प्रदेश राजधानी माग्दै पूर्वको धनकुटा र पश्चिमको डोटीमा आमहड्ताल

काठमाडौं, पुस १९ । सरकारले प्रदेश राजधानी तोक्ने तयारी गरेसँगै विभिन्न प्रदेशका सम्भावित राजधानीस्थल आन्दोलित हुँदै आएका छन् । पूर्वी नेपालको धनकुटालाई १ नं प्रदेशको राजधानी बनाउनुपर्ने माग गर्दै आमहड्ताल शुरु गरिएको छ भने पश्चिम डोटीमा ७ नं प्रदेशको राजधानी माग्दै आमहड्तालको घोषणा गरिएको छ ।

आम हड्तालका कारण बिहानैदेखि धनकुटा बजार बन्द छ भने कोशी राजमार्गमा सवारी साधन गुड्न सकेका छैनन् । सवारी साधन नचल्दा कोशी पहाडका धनकुटासहित तेह्रथुम, संखुवासभा र भोजपुरको जनजीवनसमेत प्रभावित भएको छ ।

बन्दकर्ताले राजमार्गमा टायर बालेर सवारी साधन चल्न दिएका छैनन् । यद्यपी एम्बुलेन्स, प्रेस, विद्यालय र दुध तथा तरकारी बोकेको सवारी साधनलाई भने अवरोध गरिएको छैन ।

राजधानीको माग राख्दै धनकुटावासी विगत २० दिनदेखि आन्दोलित छन् । पर्याप्त सरकारी भौतिक पूर्वाधार र जग्गा भएकोले साविकको पूर्वाञ्चल विकास क्षेत्रको समदरमुकामसमेत रहेकोले धनकुटालाई राजधानी बनाउनु पर्ने उनीहरुको माग छ ।

धनकुटावासीले धनकुटासँगै प्रधानमन्त्रीको कार्यालय बालुवाटारमा समेत पटक–पटक दवावमूलक धर्ना दिइरहेका छन् । धनकुटा २४० बर्ष अघि देखिको प्रशासनिक केन्द्र हो ।

वि.सं. १८४० देखि पूर्व क्षेत्रको प्रशासनिक केन्द्रको रुपमा स्थापित धनकुटा राणाकालीन समयमा वडाहाकिम कार्यालय हँुदै पूर्वाञ्चल विकास क्षेत्रको सदरमुकाम रहिरहेको अवस्था छ । सामर्थ्यका आधारमा हेर्ने हो भने करिब ४८ हजार रोपनी सरकारी र ३ सय ९४ वटा सरकारी कार्यालयका भवन छन् । अहिले पनि सुरक्षा, ऐतिहासिक पक्ष, भौतिक पुर्वाधार तथा प्रदेशको केन्द्र भाग खोज्ने हो भने प्रस्तावित १४ जिल्लाको केन्द्र धनकुटा नै उपयूक्त रहेको स्थानीयको ठहर छ ।

यता, सरकारले प्रदेश ७ को अस्थायी मुकाम धनगढी बनाउने प्रस्ताव गरेसँगै डोटीबासी आन्दोलनमा उत्रिएका छन्। भौतिक पूर्वाधारदेखि भौगोलिक दूरीका हिसाबले पनि दिपायल प्रदेश राजधानीका लागि उपयुक्त हुनुपर्छ भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन्।

बुधबार बिहान बसेको प्रदेश नं ७ को राजधानी दिपायल संघर्ष समिति बैठकले अनिश्चितकालीन जिल्ला बन्द गर्ने निर्णय गरेको हो ।

बन्द आह्वान गरेसँगै मुख्य बजारहरू बिहानैदेखि बन्द भएका छन् । सरकारी कार्यालय, बजार, गैरसरकारी संस्था, शिक्षण संस्थाहरू समेत बन्दले प्रभावित भएका छन् । सरकारले मंगलबार सात वटै प्रदेशको अस्थायी मुकामको खाका तयार पारेर सार्वजनिक गरेको थियो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सहरी विकास मन्त्रालयले सात वटै प्रदेशको अस्थायी मुकामको खाका तयार पारेको हो ।

अत्यावश्यकीय सवारी साधन चल्नमा भने कुनै रोक छैन। आफ्नो माग पूरा नभएसम्म अनिश्चितकालीन डोटी बन्द गरिने संघर्ष समितिले जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *