काठमाडौँका भित्री गल्लीमा १२ घण्टा गाडी कुदाउन विशेष पास चाहिने !


“
काठमाडौं, पुष १९। अब, काठमाडौँ शहरका भित्री सडक खण्ड तथा गल्लीहरुमा चार पाङ्ग्रे सवारी साधन गुडाउन निषेध गरिएको छ । केही महिनाअघि ठमेल र केही दिन अघि पशुपति नाथ क्षेत्रबाट सुरु गरिएको चार पांग्रे सवारी निषेध कार्यक्रमले अब राजधानीका गल्लीहरुमा पनि यो नियम लागू भएको छ ।
चार पाङ्ग्रे सवारी निषेध गरिएसँगै भित्री शहरमा दुईपांग्रे सवारीलाई मात्रै प्रवेश दिने निर्णय भएको छ । भोटाहिटी, असन, इन्द्रचोक, मच्छिन्द्रबाहल, भेडासिंह, नरदेवी, एट्खा, टेंगल, बाङ्गेमुढा, थहिटी, त्यौड, ताम्सीपाखा, किलागल, ज्वागल लगायतका क्षेत्रमा चारपांग्रे सवारीले प्रवेश गर्न नपाउने भएको छ ।
उक्त नियम कार्यन्वयनका लागि आज बिहीबारबाट काठमाडौँ वडा नम्बर १८, २४, १७, २५ लगायतका वडाध्यक्षहरु स्थलगत अवलोकनमा निस्किएका छन् । स्थलगग अवलोकनमा निस्किनुपूर्व ५ नम्बर वडाका अध्यक्ष निलकाजी शाक्यले आगामी माघ २ गतेदेखि यी शहरका भित्री सडक खण्डहरुमा पूर्ण रुपमा चार पांग्रे सवारीको प्रवेश रोकिने बताए । ‘भित्री सडक खण्डमा चार पाङ्ग्रे सवारीका कारण मानिसहरुलाई आवत जावत गर्न कठिन भएको छ । सडक साँघुरा हुने भएकोले पैदल हिँडडुल गर्ने सर्वसाधारण पनि जाममा पर्नु परेको छ ।’ यसकारण आफूहरुले सो कार्यक्रम पूर्ण रुपमा लागू गर्न स्थलगन अनुगमनमा निस्कन लागेको उनले बताए ।
त्यस्तै,वडानम्बर १८ का वडाध्यक्ष न्हुच्छेकाजी महर्जनले भित्री शहरका सम्पदा र जीवनशैलीलाई जोगाउन आफूलहरुले चारपांग्रे सवारी रोक्न सो कदम चालेको बताउँछन् । ‘हामीले चार पाङ्ग्रे सवारी निषेधका लागि ट्राफिक प्रहरीसँग छलफल गरिसकेका छौँ । उहाँहरुले यो कार्यक्रमलाई स्वागत योग्य भएको बताउँदै उचित किसिमबाट यसलाई कार्यान्वयन गर्ने बाचा गर्नु भएको छ ।’
तर सबै वडाध्यक्षहरुले निषेधित क्षेत्रभित्र घर भएकाहरुलाई सवारी साधन लैजान पाउने गरी विशेष पासको व्यवस्था गर्ने योजना मा पनि निर्णय अघि सारेका छन् । वडाध्यक्ष न्हुच्छेकाजी महर्जनका अनुसार बेलुका ७ बजदेखि विहान ७ बजेसम्म भने सबै किसिमका सवारीलाई प्रवेश मा रोक लगाइने छैन । उनका अनुसार आकस्मिक सेवाका एम्बुलेन्स, शवबाहन, पानी ट्यांकर, दूध बोकेका सवारीलगायतलाई भने जुनसुकै समयमा यी क्षेत्रमा जान दिइनेछ ।
“
