने पोशाक निर्धारण गरिएको छ । साथै सदस्यहरूलाई नागरिकता वा निर्वाचित प्रमाणपत्रको प्रतिलिपिसहित बैठकमा उपस्थितिका लागि सूचित गरिएको सचिवालयले जनाएको छ ।

बैठकमा एमालेका सुवास नेम्वाङ, काँग्रेसका डा मीनेन्द्र रिजाल, माओवादी केन्द्रका कृष्णबहादुर महरा, राजपाका यादवलगायतका नेता सहभागी हुनुहुन्थ्यो ।

संसदको तल्लो सदन प्रतिनिधिसभामा २७५ र माथिल्लो सदन राष्ट्रियसभामा ५९ सदस्य छन् । प्रतिनिधिसभाको निर्वाचन गत मंसिर १० र २१ मा दुई चरणमा भएको थियो भने राष्ट्रियसभाको निर्वाचन गत माघ २४ मा सम्पन्न भएको थियो ।
रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *