‘प्रधानमन्त्री बन्छु भन्ने सोचेको पनि छैन, पार्टी एकता प्राविधिक गडबडीले रोकिएको हो’


“काठमाडौँ, पुस १९ । ‘प्रधानमन्त्री बन्नेबारे मैले अहिले केही सोचेको छैन’ बिहीबार पेरिस डाँडामा आयोजित कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल `प्रचण्ड’ले प्रधानमन्त्री बन्ने नसोचेको र वाम गठबन्धनबाट बाहिर गएर आफू प्रधानमन्त्री नबन्ने दाबी गरे ।
उनले आफूहरू एमालेसँग पार्टी एकताकै एजेन्डा लिएर जनताको अनुमोदन चुनाव लडेको बताउँदै आफू गठबन्धन भन्दा बाहिर गएर प्रधानमन्त्री बन्ने सोच पनि नपलाएको बताए । कार्यक्रममा सञ्चारकर्मीहरुसँग बोल्दै प्रचण्डले पार्टी एकतामा दुई नेताको कार्यकारी भूमिका हुने सहमति भएको भन्दै त्यसलाई औपचारिकता दिन मात्र बाँकी रहेको पनि बताए ।
‘पार्टी एकता संयोजन समितिमा दुई नेता भनिएको छ, दुई नेताको भूमिका कार्यकारी भूमिका हुनपर्छ भन्नेमा कुनै विवाद छैन’ प्रचण्डले भने,‘ त्यसलाई औपचारिकता दिनमात्र बाँकी छ । अब केही दिनमै यसबारेमा थाहा पाउनुहुनेछ ।’ हाल पार्टी एकताको विषयमा छलफल भइरहेको तर प्राविधिक कारणले रोकिएको उनले बताए । तर जसरी भए पनि केही दिन भित्रै एकताबारे कन्फर्म हुने दाबी गरे ।”
