नेकपा(ओली–दाहाल) भर्सेज नेकपा(विप्लव) ?

नेपाल कम्युनिस्ट पार्टीको स्थापना वि.स. २००६ सालमा भयो । चार जनाले स्थापना गरेको नेपाल कम्युनिस्ट पार्टी यति बेला दर्जनौँ हाँगाबिंगामा फैलिएको छ । रंगिबिरंगी नाम, नीति र नेतृत्वमा रहेका कम्युनिस्ट समुहहरुले लाखौँ जनताको प्रतिनिधित्व गर्ने हैसियत बनाएका छन् । कम्युनिस्ट पार्टीकै नाममा अत्यधिक बहुमत सहित दुईवटा समूह सरकारमा छन् भने अरू कैयौँ समूहहरू संसद् र सडकमा समेत छन् । यद्यपि कतिपयले न संसद्मा उपस्थिति देखाउन सकेका छन् न त सडक नै रोज्न सकेका छन् ।

नेपाल कम्युनिस्ट पार्टीको उत्तराधिकारमा विभिन्न चरणमा सशस्त्र सङ्घर्ष गर्दै बहुदलीय प्रतिस्पर्धालाई रणनीतिक रूपमा स्वीकार गर्दै आएका एमाले–माओवादी यति बेला सरकारमा छन् भने संविधान सभामार्फत निर्मित संविधानलाई अस्वीकार गर्दै आएको विप्लव समूह सशस्त्र सङ्घर्षकै बाटो रोजेको छ । अझ ओली सरकार गठन पछि उसले आफ्ना सशस्त्र कारवाहीहरुलाई तीव्रता दिएको छ ।
यति बेला स्वाभाविक प्रश्न उठेको छ नेकपाको सरकारले नेकपाका विद्रोहीप्रति कस्तो रूप अपनाउनेछ ?

सरकारमा पनि कम्युनिस्ट, विद्रोही पनि कम्युनिस्ट
वि.स. २०२८ सालताका झापा विद्रोह मार्फत उदाएको माले समूह मार्क्सवादीसँग एकता गर्दै नेकपा(एमाले) भयो ।

२०५२ सालदेखि १० वर्ष सशस्त्र सङ्घर्ष गर्दै शान्ति प्रक्रियामा आएको माओवादी समूह विभिन्न समूहसँग पार्टी एकता गर्दै एकीकृत माओवादी, नेकपा माओवादी केन्द्र हुँदै अहिले एमालेसँग पार्टी एकता गर्ने चरणमा आइपुगेको छ ।

माओवादी शान्तिपूर्ण प्रतिस्पर्धामा अवतरण गरेपछि र आफ्ना ‘जनसेना’ तथा हतियार संयुक्त राष्ट्रसंघ मातहतको अनमिनको क्यान्टोनमेन्टमा राखेपछि असन्तुष्ट बनेको वैद्य समूहले एकीकृत माओवादीसँग सम्बन्ध विच्छेद गर्‍यो । र, ‘जनयुद्ध’ र ‘जनसेना’को नीतिलाई निरन्तरता दिने गरी छुट्टै माओवादी समूह गठन गर्‍यो । तर, वैद्यको नेतृत्वमा ‘जनयुद्ध’को सम्भावना नरहेको भन्दै नेत्रविक्रम चन्द विप्लवले आफ्नो नेतृत्वमा अलग्गै समूह खडा गरे, जसको नाम हो– नेपाल कम्यनिष्ट पार्टी अर्थात् नेकपा । जसले आफूलाई वि.स. २००६ सालमा स्थापना भएको नेकपाको उत्तराधिकारीका रूपमा प्रस्तुत गरेको छ र सशस्त्र सङ्घर्षको नीति अख्तियार गरेको छ ।

२०२८ सालताकाको झापा विद्रोहीहरुको उत्तराधिकारी नेकपा(एमाले) र २०५२ सालदेखि १० वर्षे सशस्त्र सङ्घर्षको उत्तराधिकारी माओवादी केन्द्रबिच अबको केही दिन भित्रै पार्टी एकता गर्ने सहमति भएको छ । र, नव गठित एकीकृत पार्टीको नाम रहनेछ– नेपाल कम्युनिस्ट पार्टी अर्थात् नेकपा । जसले आफूलाई नै नेकपाको वास्तविक उत्तराधिकारी भएको दाबी गरेको छ ।

यति बेला संयोग कस्तो परेको छ भने हँसिया हथौठाको झन्डा बोकेर वाम गठबन्धन मार्फत निर्वाचनमा गएका एमाले–माओवादीले संसद्मा झन्डै दुई तिहाइ बहुमत ल्याएर सरकार सञ्चालन गर्दै छन् भने हँसिया हथौडाकै झन्डा बोकेर निर्वाचनलाई हिंसात्मक बहिष्कार गरेको विप्लव समूह अघोषित सशस्त्र सङ्घर्ष सञ्चालन गरिरहेको छ । अर्थात्, सरकारमा आफूलाई नेपाल कम्युनिस्ट पार्टीको उत्तराधिकारी दाबी गर्नेहरु छन् भने नेपाल कम्युनिस्ट पार्टीको उत्तराधिकारी दाबी गर्ने अर्को समूह विद्रोहमा उत्रिएको छ ।

नेकपाको उत्तराधिकारी को ?
जतिबेला नेपालमा कम्युनिस्ट पार्टीको स्थापना भयो त्यति बेला नेपालमा जहाँनिया राणा शासन थियो । कम्युुनिष्ट पार्टी स्थापनाको करिब ७० वर्षको इतिहासमा राष्ट्रिय–अन्तर्राष्ट्रिय परिस्थितिमा कैयौँ फेरबदल आएको छ । राणा शासन ढलेर नेपालमा बहुदलीय व्यवस्था, तीस वर्षे पञ्चायती व्यवस्था, बहुदलको पुनस्र्थापना, राजाको प्रत्यक्ष शासनकाल हुँदै यति बेला लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ । राजनीतिक रूपमा राणा शासनकाबाट लोकतान्त्रिक गणतन्त्र जस्तो जनपक्षीय व्यवस्थामा मुलुक प्रवेश गरेको छ । जनताले चुनेको संविधानसभाबाट निर्मित संविधानका अधारमा मुलुकको शासन व्यवस्था सञ्चालित छ ।

तैपनि जनताका आधारभूत समस्याको समाधान अझै भएका छैनन् । सारमा देश सार्वभौमसत्ता सम्पन्न भनिएपनि अर्धऔपनिबेशिक र अर्धसामन्ती अवस्था कायमै छ । बेरोजगारी समस्याले युवाशक्ति शक्ति सस्तो श्रम बेच्न विदेशमा बेचिनु परिरहेको छ । शिक्षा र स्वास्थ्य जस्ता आधारभूत जनअधिकार झन् झन् महंगिदै र आम जनताको पहुँच बाहिर पुग्दै गइरहेका छन् । राज्यबाट बितरित स्रोतमा ठुलो विभेद छ । राज्य सञ्चालकहरूको वरिपरि रहेर चाप्लुसी र दलाली गर्नेहरु मोटाउँदै र मेहनत गर्नेहरु खिईंदै गइरहेका छन् ।

अर्ध सामन्ती र अर्ध औपनिवेशिक अवस्था कायम रहँदा सम्म सत्तामा जो सुकै आएपनि देश र जनता पूर्ण स्वतन्त्र हुन सक्दैनन् । तसर्थ त्यसको वास्तविक समाधान कसरी हुन सक्छ र कसरी जनतालाई पूर्ण अधिकार सम्पन्न बनाउन सकिन्छ, यसबारे पनि बहस हुन जरुरी छ ।

अब नेपाल कम्युनिस्ट पार्टीको वास्तविक उत्तराधिकारी कुन हो, नेकपा (ओली–दाहाल) वा नेकपा( विप्लव) ? वा मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, मोहन विक्रम सिंह नेतृत्वको नेकपा (मसाल), सिपि मैनाली नेतृत्वको नेकपा (माले), नारायणमान विजुक्छे नेतृत्वको नेपाल मजदुर किसान पार्टी वा अरू कुनै ?

यो प्रश्नको उत्तर खोज्न कम्युनिस्ट पार्टीको घोषणापत्र, २००६ सालमा नेकपा स्थापना हुँदा घोषित न्यूनतम नीति तथा कार्यक्रम र कम्युनिस्ट आचरण तथा अहिलेका विभिन्न समुहहरुले अपनाउँदै आएका नीति, सिद्धान्त र आचरणबिच तुलना गर्नुपर्छ । जसरी हँसिया हथौडाको झन्डा देखाएर जनमत पाएका आधारमा मात्रै कुनै समूह कम्युनिस्ट हुन सक्दैन त्यसरी नै उग्रवामपन्थी गतिविधि गरेकै आधारमा पनि कुनै समूह कम्युनिस्ट हुन सक्दैन । त्यसैले नेपालमा वास्तविक कम्युनिस्ट पार्टी कुन हो ? जसले यी प्रश्नको समाधान दिन सक्नेछ, उही नेकपाको वास्तविक उत्तराधिकारी हो । तर, यो छुट्टै बहसको विषय हो ।

ओली दाहाललाई विप्लवको चुनौती
वर्तमान संविधान, राज्य व्यवस्था तथा अन्तर्राष्ट्रिय परिस्थितिलाई हेर्ने सत्तारुढ नेकपा(ओली–दाहाल) र विद्रोही नेकपा(विप्लव)को दृष्टिकोणमा ठुलो अन्तर छ । त्यही अन्तरका कारण ओली–दाहालले सत्ता सञ्चालन गर्दा विप्लवले विद्रोहको बाटो रोजेका छन् । आफूलाई कम्युनिस्ट पार्टीको उत्तराधिकारी दाबी गर्ने एमाले–माओवादी गठबन्धन सरकारमा आए लगत्तै विप्लव समूहले हिंसात्मक कार्वाही अझै तीव्र पार्न चाहेको देखिन्छ ।

विप्लव समूहले संविधान सभालाई स्वीकार गरेको छैन । संविधान सभाबाट निर्मित संविधान अन्तर्गतका संरचनाहरूलाई अस्वीकार गर्नुको अर्थ यो व्यवस्थाप्रतिको विद्रोह नै हो ।

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा देशैभर बम पड्काएर आफ्नो उपस्थिति देखाएको विप्लव समूहले फागुन १ गतेका दिन माओवादीहरूले मनाउँदै आएको ‘जनयुद्ध दिवस’का अवसरमा धेरै ठाउँमा एनसेलका टावरहरूमाथि आक्रमण गर्‍यो । त्यसको अर्थ उसको उपस्थिति देशैभर छ र, आवश्यक परेमा विद्रोह गर्न सक्छ भन्ने सन्देश दिन खोजेको देखिन्छ । यही फागुन ८ गतेको नेपाल बन्दका क्रममा पनि ठाउँ–ठाउँमा हिंसात्मक कारबाही गरेको थियो ।

अब ओली–दाहाल सत्ताले विप्लवप्रति कस्तो रणनीति अपनाउने हो त्यो भने हेर्न बाँकी छ । विप्लव समूहमाथि प्रतिबन्ध लगाऊँ अन्तर्राष्ट्रिय जगत्मा कम्युनिस्ट पार्टीको सरकारले कम्युनिस्ट पार्टीमाथि नै प्रतिबन्ध लगाएको गलत सन्देश जाने, वार्ता गरूँ, अनावश्यक महत्त्व दिएको जस्तो ठहरिने र त्यत्तिकै छोड्दा पनि थप शक्ति आर्जन गरेर राज्यमाथि नै विद्रोह गर्न सक्ने शक्ति पैदा गर्ने आशङ्का ओली दाहाललाई देखिन्छ । त्यसमाथि माओवादी केन्द्र एमालेसँग समाहित हुँदा असन्तुष्ट बनेका धेरै नेता/कार्यकर्ताहरुको गन्तव्य समेत विप्लप नेतृत्व नै देखिन्छ । अब मोहन वैद्यसँग पुन : पार्टी एकता गरेर विप्लवले थप शक्ति सञ्चय गर्न सक्ने अवस्था पनि छ ।

हेरौँ, सत्तारुढ नेकपाले विद्रोही नेकपाप्रति कस्तो व्यवहार गर्नेछ ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *