गंगामायाले न्याय पाउलिन ? जाहेरवाला झिकाउन अदालतको आदेश

चितवन, फागुन १३ । गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्यासम्बन्धी मुद्दाको जाहेरवाला नुरप्रसाद अधिकारीलाई अदालतमा झिकाउन आज जिल्ला अदालत चितवनले आदेश जारी गरेको छ । जिल्ला अदालतका मुख्य न्यायाधीश कुलप्रसाद शर्माले अधिकारीलाई झिकाउन आदेश दिएका हुन् ।

जाहेरवाला नुरप्रसाद कृष्णप्रसादका दाजु हुन् । अदालतका स्रेस्तेदार गेहेन्द्र पन्तका अनुसार जाहेरवाला नुरप्रसादलाई अदालतले म्याद जारी गर्ने छ । म्याद बुझेपछि उनलाई अदालतमा बकपत्र गराइने उनले बताए । यसअघि पनि पटक पटक सर्दै आएको पेशी आजका लागि सरेको थियो ।

विसं २०६१ जेठ २४ गते कृष्णप्रसादका बुबा नन्दप्रसादले आफ्नो छोराको हत्या भएको भन्दै जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी दिएको र त्यसको एक वर्ष छ महिनापछि नुरप्रसादले १३ जनाविरुद्ध किटानी जाहेरी दिएपछि मुद्दा अघि बढेको थियो ।

जिल्ला अदालत चितवनले किटानी जाहेरी भएकामध्ये सात जनालाई धरौटीमा र चार जनालाई साधारण तारेखमा छाडेको थियो । दुई जना अदालतको सम्पर्कमा आएका थिएनन् । तीमध्ये रुद्र आचार्य विदेश रहेको बताइँदै आएको छ । सर्वोच्च अदालतमा थुनछेक बहसपछि अभियुक्त १३ जनामध्ये छविलाल पौडेललाई थुनामै राखेर बाँकी कारबाही किनारा गर्नू भन्ने आदेश दिइएको थियो । पौडेल फरार छन् ।

किटानी जाहेरी परेकामा छविलालसहित जानुका पौडेल, रुद्र आचार्य, भीमसेन पौडेल, अजीव पौडेल, कालीप्रसाद अधिकारी, हेमलाल अधिकारी, सीता अधिकारी, रामप्रसाद अधिकारी, मेघनाथ पौडेल, सुभद्रा तिवारी र विष्णु तिवारी छन् ।

हत्या भएका कृष्णप्रसादका बुबा नन्दप्रसादको अनशनकै क्रममा मृत्यु भएको थियो भने आमा गंगामाया अहिले पनि अनशनमा नै छिन् । नन्दप्रसादको शव अहिलेसम्म परिवारले बुझ्न मानेको छैन ।

तत्कालीन नेकपा–माओवादीका कार्यकर्ताले २०६१ साल जेठ २४ गते चितवनको रत्ननगरमा कृष्णप्रसादको हत्या गरेका थिए । जयमंगलमा रहेका हजुरबुबा र हजुरआमालाई भेट्न आएका कृष्णप्रसादलाई सुराकीका आरोपमा हत्या गरिएको जनाइएको थियो । हत्यालगत्तै जेठ २६ मा दोषी पहिचान गरी कारवाही गरी पाऊँ भनेर नन्दप्रसादले चितवन प्रहरीमा उजुरी दिएका थिए । त्यस्तै २०६२ मंसीर २६ मा नुरप्रसादले आफ्नो भाइको हत्यामा संलग्न भएको भनेर १३ जनाको नाम नै किटान गरेर चितवन प्रहरीमा उजुरी दिएका थिए । ।
रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *