घोडा नपाउने सहरमा प्रकाशमान सिंहको घोडा दौडाई !


“
काठमाडौँ, पुष १९ । प्रतिनिधि तथा प्रदेश सभाका प्रत्यक्ष उम्मेद्वारले भटाभट आयोगमा निर्वाचन खर्च फाराम विवरण भर्न जाँदा प्रतिनिधि सभा सदस्यमा काठमाडौँ क्षेत्र नम्बर–१ बाट विजयी भएका काँग्रेस उम्मेद्वार प्रकाशमान सिँह घर फर्कि सकेका छन् । उनले आज बिहीबार अनामनगरस्थित क्षेत्रीय निर्वाचनमा आफ्नो निर्वाचन खर्च चुस्त/दुरुस्त बनाएर घर फर्किएका हु्न् ।
प्रतिनिधिसभा निर्वाचनमा उम्मेद्वारले खर्च गरेको विवरण निर्वाचन आयोगलाई बुझाउनु पर्नेहुन्छ । आयोगले प्रतिनिधिसभा निर्वाचनमा उम्मेद्वारले अधिकतम २५ लाख रुपैंया खर्च गर्न पाउने प्रावधान छ । तर, अहिलेको महंगीका कारण कमै उम्मेद्वारले २५ लाखमा निर्वाचन जित्न सक्छन् ।
काठमाडौँ क्षेत्र नं. १ बाट निर्वाचित सांसद नेपाली काँग्रेसका प्रकाशमान सिंहले सवा १७ लाखमा निर्वाचन जितेको बताएका छन् । निर्वाचन आयोगलाई निर्वाचनमा भएको खर्च विवरण बुझाउँदै सिंहले १७ लाख ३० हजार ५ सय खर्च भएको उल्लेख गरेका छन् ।
सिंहले सवारी/घोडामा २ लाख ७० हजार खर्च गरेको उल्लेख गरेका छन्, भने, तीनलाई इन्धन÷ दानाका लागि ७० हजार रुपैंया खर्च भएको बताएका छन् । यसै गरी मतदाता नामावली खरिदमा १ हजार, प्रचारप्रसार सामग्री खर्चमा ८० हजार, गोष्ठी/कार्यकर्ता परिचालनमा ७ लाख, छापा, विद्युतीय प्रचारप्रसारमा ९० हजार, कार्यालय सञ्चालनमा ३ लाख ५० हजार खर्च गरेका छन् । भने, प्रतिनिधि परिचालनमा १ लाख १० हजार र विविध शीर्षकमा ३९ हजार ५ सय खर्च भएको विवरण आयोगलाई बुझाएका छन् ।
सिंहले आज आयोगलाई खर्च विवरण बुझाएका हुन् । निर्वाचन सम्पन्न भएको ३५ दिन भित्र उम्मेद्वारहरुले खर्च विवरण आयोगलाई बुझाउनु पर्दछ । क्षेत्र नं. १ मा सिंहले विवेकशील साझा पार्टीका रविन्द्र मिश्रलाई थोरै मतान्तरले पराजित गरेका थिए । उनले मिश्रलाई ८ सय १८ मतान्तरले पराजित गरेका थिए । सिंहले १० हजार ९ सय ३६ मत पाएका थिए भने, मिश्रले १० हजार १ सय १८ मत पाएका थिए ।
आयोगले तोकेको खर्च सीमाभित्र रहेर चुनाव जित्नेहरुमा नेकपा एमालेका लालबाबु पण्डित पनि पर्दछन् । उनले आयोगमा १३ लाख १६ हजार एक सय ६८ रुपैयाँ मात्रै खर्च गरेको विवरण बुझाएका थिए ।
ठुला दलहरू नै अपारदर्शी
आयोगले बारम्बार दल र तिनका उम्मेद्वारलाई खर्च विवरण माग गरे पनि अधिकांश उम्मेद्वारले अहिलेसम्म खर्च विवरण बुझाउन सकेका छैनन् । नेकपा एमाले, नेपाली काँग्रेस, माओवादी केन्द्रका दुई तिहाई उम्मेद्वारले खर्च विवरण बुझाएका छैनन् । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अघिको स्थानीय निकायको निर्वाचनको समेत खर्च विवरण बुझाईएको छैन ।
आयोगले तोके भन्दा बढी खर्च हुँदा उम्मेद्वारलाई खर्च विवरण सार्वजनिक गर्न समस्या भएको हो । नेपाली काँग्रेसका एक उम्मेद्वारले आयोगले २५ लाख भन्दा बढी खर्च नगर्नु भनेपनि बढ्दो महंगी र कार्यकर्ता पाल्नकै लागि भए पनि बढी खर्च गर्नुपरेको जिकिर गरे । उनले प्रतिनिभिसभा निर्वाचनमा दुई करोड बढी खर्च भएको स्वीकार गरे । ‘भन्न नमिल्ने हो, २५ लाखले सम्पर्क कार्यालयको भाडा पनि पुग्दैन ।’ उनले भने–‘कार्यकर्तालाई मासुभात खुवाउनै पर्यो, गाडी कुदाउनै पर्यो, बाईकमा तेल हाल्दा, आमसभा, कार्यकर्ता भेला इत्यादि गर्दा दुई करोड चानचुन सकियो ।’
निर्वाचन आयोगका अधिकारी घमचन्द्र तिम्सीनाले जिल्ला स्थित कार्यालयमा उम्मेद्वारले खर्च विवरण पेस गर्नुपर्ने बताए । उनले प्रत्यक्ष तर्फको उम्मेद्वारले जिल्लाहरूमा बुझाएपनि अधिकांशले खर्च विवरण बुझाई नसकेको जिकिर गर्दै समयमा विवरण नबुझाउने उम्मेद्वारलाई जरिवाना तिराउने तथा कालोसूचिमा राख्ने प्रावधान रहेको बताए ।
“
