हतियारसहित तीन भारतीय गौरबाट पक्राउ

रौतहट, फागुन ८ । हतियार बोकेर नेपाल प्रवेश गरेका तीनजना भारतीय नागरिक रौतहटबाट पक्राउ परेका छन् ।

सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहटबाट सादा पोशाकमा खटिएका प्रहरीले गौर नगरपालिका–२ स्थित मुन्ना होटलबाट उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुका भारत बिहार राज्य मुजफ्फरपुर जिल्ला हरसेर ग्रामपञ्चायत–१ कोदरियाका २८ वर्षीय मदन कुशवाहा, सोही जिल्ला घोसउत ग्रामपञ्चायत–१ स्वर्ण माधोपुरका २७ वर्षीय दिनेशप्रसाद कुशवाहा र मानिर ग्रामपञ्चायत–२ गदाईका २१ वर्षीय अजयप्रसाद कुशवाहा छन् ।

उनीहरुको साथबाट अटोमेटिक पेस्तोल एक थान, नककटुवा पेस्तोल एक थान र एसएलआरमा लाग्ने गोली तीन थान बरामद भएको रौतहट प्रहरीका एसपी यज्ञविनोद पोखरेलले बताए । होटलमा बसेर अपराधिक घटनाको योजना बनाइरहेको खबर प्रहरीलाई प्राप्त हुनासाथ सादा पोशाकमा खटिएका प्रहरीले उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका तीनै जनालाई जिल्ला अदालतबाट अनुसन्धानको लागि म्याद थप गरीएको छ ।

पटक–पटक हतियार लिएर प्रवेश 

गत कात्तिक १५ गते पनि अटोमेटिक पेस्तोल र ५१ राउन्ड गोलीसहित राजधानीबाटै दुई भारतीय पक्राउ परेका थिए । उनीहरुमध्येका एक जना भारतीय प्रहरी रहेको अनुसन्धानबाट खुलेको थियो । त्यसको भोलिपल्टै पोखराबाट पनि तीन जना भारतीय नै हतियार सहित नैपक्राउ परेका थिए । पोखरामा पक्राउ परेका उनीहरू भारतमा हत्या, अपहरण र असुलीमा विभिन्न मुद्दा खेपिरहेका व्यक्ति भएको प्रहरीको भनाइ छ ।

राजधानीको कमलादीस्थित हेरिटेज प्लाजामा रहेको ज्याक डेनिस डान्स बारमा गोली चलाएपछि भारत लुधियानाका जसवीर सिंह र देवेन्द्र सिंह पक्राउ परेका थिए । प्रहरीले उनीहरूबाट अटोमेटेड पेस्तोल, ५१ थान ७ दशमलव ६५ एमएमको गोली र ७५ हजार भारु बरामद गरेको थियो । स्रोतका अनुसार पोखराबाट पक्राउ परेका भारतीयविरुद्ध भारतको राजस्थान प्रहरीमा थुप्रै मुद्दा छन् ।

यी त केही उदाहरण मात्र हुन् । नेपालमा भएका कैयौं आपराधिक घटनामा भारतीहरु संलग्न हुँदै आएको भेटिएको छ । पटक–पटक भारतीय नागरिक हतियारसहित भित्रिंदा शुरक्षा चुनौती त बढेको छ नै, सीमा क्षेत्रमा नेपालको कमजोर उपस्थिति रहेको पनि यसले प्रष्ट पारेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *