समाचार ‘प्रिसेन्सरसीप’ विरुद्ध उभिने महासंघको दृढता

काठमाडौँ, फागुन १६ । नेपाल पत्रकार महासंघले सर्वोच्च अदालतले कान्तिपुर दैनिकविरुद्ध चलाइरहेको मानहानीको मुद्दामाथि दिएको आदेश प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको मान्यताविपरीत भएकाले त्यसलाई सच्याउन आग्रह गरेको छ ।

महासंघले सञ्चारमाध्यमलाई कुनै पनि निकायबाट समाचार प्रकाशन, प्रसारण गर्नुपूर्व लगाइने बन्देज ‘प्रिसेन्सरसीप’ हुने भन्दै त्यस्तो बन्देजका विरुद्ध उभिने दृढता व्यक्त गरेको छ ।

महासंघका महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्ति अनुसार, “पत्रकार महासंघ लोकतन्त्र, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा दृढतापूर्वक उभिँदै आएको छ, लोकतान्त्रिक व्यवस्थामा सञ्चारमाध्यममा प्रकाशित, प्रसारित सामग्रीले अदालतको अवहेलना हुनसक्दैन भन्ने महासंघको प्रष्ट धारणा रहेको छ ।”

“सञ्चारमाध्यममा कुन सामग्री प्रकाशन तथा प्रसारण गर्ने वा नगर्ने विषय उसको संविधान प्रदत्त अधिकार हो, नेपालको संविधान २०७२ ले पूर्ण प्रेस स्वतन्त्रता सुनिश्चित गरेबाट आम सञ्चारको हक र महत्व स्पष्ट हुन्छ” विज्ञप्तिमा उल्लेख  गरिएकाे छ । साथै महासंघ पत्रकारको पेशागत सुरक्षा, सम्पादकीय स्वतन्त्रता र सञ्चारमाध्यमको आचारसंहिता पालनाप्रति सबै सञ्चारमाध्यमको सजगता र प्रतिबद्धताप्रति विश्वस्त रहेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *