सिरियाको नरसंहार विरुद्ध काठमाडौंमा प्रदर्शन

काठमाडौं, फागुन १५ । मानव अधिकार तथा शान्ति समाजले सिरियामा भइरहेको नरसंहार विरुद्ध राजधानीमा विरोध प्रदर्शन गरेको छ । पुल्चोकस्थित राष्ट्रसंघको कार्यालय अगाडि एक घण्टा धर्ना दिँदै समाजले सिरियामा जारी बमबारी र नरसंहार तत्काल रोक्न माग गरेको हो ।

सिरियाली जनताको जीवन रक्षाका लागि प्रभावकारी भूमिका खेल्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रहसहित नरसंहारको विरोध गर्दै शान्ति समाजले धर्ना प्रदर्शन गरेको हो ।

धर्नामा सहभागीहरूले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदद्वारा पारित युद्ध विरामको प्रस्तावलाई तत्काल लागू गर्न र सिरियामा स्थायी शान्तिका लागि मार्ग प्रशस्त गर्न सिरियाली सरकार र विद्रोहीहरुलाई आग्रह गरेका छन्।

धर्ना प्रदर्शनमा बोल्दै शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले सिरिया लगायत एशिया र अफ्रिकाका आधा दर्जन देशहरुमा मानवता विरुद्वको अपराध बढ्दै गइरहेकोप्रति चिन्ता व्यक्त गर्दै सिरियामा जारी नरसंहार र हृदय विदारक घटनाले मानवता छिया छिया भएको बताए।

‘शक्ति राष्ट्रहरुको उन्माद, धाप र राष्ट्रसंघको प्रभावहीनताका कारण सिरियामा निर्दोष नागरिकहरु मारिएका छन्,’ पहाडीले भने, ‘स्वतन्त्रताका धरोहरहरु भत्कदै गएपछि निरकुंशताले टाउको उठाउने र अत्याचार बढ्ने हुँदा नेपालमा पनि स्वतन्त्रताका स्तम्भहरु भत्किन नदिन चनाखो हुनुपर्छ।’

प्रदर्शनमा बोल्दै समाजका सभापति डा. गंगाधर अधिकारीले संसारको जुनसुकै भागमा भएका मानवता विरुद्धको अपराधको शान्ति समाजले निन्दा एवं विरोध गर्दै आइरहेको स्मरण गराउँदै त्यस्ता अपराध विरुद्ध अभियान जारी रहने बताए ।

यसैबीच शान्ति समाजका तर्फबाट संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेशलाई सम्बोधन गरिएको ज्ञापनपत्र राष्ट्रसंघको नेपालस्थित कार्यालयमा हस्तान्तरण गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *