सिरियाको युद्ध क्रुर बनेकाे राष्ट्रसंघको ठहर, पुनः युद्धविराम गर्न आग्रह

संयुक्त राष्ट्रसंघ, फागुन १६ । सिरियाको राजधानी दमासकसको नजिकै रहेको गुटा नगरमा जारी आक्रमण अत्यन्तै क्रुर रहेको र यसबाट सयौँ सर्वसाधारण र बालिबालिका पनि परेको भन्दै संयुक्त राष्ट्रसंघले तत्कालै युद्धविरामको लागि पुनःआग्रह गरेको छ ।

उक्त क्षेत्रमा चार लाख सर्वसाधारण हिंसात्मक युद्धको चपेटामा परेका छन् । उनीहरुको उद्धारका लागि कुनै पहल सुरु भएको छैन भने आवश्यक मानवीय सहायता समेत पुर्याउन सकिएको छैन ।

दमासकस र मस्कोको संयुक्त सहभागीतामा गुटा सहरमा भएको हिंसात्मक हवाई कारबाहीलाई स्थगित गरी कम्तीमा ३० दिनका लागि युद्धविराम गर्न संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले प्रस्ताव गरी मतदान समेत गरेको थियो ।

सुरक्षा परिषदमा भएको छलफलपछि तत्काल युद्धविराम गर्न संयुक्त राष्ट्रसंघका महासचिव गुटेरसले केही दिनअघि मात्र आग्रह गरेका थिए । यहाँका नागरिकलाई आक्रान्त बनाएकोले योे अवस्थाको अन्त्यगरी सिरियाको पूर्वी गुटा क्षेत्रमा तत्काल युद्धविराम गर्न उनले माग समेत गरेका थिए ।

तर राष्ट्रसंघको यो प्रस्ताव बमोजिम यहाँ युद्धविरामको लागि तयारी भने भएको छैन । बरु मङ्गलबारदेखि यहाँका विद्रोहीहरुमाथिको हमला दिनमा ५ घन्टाका लागि मात्र रोकिएको सिरियाली सेनाको भनाई आएको छ ।

सिरियाको पूर्वी भागमा पर्ने गुटा नगरमा गत एक हप्ताभन्दा लामो समयदेखि जारी रहेको भीषण हमलामा क्लोरिन ग्याससमेत प्रयोग गरेको एउटा चिकित्सक समूहले जानकारी दिएको छ ।

यस विषयमा सिरियाको कुनै प्रतिक्रिया आएको छैन । हाल सिरियामा जारी हवाई हमलाको भने विश्वव्यापी निन्दा भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *