बागलुङमा चौबीस हजारको स्वास्थ्य बीमा

बागलुङ, फागुन १६ । दुई वर्षको अवधिमा यहाँका पाँच हजार १७२ परिवारका २४ हजार ३५५ जनाको स्वास्थ्य बीमा गरिएको छ । स्वास्थ्य बीमा कार्यक्रम लागू भएयता १४ हजार ५३० जनाले उपचार सेवा लिएका छन् । स्वास्थ्य बीमा बोर्डका अनुसार अति गरिबमा सूचीकृत ५४४ परिवारका दुई हजार ८४५ जनाको निःशुल्क बीमा गरिएको छ ।

दायित्व रकम तिर्न नसक्ने परिवार बीमा कार्यक्रमबाट छुटेपछि निःशुल्क गरिएको हो । जनसंख्याको ठूलो हिस्सा बीमासँग अझै जोडिएको छैन । बोर्डले जिल्लाभर बीमाको पहुँच विस्तार गर्ने लक्ष्य लिएको छ ।

दर्ता अधिकारी जमुनादेवी सापकोटाका अनुसार ६० भन्दा बढी दर्ता सहयोगी जिल्लाभर परिचालित छन् । पछिल्लो संरचनाअनुसार सबै वडामा दर्ता सहयोगी खटाउने तयारी भइरहेको छ । “दर्ता सहयोगी गाउँगाउँ पुगेर बीमा गराउन खट्नुभएको छ,” उहाँले भन्नुभयो “कार्यक्रमलाई तल्लो तहसम्म विस्तार गर्नुपर्ने आवश्यकता छ ।”

बीमाको महत्वबारे बुझाएर परिवार र तिनका सदस्यको बीमा गराउनु चुनौतीपूर्ण रहेको दर्ता सहयोगी बताउँछन् । पहिलो वर्ष बीमा गरेका कतिपय बिमितले अर्को वर्ष नवीकरण नगरेका उदाहरण पनि बाहिर आउन थालेका छन् । बीमा गर्नेको संख्या अपेक्षा गरेभन्दा कम रहेको बोर्डका प्रदेश नं ४ का संयोजक जीवलाल खरेलले बताउनुभयो ।

जनस्तरमा स्वास्थ्य बीमाको महत्व र आवश्यकताबारे सचेतना कम पुगेको उहाँको अनुभव छ । “हामीले मेहनत गर्दा पनि बीमामा जोडिने संख्या कम छ,” उहाँले भन्नुभयो “अति गरिब परिवारलाई निःशुल्क गरेपछि अहिले पहुँच बढ्दो छ ।”

सरकारले गरिब परिचयपत्र छिटो उपलब्ध गराउन सके गरिब तथा विपन्न परिवारले सहुलियत पाउने उहाँको भनाइ छ । स्वास्थ्य बीमाको प्रभावकारिता बढाउन सकिए बीमामा स्वतः आकर्षण बढ्ने देखिन्छ । बीमा गरेका सदस्यले सामान्यदेखि जटिल प्रकारका स्वास्थ्य समस्यामा उपचार सेवा पाइरहेका छन् ।

जिल्लामै र बाहिरसमेत गरी तोकिएका स्वास्थ्य संस्थाबाट उपचार सेवा उपलब्ध हुने गरेको छ । बीमाको लागि प्रत्येक परिवारले वार्षिक रु दुई हजार ५०० बीमा रकम बुझाउनुपर्ने व्यवस्था छ । सोबापत पाँच जनासम्मको परिवारले रु ५० हजारसम्मको उपचार सेवा निःशुल्क पाउने गरेका छन् । पाँच जनाभन्दा बढी सदस्य रहेमा प्रतिसदस्य रु ४२५ का दरले थप रकम तिर्नुपर्ने प्रावधान छ ।

“हरेक वर्ष रु दुई हजार ५०० तिरेर सदस्यता नवीकरण गर्नुपर्छ, उक्त रकम पछि फिर्ता हुँदैन,” संयोजक खरेलले भन्नुभयो “सरकारले निःशुल्क दिने औषधिबाहेक कार्यक्रमले तोकेका औषधि किन्दा १५ प्रतिशत रकम सदस्य स्वयंले तिर्नुपर्छ ।”

हाल प्रदेश नं ४ का पाँच जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालित छ । बागलुङमा दुई वर्षअघि र कास्की, म्याग्दी, गोरखा र तनहुँमा यसै वर्ष स्वास्थ्य बीमा कार्यक्रम शुरु भएको हो । सरकारले शुरुमा बागलुङ, इलाम र कैलालीमा स्वास्थ्य बीमा कार्यक्रम लागू गरेको थियो । स्वास्थ्य सेवामा नागरिकको सहज पहुँच स्थापित गर्न देशभर स्वास्थ्य बीमा कार्यक्रम लागू गर्ने सरकारको योजना छ । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *