आँपटारी–देवघाट सडक विस्तार, वनले दियो रुख काट्ने अनुमति

देवघाट, फागुन १६ । जिल्ला वन कार्यालय चितवनले आँपटारी–देवघाट सडक विस्तारको क्रममा अवरोध सिर्जना गरेका केही रुखहरु काट्न अनुमति दिएको छ ।

सडक विस्तारको क्रममा अवरोध गर्ने रुखहरु काट्ने अनुमति नदिँदा देवघाट क्षेत्र विकास समितिले विस्तारको प्रक्रिया अघि बढाउन पाएको थिएन । वनले रुख काट्ने अनुमति दिएसँगै सो सडक दुई लेनको बनाउने प्रक्रिया अघि बढेको छ ।

‘आँपटारी–देवघाट सडक विस्तारका क्रममा अवरोध पु¥याउने रुखहरु काट्नलाई वन, प्रशासन, महानगरलगायतको सरोकारवाला बैठकले अनुमति दिएको छ’ जिल्ला वन कार्यालय चितवनका सूचना अधिकारी कृष्णप्रसाद पौडेलले भने । उनका अनुसार सडक डिभिजन कार्यालयले रुख काटेर सडक विस्तारको प्रक्रिया अघि बढाउन सक्छ ।’

देवघाट पुग्ने आँपटारीको सडक साँघुरो भएको हुनाले देवघाट क्षेत्र विकास समितिले यो सडकलाई दुई लेनको बनाउन प्रक्रिया अघि बढाएको हो । आँपटारी देवघाट सडकको विस्तार गर्दा सबैभन्दा बढी रुख ढ्याग्रे खोलामा काटिने देखिएको छ । उक्त ठाउँमा कल्भर्ट हाल्न र रिटेनिङ वाल लगाउन पर्ने भएकाले यहाँ बढी रुख काटिने देवघाट क्षेत्र विकास समितिका अध्यक्ष टंकनाथ पौडेलले बताए । कल्भर्ट हाल्न र रिटेनिङ वाल लगाउन ५० लाख रकम विनियोजन गरिएको अध्यक्ष पौडेलको भनाइ थियो ।

तत्काल वनले रुख काट्ने अनुमति नदिँदा सडक विस्तारको काम अघि बढ्न नसके पनि अब काममा ढिलाइ नहुने उनले बताए । ‘सडक विस्तारको लागि ईआईए पनि सम्पन्न भएको छ । भौतिक तथा यातायात मन्त्रालयले बजेट विनियोजन पनि गरिसकेको छ’ अध्यक्ष पौडेलले भने, ‘कामले अब तीव्रता पाउँछ, सडकमा परेका रुखहरु काटिन सुरु भइसकेको छ ।’

चितवन तर्फबाट धार्मिक स्थल देवघाट जाने चार सडकमध्ये सबैभन्दा बढी चल्तीको सडक हो आँपटारी–देवघाट सडक । पूर्व तथा पश्चिमबाट आएका भक्तजनहरु यही सडकबाट पवित्र धार्मिकस्थल देवघाट पुग्ने गर्छन् । देवघाटवासी यी सडकबाट मुख्य बजार नारायणगढ आउने गर्छन् । साँघुरो अवस्थामा रहेको यो सडकमा हाल एउटा मात्र गाडी पास हुन्छ । साँघुरो सडकका कारणले दुर्घटना पनि बढाएको हुनाले सडक विस्तार गर्न जरुरी रहेको स्थानीय बताउँछन् ।

अध्यक्ष पौडेलका अनुसार आँपटारी देवघाट सडक विस्तार गर्दा ५० भन्दा बढी विभिन्न जातका रुखहरु काटुनुपर्छ । आँपटारीदेखि वागेश्वरीसम्म कुनै रुख पनि काट्न नपर्ने त्यसपछिको भागमा केही रुखहरु काट्नुपर्ने पौडेलले बताए । देवघाटको पुल नजिकको बसपार्कलाई ढलान गर्नका लागि पनि प्रक्रिया अघि बढेको देवघाट क्षेत्र विकास समितिले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *