प्रधानन्यायाधीशको राजीनामा माग्दै प्रदर्शन

काठमाडौं, फागुन १२ । प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको राजीनामाको माग गदै आज माइतीघरमा प्रदर्शन गरिएको छ ।

सोलिडयारिटी फर गोविन्द केसी एलाइन्सको आयोजनामा पराजुलीविरुद्ध प्रदर्शन गरिएको थियो । ‘माफियालाई कर छुट, गोपाल श्रीमान्को ब्रह्मलुट’, ‘माफिया पराजुली सेटिङ न्याय भयो चिटिङ’ जस्ता नारा लेखिएका प्ले कार्ड बोकेर प्रदर्शनकारीहरुले प्रधानन्यायाधीश विरुद्ध प्रदर्शन गरेका थिए ।

प्रदर्शनपछि आयोजित कोणसभामा डा गोविन्द केसीले जनताको आस्थाको केन्द्र न्यायालय नै भ्रष्टाचारको चङ्गुलमा परेको आरोप लगाउँदै प्रधानन्यायाधीश पराजुलीविरुद्ध आन्दोलन गरिएको बताए । उनले प्रधानन्यायाधीश पराजुलीलाई समय सीमाभन्दा पहिले नै पद छाड्न बाध्य पार्ने उल्लेख गरे ।

भ्रष्टाचार गर्न पाउँदासम्म पराजुलीले राजीनामा नदिने भन्दै आफूहरुले बाटो देखाउने बताए । उनले अघि भने, यिनलाई के गर्नुपर्छ भन्ने तीन करोड नेपालीलाई थाहा छ ।’

आफूलाई पराजुलीकै आदेशमा अनसन स्थलबाट प्रहरीले पक्राउ गरेको भन्दै डा. आक्रोस पोखे ।

‘म ९ बजे हाजिर भइनँ भने पो प्रहरी लगाएर पक्राउ गर्नु पर्ने हो’ उनले भने, ‘यदि भ्रष्ट न्यायाधीशविरुद्ध बोल्दा मानहानी हुन्छ भने एक वर्ष होइन । आजीवन काराबास बस्न तयार छु । तर, यस्तालाई जिम्मेवार बनाएर छाड्ने हो ।’

अघि भने, ‘त्यो मात्र होइन । उनले गरेका कालो कर्तुतको छानविन गराएर कारबाही गराउने हो ।’

कार्यक्रममा विवेकशील साझा पार्टीकी रञ्जु दर्शनाले प्रधानन्यायाधीश पराजुलीविरुद्ध मात्र नभएर सिंगो भ्रष्टाचारविरुद्ध आन्दोलन गरिएको बताईन् । अधिवक्ता ओमप्रकाश अर्याल, सन्तोष गिरीलगायतले सत्तामा बसेर भ्रष्टाचार गर्ने परम्पराको अन्त्य हुनुपर्ने माग गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *