किन हुन्छ महिला र पुरुषबीच ‘अर्गाज्म ग्याप’ ?

विभिन्न अध्ययनमा यौन सम्बन्धका क्रममा महिलाले कम चरम आनन्द (अर्गाज्म) प्राप्त गर्ने देखिएको छ। यौन आनन्द प्राप्त गर्ने सवालमा महिला र पुरुषबीच यो अन्तर (अर्गाज्म ग्याप) किन हुन्छ भन्ने विषयमा विशेषज्ञहरुले विभिन्न राय दिएका छन्।

यौनमा चरम आनन्द प्राप्त गर्ने मामिलामा विश्वभरका करिब ४० प्रतिशत महिलाले ‘सेक्सुअल डिस्फंक्सन’को अनुभव गर्दछन्।

‘समलिंगी, द्वीलिंगी, विपरीतलिंगी, सबै प्रकारका पुरुषले सबै प्रकारका महिलालेभन्दा बढी यौन आनन्द प्राप्त गर्छन्,’ ‘ह्युमन सेक्सुआलिटी’ बारेका अध्येता च्यापम्यान युनिभर्सिटीका सहप्राध्यापमक डेविड फ्रेडरिक भन्छन्, ‘विपरीतलिंगी महिलाभन्दा समलिंगी (लेस्बियन) महिलाले बढी चरमानन्द प्राप्त गर्छन्। प्रत्येक महिना दर्जनौँ म्यागेजिन, अनलाइन लेखहरुले महिलालाई सहज रुपमा अर्गाज्म प्राप्त गर्न सहयोग पुग्ने तरिका सिकाउँछन्। धेरै मानिसका लागि अर्गाज्म यौन सम्बन्धको महत्वपूर्ण पक्ष हो।

अर्गाज्म ग्यापको कारण सामाजिक–साँस्कृतिक वा क्रमविकाससँग सम्बन्धित हुनसक्ने फ्रेडरिकको भनाइ छ।

‘पुरुषमा भन्दा महिलामा बढी शारीरिक असन्तुष्टि हुन्छ। त्यसकारण यसले उनीहरुको यौन जीवनलाई बढी प्रभावित पार्छ। यौन अनुभवभन्दा अर्गाज्ममा बढी ध्यान केन्द्रित गर्दा यौन सन्तुष्टि र अर्गाज्म प्राप्त गर्ने क्षमतालाई पनि प्रभावित गर्छ,’ उनले भने।

‘यौनको पहल र यौन चाहना प्रकट गर्ने सवालमा महिलाविरुद्ध बढी नै नकारात्मक छवि विद्यमान छ,’ उनले थपे, ‘तर हामीलाई थाहा भएको कुरा के हो भने धेरै दम्पत्तीमा अनमेल यौन चाहना हुन्छ। विपरीतलिंगी जोडीमा यौन चाहना बढी भएको व्यक्ति प्रायः पुरुष नै हुन्छ।’
त्यसैकारण आफूमा पूर्ण यौन चाहना नहुँदानहुँदै महिलाहरुले यौन क्रियाकलापमा संलग्न हुनुपर्ने हुन्छ। यसले पनि उनीहरुले अर्गाज्म प्राप्त गर्ने सम्भावनालाई कम गर्ने फ्रेडरिकको भनाइ छ।

त्यस्तै पुरुषको अर्गाज्म स्खलनसँगै प्राप्त हुने र त्यो प्रजननसँग पनि सम्बन्धित हुने तर महिलामा अर्गाज्म र प्रजननबीच स्पष्ट सम्बन्ध नरहेकोले पनि यो अन्तर देखा परेको हुनसक्छ। फ्रेडरिक भन्छन्, ‘तर लाखौँ वर्षअघि महिलामा अर्गाज्म र प्रजननबीच सम्बन्ध रहेको हुनुपर्छ।’

‘एउटा सिद्दान्त के पनि छ भने मानिसका पुर्खामा अर्गाज्म सजिलै प्राप्त हुन्थ्यो, किनभने यो महिलामा डिम्ब उत्सर्जनको कारक थियो। अन्य धेरै जनावरमा पनि यस्तो हुन्छ।’ फ्रेडरिकले भने, ‘तर रजस्वालाको मासिक चक्रले डिम्ब उत्सर्जनलाई नियमित गर्न थालेपछि महिलाहरुमा प्रजनन र अर्गाज्मको सम्बन्ध टुट्यो। त्यसपछिको लाखौँ वर्षमा महिलाहरुको अर्गाज्ममा विविधता र अनियमितता देखिन थाल्यो।’

तर केही महिलाको शारीरिक बनोट सहज र नियमित अर्गाज्म प्राप्त गर्ने खालको हुने इन्डियाना युनिभर्सिटीकी प्राध्यापक एलिजावेथ लोइड बताउँछिन्। शरीर विज्ञान र दर्शनशास्त्रकी प्राध्यापक लोइडले यौन सम्बन्धका क्रममा यौनांगको बनोट र अर्गाज्मको भूमिकाबारे एक अनुसन्धान गरेकी छन्।

सन् २०११ मा प्रकाशित सो अध्ययनअनुसार भगांकुर (क्लिटोरिज) र मूत्रमार्गबीचको दूरी कम भएकी महिलाले अर्गाज्म प्राप्त गर्ने सम्भावना अधिक हुन्छ।

‘भगांकुर र मुत्रमार्गबीचको दूरी २ सेन्टिमिटरभन्दा कम भए महिलाले यौनसम्बन्धका क्रममा अर्गाज्म प्राप्त गर्ने सम्भावना बढी र ३ सेन्टिमिटर वा त्यसभन्दा बढी भए यसको सम्भावना कम हुन्छ,’ लोइड भन्छिन्, ‘हाम्रो यो खोजको पुष्टि अन्य अध्ययनले पनि गरेका छन्। यसको अर्थ के हो भने यदि कुनै महिला अर्गाज्म प्राप्त गर्न असमर्थ हुन्छिन् भने त्यो उनको या उनको पार्टनरको गल्ती होइन।’

यस्तो किसिमको शारीरिक बनोट भएका महिलाले यौन सम्बन्धको क्रममा भगांकुरलाई उत्तेजित पार्न हातको प्रयोग गर्न पनि लोइड सुझाउँछिन्।

‘सामान्यतः आफ्ना जोडासँग राम्रो यौन सम्बन्ध भएका महिलाका सम्बन्धहरु बढी सन्तोषजनक सम्बन्धहरु हुन्छन्,’ लोइड भन्छिन्, ‘त्यसैले सामान्यतः राम्रो यौन जीवनले राम्रो सम्बन्धतिर र राम्रो सम्बन्धले राम्रो यौन जीवनतिर डो¥याउँछ। वास्तवमा यो चक्रिय हुन्छ।’

सिएनएन

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *