पार्टी एकता तथा सरकारको भागबण्डा मिलाउने कसरत जारी

काठमाडौं, फागुन १० ।  पार्टी एकता प्रक्रिया तथा सरकारको भागबण्डा मिलाउन वाम गठबन्धनको दुई कार्यदलले आज संयुक्त छलफल गर्दैछन् ।

एमाले नेता माधव कुमार नेपाल संयोजकत्वको विधान मस्यौदा तथा संगठनात्मक कार्यदल तथा ईश्वर पोखरेल नेतृत्वको प्रतिवेदन मस्यौदा कार्यदलले संयुक्त छलफल गर्न लागेका हुन् ।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा विहान ११ बजे हुने छलफलमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल समेत सहभागी हुने प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो ।

सरकारको भागबण्डा मिलाउँदै मन्त्रीमण्डललाई पूर्णता दिन तथा एकता पछि पार्टीको संगठनात्मक स्वरुप तय गर्न आजको छलफलले ठोस निष्कर्ष निकाल्ने नेताहरुले बताएका छन् । एकीकृत पार्टीको वैचारिक सिद्धान्त महाधिवेशनबाट टुङ्ग्याउने सहमति गरेका दुबै दल संगठनात्मक स्वरुपमा भने अन्यौलमा रहेका छन् ।

कार्यदलले निर्माण गरेको प्रतिवेदन तथा सुझावका आधारमा थप प्रक्रिया अघि बढाउने नेताहरुले बताएका छन् । माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुषालले मिल्न बाँकी रहेका विषयमा आज ठोस सहमती भई पार्टी एकता र मन्त्रीमण्डल बिस्तार लगायतका बिषय आज टुंगोमा पुग्ने बताउनुभयो ।

संयुक्त छलफलमा मन्त्रालयको समायोजन गर्दै मन्त्रालयको भागबण्डाका बिषयमा पनि सहमतिको प्रयास हुने नेताहरुले बताएका छन् । सम्भवतस् आजै मन्त्रालयको बाँटफाँट गरी भोलिसम्ममा मन्त्रिपरिषद बिस्तार गर्ने तयारी प्रधानमन्त्री ओलीको छ ।

३१ वटा मन्त्रालयलाई १५ मा झार्ने तयारी भएपनि मन्त्रालय भागबण्डामा सहमती हुन नसक्दा ओली नेतृत्वको सरकारमा माओवादी केन्द्रले मन्त्री पठाएको छैन । १५ सदस्यीय मन्त्रिपरिषद भए माओवादीलाई ५ वटा मन्त्रालय दिने एमालेको तयारी छ ।

माओवादी केन्द्रले भने आकांक्षी व्यवस्थापनमा गाह्रो हुने भन्दै केही बढी मन्त्रालय माग गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *