आज मन्त्रिपरिषद बिस्तार हुँदै, अपरान्ह ४ बजे शपथ

काठमाडौं, फागुन १४ । को को मन्त्री बन्ने सार्वजनिक भइनसकेपनि मन्त्रीहरूको शपथ ग्रहण कार्यक्रम आज तय भएको छ ।

अपरान्ह ४ बजे शीतल निवासमा नयाँ मन्त्रीहरुको सपथ ग्रहण गराईदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले आज अपराह्न ४ बजे शपथ ग्रहणको कार्यक्रम तय भएको जानकारी दिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेसहित माओवादी र संघीय फोरम नेपाललाई समेटर मन्त्रिपरिषद विस्तार गर्न लागेका हुन् । फागुन ३ गते प्रधानमन्त्री नियुक्त ओली मन्त्रिमण्डलमा हाल तीन जना मात्र सदस्य छन् । प्रधानमन्त्री ओलीले पहिलो चरणमा लालाबाबु पण्डित र थममाया थापालाई मन्त्री बनाएका थिए । सोमवार एमालेका ८ र माओवादी केन्द्रका ७ जनाले शपथ लिनेछन् ।

पछिल्लो संशोधित कार्यसम्पादन नियमावलीअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित १८ मन्त्रालय हुनेछ । एमालेले अर्थ तथा योजना र माओवादीले गृह मन्त्रालयसहित विभिन्न मन्त्रालयको जिम्मेवारीमा आपसी सहमति भइसकेको बुझिएको छ । दुवै दलले मन्त्री चयनको अन्तिम निर्णयको अधिकार पार्टी अध्यक्ष एवं शीर्ष नेतालाई दिएका छन् ।

ओलीले परराष्ट्र मन्त्रालय दिएर भए पनि उपेन्द्र यादवलाई पनि सरकारमा ल्याउने तयारी गरेका छन् । फोरमलाई समेत समेट्दा सरकारको समर्थनमा स्पष्ट दुईतिहाइ बहुमत पुग्छ ।

एमाले महासचिव ईश्वर पोखरेल तथा सचिवद्वय प्रदीप ज्ञवाली र योगेश भट्टराई मन्त्री बन्ने निश्चित भएको एमाले स्रोतले बतायो ।उपमहासचिव विष्णु पौडेलको पनि मन्त्री बन्ने चर्चा छ । ओली पहिलो पटक प्रधानमन्त्री बनेको समयमा पौडेल अर्थमन्त्री थिए । मन्त्रीका लागि प्रदेश नम्बर १ बाट सचिव योगेश भट्टराइको चर्चा छ । उनी ताप्लेजुङबाट विजयी भएका थिए । मन्त्री बनेका लालबाबु पनि प्रदेश नम्बर १ का हुन्, उनी मधेसी समुदायका नेता पनि हुन् ।

प्रदेश नम्बर २ बाट रघुवीर महासेठको मन्त्री बन्ने चर्चा छ । प्रदेश नम्बर ३ बाट महासचिव ईश्वर पोखरेल मन्त्री बन्ने लगभग निश्चित भएको छ । सिन्धुपाल्चोकका शेरबहादुर तामाङको पनि मन्त्री बन्ने चर्चा छ । तामाङ राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेरलाई पराजित गरेर दोस्रोपटक सांसद बनेका हुन् ।

प्रदेश नम्बर ४ बाट युवा नेता रवीन्द्र अधिकारी मन्त्री बन्ने लगभग निश्चित जस्तै देखिएको छ । उनी २०६४, ०७० र ०७४ का तीनवटै चुनावमा प्रत्यक्ष निर्वाचित सांसद हुन् । पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठलाई पराजित गर्ने स्याङ्जाकी पद्मा अर्यालको नाम पनि चर्चा छ ।

प्रदेश नम्बर ५ बाट उपमहासचिव पौडेल र सचिव ज्ञवाली मन्त्री बन्ने पक्का जस्तै छ । प्रदेश नम्बर ७ बाट कांग्रेस नेत्री डा आरजु राणा देउवालाई पराजित गर्ने नारदमुनी रानाको चर्चा छ । थारु समुदायको प्रतिनिधित्व गराउन नारदमुनी या शान्ताको नाम चर्चामा छ । यस्तै डोटीका सांसद प्रेम आलेको पनि मन्त्री बन्ने चर्चा छ ।

यता, माओवादी केन्द्रबाट रामबहादुर थापा बादल गृहमन्त्री बन्ने पक्का भएको छ । थापा २०६५ सालमा बनेको माओवादी सरकारमा रक्षामन्त्री थिए ।

माओवादीका तर्फबाट मातृका यादव, वर्षमान पुन, जनार्दन शर्मा र वीना मगर मन्त्री बन्ने लगभग निश्चित भएको छ । यस्तै देवेन्द्र पौडेल, चन्द्रप्रकाश खनाल, शक्ति बस्नेत र अमनलाल मोदीको पनि चर्चा छ ।

प्रदेश नम्बर १ बाट कांग्रेस नेता महेश आचार्यलाई पराजित गरेका अमनलाल मोदी, प्रदेश २ बाट मातृका, प्रदेश ३ बाट बादल, प्रदेश ४ बाट देवेन्द्र, प्रदेश ५ बाट चन्द्रप्रकाश खनाल, प्रदेश ६ बाट शक्ति र ७ बाट वीना मगरलाई मन्त्री बनाउने माओवादीको तयारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *