मन्त्रीहरू छान्नै गाह्रो: एमालेमा आकांक्षी धेरै, माओवादीमा हानथाप

काठमाडौं, फागुन १२ । मन्त्रिपरिषद्ले मन्त्रालयको संख्या निर्धारण गरे पनि सत्तारूढ दल एमाले र माओवादी केन्द्रलाई मन्त्री छान्ने हम्मे परेको खबर कान्तिपुरको पहिलो पृष्ठमा छापिएको छ ।

आकांक्षीको व्यवस्थापन गर्न समस्या परेपछि नाम तय हुन सकेको छैन । यसले गर्दा सरकार बनेको एक साता बितिसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । दुवै पार्टीले मन्त्री छान्न अध्यक्षसहितका शीर्ष नेतालाई जिम्मा दिएका छन् ।

एमालेको शुक्रबार स्थायी समिति बैठकले वरिष्ठ नेताहरूका परामर्शमा प्रधानमन्त्री ओलीलाई नै नाम टुंग्याउने जिम्मेवारी दिएको छ । ‘मन्त्री छनोट गर्दा समावेशी, कार्यक्षमता लगायतका विषय हेरेर नेताहरूको परामर्शमा प्रधानमन्त्रीलाई नाम टुंगो लगाउने जिम्मेवारी दिइएको छ,’ एमाले सचिव योगेश भट्टराईले भने । उनका अनुसार अब प्रधानमन्त्रीले नै मन्त्री छनोट गर्नेछन् । एमालेको तर्फबाट यसअघि लालबाबु पण्डित र थममाया थापा मन्त्री बनिसकेका छन् । माओवादीसँगको भागबन्डामा एमालेले १० वटा मन्त्रालय पाउने समझदारी भएकाले अब एमालेबाट ८ जना मन्त्री हुनेछन् । आठ जनाका लागि आकांक्षीको संख्याभने ठूलो छ ।

माओवादीले पनि आफ्नो पार्टीबाट मन्त्री बन्नेहरू छान्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल, नेताहरू नारायणकाजी श्रेष्ठ र रामबहादुर थापालाई दिएको छ । उनीहरूलाई समावेशी, जातीय र क्षेत्रीय सन्तुलन मिलाउने गरी व्यक्ति चयन गर्न जिम्मेवारी दिइएको छ । माओवादीका भागमा सातवटा मन्त्रालय परेको छ । तत्कालका लागि पार्टी एकता नभएकाले थापा नेतृत्वमा सरकारमा मन्त्रीहरू पठाउने माओवादीले करिब टुंगो लगाएको छ । यद्यपि कुन–कुन मन्त्रालय रहने भन्ने शुक्रबार मात्र मन्त्रिपरिषद्ले टुंग्याएकाले शनिबारसम्ममा दुई दलबीच कुराकानी भएपछि मन्त्रालय र व्यक्तिको अन्तिम छनोट हुनेछ ।

माओवादीले गृह मन्त्रालय पाउने करिब निश्चित छ । त्यसैले त्यो मन्त्रालयमा को जाने भन्नेमा मुख्य नेताहरूबीच हानथाप छ । माओवादीले मन्त्री बनाउनेको रोस्टर करिब तयार गरेको छ । रोस्टरमा परेका व्यक्तिहरूमध्येबाट अब अध्यक्षले अन्तिम नाम छनोट गर्नेछन् । प्रत्येक प्रदेशबाट कम्तीमा एकजना पर्ने गरी छान्ने तयारी भएको माओवादी नेताहरूले बताएका छन् । माओवादीको रोस्टरमा रामबहादुर थापा, वर्षमान पुन, शक्ति बस्नेत, गिरिराजमणि पोखरेल, पम्फा भुसाल, बिना मगर, मातृका यादव, सुदन किराती, अमलनलाल मोदी, देवेन्द्र पौडेललगायतको नाम छ । यीमध्येबाटै नेताहरूले छलफल गरेर मन्त्री बन्नेको नाम तय गर्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *