प्रहरी हुँ भन्दै लुट्ने दुईजना पक्राउ

चितवन, फागुन ११ । आफूलाई सादा पोसाकको प्रहरी हुँ भन्दै लुटेर हिँड्ने दुईजनालाई प्रहरीले आज पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार पक्राउ पर्नेमा भरतपुर महानगरपालिका वडा नं १२ बस्ने १७ वर्षीय आशिष् मगर र भरतपुर महानगरपालिका वडा नं ११ बस्ने २० वर्षीय सुजन गुरुङ रहेका छन् । उनीहरूलाई भरतपुरको जागृतिचोकबाट पक्राउ गरिएको हो ।

उनीहरूले फागुन ४ गते राति भरतपुर महानगरपालिका वडा नं ११ निवासी नारायण धिताललाई विशाल चोकमा आफूहरू प्रहरी भएको बताउँदै जाँच गर्ने भन्दै नगद रु १० हजार र मोबाइल सेट लुटेको प्रहरीले जनाएको छ । धिताल काठमाडौँबाट घर फर्कने क्रममा उनीहरूले लुटेको प्रहरीले जनाएको छ । उनीहरूले नारायणगढमा रहेको पोखरा बसपार्कमा पनि होटेलमा धम्काउने काम गरेको कार्यालयले जनाएको छ ।

यस्तै खुकुरी प्रहार गरी घाइते बनाएर फरार रहेका भरतपुर–२७ का हेमबहादुर थापालाई प्रहरीले भरतपुर–१० बाट आज पक्राउ गरेको छ । उनले माघ १५ गते वीरेन्द्र क्याम्पस अगाडि र २४ गते दीपेन्द्र चोकमा शंकरदेव ज्ञवालीलाई खुकुरी प्रहार गरी घाइते बनाएका थिए

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *